Logo

चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको यात्राको सन्देश



विपिन देव:  जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीले उत्सवको रुपमा आफ्नो एक शताब्दीको यात्राको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको केन्द्रबिन्दुका रुपमा राष्ट्रपति सी चिनफिङ नै थिए । आठवटा महत्वपूर्ण जिम्मेवारी बोकेका राष्ट्रपति सी को अभिव्यक्तिको पराकम्पन विश्वका मुर्धन्य समाचार गृहहरुले ध्वनित गरेका थिए । चिनियाँ राष्ट्रपति सी साम्यवादका सुत्र अनुसार राष्ट्रको सम्पूर्ण शासकीय स्वरुपमा यो नौलो कुरा होइन । रुसी राष्ट्रपति भ्लादमिर पुटिन पनि यस पद्धतिका उदाहरण हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका कार्यक्रम, उपलब्धि र भावी प्रारूपका बारेमा संसारका कुना–कुनामा बौद्धिक बहसहरु भैरहेको वातावरणमा भारतका पुर्व परराष्ट्र सचिव विजय गोखलेले एउटा गहकिलो पुस्तक प्रकाशित गरेका छन् । “तियानमेन स्क्वायर” नामक उक्त किताबले चीनको सफलता, कुटनीति परिचालन, सामरिक तयारी र भावी रणनीतिको बारेमा समेत आलोकित गरेको छ । सन् १९८९ मा चीनको टिनामेन भन्ने ठाउँमा व्यापक विद्यार्थी आन्दोलन भएको थियो । आन्दोलनको राप र तापबाट सारा संसार प्रभावित भएको बेला चीनले ३० हजार सैनिक परिचालित गरेर विद्यार्थी आन्दोलनलाई नरसंहारमा परिवर्तन गरी निस्तेज पारेको थियो ।

तियानमेन स्क्वायरको घटनालाई पश्चिमा संचार गृहहरुले महत्वपूर्ण ठाउँ दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी पूर्ण रुपमा आलोचित भएको थियो । तर चिनियाँ कम्युनिष्ट पार्टी डगमग भएन । गोखलेले आफ्ना पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीलाई सफल बनाउन राष्ट्रपति देङको भूमिकालाई आलोकित गरेका छन् । माओका विचारले संगठन, शैली र सामाजिक रुपान्तरले चिनियाँ जीवन स्तरलाई माथि उठाएको थिएन । चरम गरिबी र पछौटेपनले चेपिएका जनताहरु राजनीतिक परिवर्तनबाट मात्रै सन्तुष्ट थिएनन् । सांस्कृतिक क्रान्तिले एकातर्फ हत्या र नरसंहारलाई निरन्तरता दिएको थियो भने अर्को तर्फ जनताको आशा र आकांक्षालाई बढाएको थियो । साम्यवादी चिन्तन र प्रचार शैलीले जनताको अपेक्षा, सपना र महत्वाकांक्षालाई पक्कै नै मलजल गर्दछ । शासक इमान्दार नभएको खण्डमा आशा र आकांक्षा, सपनाको चिहानमा परिमार्जित हुने गर्दछ । तर माओपछि देङ्ले चिनियाँ आशा र आकांक्षालाई रुपान्तर गर्न गुरुयोजना र कार्ययोजनाका साथ अगाडी बढेका थिए ।

सन् १९८९ को विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिष्ट पार्टीलाई सफल बनाउन आर्थिक योजना अगाडी बढाए । देङसँग दुई अस्त्र रहेका थिए, एक वैचारिक कट्टरता (आइडियोलोजिकल रिजिडिटी) र अर्को राजनीतिक लचकता (पोलिटिकल फ्लेक्जीबिलिटी) । अर्को शब्दमा भन्ने हो भने आर्थिक सुधारलाई अगाडी बढाउन देङले पश्चिमा देशहरुको सम्बन्ध र सामिप्यतामा व्यापक सुधार ल्याए । देङ आर्थिक कार्यक्रमलाई निरन्तरता दिन लिफ ल्याङ र च्यागमिन जस्ता विज्ञ कमरेडको सहयोग र सद्भाव प्राप्त गरे । देङले अमेरिका र युरोपसँगको सम्बन्धमा व्यापक परिवर्तन ल्याउँदै अमेरिका र युरोपको बजारमा अर्जुनदृष्टि राखेका थिए । देङ एकातर्फ कम्युनिष्ट शासकीय शैलीको हिमायती थिए भने अर्का तर्फ कम्युनिष्ट शासकीय पद्धतिलाई सखाप र ध्वस्त पार्ने अमेरिकी र युरोपेली गठबन्धनको सहयात्री पनि थिए । घरेलु मामिलामा कट्टर कम्युनिष्ट भएता पनि अन्तर्राष्ट्रिय मंचमा सोभियत संघ र पूर्वी युरोप कम्युनिष्ट मुलुकहरुको उनी विरोधी थिए । देङको रणनीतिले गर्दा नै चीन पश्चिमा बजारमा आफ्नो पकड बनाउन सफल भयो ।

सन् १९६० र ७० को दशकमा जापानले पनि पश्चिमा शक्तिसँगको सम्बन्धमा सुधार गरेर त्यहाँको प्रविधि भित्रयाउन सफल भएको थियो । चीनले आर्थिक मामिलामा जापानकै पदचिन्हमा यात्रा गरेर जापानलाई नै पछाडी पार्न सफल भयो । सन् १९७७ देखि सन् २००० सम्म विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्न चीन व्यापक रुपमा सक्रिय भयो । अमेरिकाले मानवअधिकार र अल्पसंख्यकमाथि भएको दमन र अत्याचारलाई विस्मृतिमा राख्दै चीनलाई विश्व व्यापार संगठनको सदस्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । पश्चिमा नेताहरु दलाई लामासँग भेट गर्न पनि हिच्किचाउँदथे । सन् १९८९ देखि १९९२ सम्म कम्युनिष्ट पार्टीले भ्रष्टाचारलाई उन्मुलन गर्न राष्ट्रिय अभियान नै परिचालित गरेको थियो । कठोर दण्ड र यातना दिँदै भ्रष्टाचार उपर लगाम कस्दै विकासको संरचनालाई थप बलियो र सुदृढ बनाए । आज राष्ट्रपति सी को कार्यशैली र अवस्थामा धेरै अन्तर रहेको छ । राष्ट्रपति सी को कार्यपद्धतिबाट अमेरिका र युरोप चिढिएका छन् । दक्षिण चीन सागरको ८० प्रतिशत जलसागरमा चीनले आफ्नो आधिपत्य राख्ने सिलसिलामा आसियानका मुलुकहरु इण्डोनेसिया, फिलिपिन्स, मलेसिया, थाईल्याण्ड चीनबाट आक्रान्त भएका छन् । टापु विवादले गर्दा जापानसँग पनि सम्बन्ध त्यति सामान्य छैन ।

चिनियाँ कम्युनिष्ट पार्टीको आर्थिक सफलताको साँचो नै विश्व व्यापार संगठनको सदस्यता थियो । गोखलेले देङको दृष्टि र सामरिक चतुर्याइँलाई व्याख्या गर्दै के भनेका छन् कि देङले विद्यार्थी आन्दोलनलाई मत्थर पार्न छात्रवृतिको योजना संचालन गरे । अक्सफोर्ड, क्याम्ब्रिज, एल र विश्वका अन्य उत्कृष्ट विश्वविद्यालयमा नयाँ प्रविधि, सीप र ज्ञान आर्जनका लागि राष्ट्रिय योजना संचालन गरे । देङलाई प्रष्ट रुपमा के थाहा थियो भने शक्ति ज्ञानबाट अङ्कुरित हुन्छ । ब्रिटेनको लाइफलाइन अक्सफोर्ड र क्याम्ब्रिज भएझैं अमेरिकाको लाइफलाइन एल र हार्वर्डजस्ता उत्कृष्ट विश्वविद्यालयहरु हुन् ।

चीनले यही नीतिको आत्मसात गरी चीनमा ज्ञान भण्डारणका लागि आवश्यक जनशक्ति तयार गर्यो । देङको पश्चिमा शक्तिसँगको सुमधुरतालाई व्याख्या गर्दै गोखलेले प्रष्ट भनेका छन् कि तत्कालीन अवस्थामा सी को नेतृत्वमा चीनले सैनिकभन्दा बढी खर्च प्रहरीमा विनियोजन गर्दछ । यसबाट प्रष्ट सङ्केत मिल्दछ कि चिनियाँ जनतामा आन्तरिक आक्रोश बढी छ । बी.आर.आइ.ए. जस्ता विश्वका सबभन्दा ठुलो परियोजनालाई अगाडी सरेर चीनले गरिब मुलुकहरुलाई ऋणको पासोमा पार्न सफल भएको छ । सीमा सम्बन्धी विवादले गर्दा भारतसँगको सम्बन्धमा सुधारको आशा र अवस्था तत्कालीन अवस्थामा देखिदैन् । चीनको अर्थतन्त्र र महत्वाकांक्षाको आधार विश्व बजार नै हो । संसारका अधिकांश राष्ट्रहरुसँग सम्बन्ध राम्रो नै हुनु चिनियाँ कम्युनिष्ट पार्टीका लागि यक्ष प्रश्न हो । यस अवस्थामा राष्ट्रपति सी आफ्नो सम्बोधनमा आक्रामक देखिएका थिए । दम्भ र अहंकारले ध्वनित उक्त सम्बोधनले चिनियाँ सैन्य र आर्थिक शक्तिलाई इंगित गरेको कुरा प्रष्ट रुपमा बुझ्न सकिन्छ । यस अवस्थामा चीनको सफलता मापनको मुख्य आधार अन्तर्राष्ट्रिय सम्बन्धले नै निराकरण गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम