Logo

प्रोफाइल : कृषि क्रान्तिको ‘गुड न्युज’ दिन चाहन्छन् यी ‘भिजनरी बिजनेस लिडर’



दशकौंदेखि हामी भट्टाइरहेका छौं – नेपाल कृषिप्रधान देश हो र दुई तिहाइभन्दा बढी जनता कृषिमै आश्रित छन् । तर विडम्बना ! बर्सेनि ३४ देखि ३५ अर्ब रुपैयाँको चामल र तरकारी आयात हुन्छ । कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइ मात्रै छ र ३ करोड जनसंख्यामध्ये करिबन ४० लाख युवायुवती वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् ।

यस्ता विरोधाभासी तथ्यांकले बिथोलिरहन्छ, युवा उद्योगपति एवम् व्यवसायी सुबोध कुमार गुप्तालाई । गुप्तालाई यसकारण पनि बिथोल्छ कि उनी नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष हुन् र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पनि ।

औद्यौगिक नगरी वीरगन्जको गुप्ता परिवारको पुस्तैनी व्यवसाय हो, खाद्यान्न खरिद-बिक्री । उनी मात्र होइन, उनका दुई दाजु दिनेश र प्रमोद पनि यही पैत्रिक व्यवसायमा छन् । पिता-पुर्खादेखि संलग्न खाद्यान्न व्यवसायमा ‘गुड न्युज’ दिन नसकेकमा एकखाले छटपटी छ गुप्तालाई । आफूसँग खाद्यान्नमा आत्मनिर्भरता र निर्यातमुखी अर्थतन्त्रको खाका भएर पनि होला ।

‘कुनै पनि देश कृषि क्रान्तिपछि नै औद्योगिक युगमा प्रवेश गर्छ, त्यसपछि मात्र सेवा क्षेत्रमा आउने हो । तर विगत १५ वर्षदेखि हामी उल्टो बाटोमा हिँडिरहेका छौं,’ गुप्ताको जिकिर छ- ‘चार महिनामै पौने ७ अर्ब रुपैयाँको चामल र पौने ४ अर्ब रुपैयाँ बराबरको तरकारी आयात हुने देशलाई कसरी कृषिप्रधान भन्ने ?’

वीरगन्जको रानीघाटमा सुखदेव गुप्ता र कान्तिदेवीका कनिष्ठ सुपत्रका रुपमा सन् १९७४ नोभेम्बर १४ मा जन्मेका गुप्ताको अक्षरारम्भ स्थानीय रेलवे माध्यमिक विद्यालयमा भएको थियो । कक्षा ३ देखि ७ सम्म वीरगन्जकै त्रिभुवन माध्यमिक विद्यालयमा पढेका उनले भारतबाट बिएस्सीसम्मको अध्ययन पूरा गरेका छन् ।

सन् ९० को दशकमा अर्थात् २२ वर्षे उमेरमै पुर्ख्यौली उद्योग व्यापारको क्षेत्रमा पाइला राखेका गुप्ता कृषिमा आधारित खाद्यान्न व्यवसायमा सक्रिय छन् । सञ्चालक एवं प्रबन्ध निर्देशकको नेतृत्वदायी भूमिकामा रहेर उनी छोटो समयमै मोहित ग्रुपलाई मुलुककै खाद्य क्षेत्रको प्रतिष्ठित, अग्रणी र स्थापित घराना बनाउन सफल भए ।

उनी मोहित ग्रुपको छातामुनि रहेका मोहित एग्रो इन्डस्ट्रिज र मोहित फुड प्रोडक्टका प्रबन्ध निर्देशक एवं पूजा राइस मिल र राकेश ट्रेडिङ सेन्टरका निर्देशकको भूमिकामा छन् । यी उद्योग तथा कारखानामा २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

झन्डै दुई दशकदेखि सामाजिक क्षेत्रमा पनि समानान्तर रूपमा सक्रिय छन् गुप्ता । सन् २००६-२००७ मै उनी वीरगन्ज उद्योग वाणिज्य संघको कार्यसमितिको सदस्य एवं कृषि समितिको सभापति रहेका उनी रेभिन्यू समितिको सभापति, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भए ।

सन् २०१८-२०२० मा नेपाल उद्योग वाणिज्य महासंघका ट्रेड कमिटी सदस्य रहेका गुप्ता हाल पहिलो प्रयास केन्द्रीय कार्यकारिणी सदस्य हुन पुगेका छन् । उनी महासंघ अन्तर्गतको बैंक, वित्तीय तथा बिमा समितिको उपसभापति समेत छन् । उनी समग्र निजी क्षेत्रकै अनुभवी नेता मानिन्छन् ।

यसबीचमा उनले लाइन्स क्लब वीररगन्ज, आदर्शनगरको अध्यक्ष, कलवार कल्याण समितिको महासचिव, नेपाल रेडक्रस, पर्साका सल्लाहकार, रेलवे माविका सल्लाहकार र ठाकुरराम बहुमुखी कलेजका व्यवस्थापन समितिका सदस्यको अनुभव लिइसकेका छन् ।

सामाजिक सेवामा उनको सक्रियता ज्यादै लोभलाग्दो छ । उनी भन्छन् – ‘म जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्थे । बाँकी बँचेको समय रेस्टुराँ जाने, यताउति हल्लिएर खेर जान्थ्यो । त्यसैले फुर्सदको सदुपयोगका लागि सामाजिक सेवामा सक्रियता बढाउँदा बढाउँदै यतै बानी पर्यो ।’

गुप्ता वीरगन्जबासीको मात्र नभईकन देशभरिका उद्योगपति एवं व्यवसायीहरुको प्रिय व्यक्तित्व भइसकेका छन् । प्रबल सोच, पृथक कार्यशैली र सबल नेतृत्वदायी भूमिकाका कारण उनलाई महासंघ हाँक्न सक्ने ‘भिजनरी बिजनेस लिडर’ का रुपमा हेरिँदै आइएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा गुप्ताको मुकाम पाइलट बन्ने नै छ । उनी भन्छन्, – ‘हेर्नुस्, हामीले प्रयास गर्ने हो । आफ्नो काममा उत्कर्ष दिने हो । वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेकाले महासंघको अध्यक्षमा मेरो दाबी स्वाभाविक होइन र !’

मुलुकले डेढ-दुई वर्षदेखि कोभिड-१९ को कहर झेलिरहेको छ । खोपको सुनिश्चितता छैन । त्यसबाट सिर्जित परिस्थितिबाट आम व्यवसायी एवम् मुलुकलाई राहत दिलाउन आफू सधैं अग्रसर रहने उनको वचनबद्धता छ । कोभिड-१९ का कारण निजी क्षेत्रले भोग्नु परेको विषमताबाट पार पाउन राज्यबाट ठोस कार्यक्रम आउनुपर्ने उनको धारणा छ । ‘कोभिडले चुनौती मात्र ल्याएको छैन कि अवसर पनि सँगै लिएर आएको छ,’ उनी भन्छन् – ‘त्यसको पहिचान गरी अविलम्ब राज्य स्तरबाट केही नीतिगत र कार्यक्रमगत सुधारका प्रयास जरुरी छ ।’

गुप्ताको नेतृत्वमा वीरगन्जको नारायणी अस्पतालमा ३० बेडको बाल सघन चिकित्सा इकाई स्थापना गरिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहरबाट बालबालिका बढी प्रभावित हुने भएकाले सबै अस्पतालहरुमा बेड, अक्सिजन तथा भेन्टिलेटर छुटट्याउन आग्रह गरेपछि वीरगन्ज उद्योग वाणिज्य संघको सहयोगमा नारायणी अस्पतालमा २५ लाखको लागतमा बाल सघन चिकित्सा इकाई निर्माण गरिएको हो ।

युवा व्यवसायी गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्त्व दिन्छन् । परिवारको साथ र सहयोगबिना सफलता हासिल गर्न नसकिने उनको धारणा छ । मातापितासँगै पत्नी रानी, छोरा मोहित अनि साहिल, छोरी मोहिनी र साथीभाइ एवं इष्टमित्रको दर्विलो साथ र स्नेहलाई भुल्न नसकिने उनी बताउँछन् ।

एक इमान्दार र कर्मठ व्यवसायी गुप्ता समय-समयमा खाद्य, कृषि र व्यवसाय क्षेत्रका सरोकारबारे बेलाबखत कलम चलाउँछन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा उनको दखल छ ।  क्रिकेट र फुटबल खेलका पारखी गुप्ता संगीत र पुस्तकको पनि सोख छ । उनले विश्वका करिब ४० देश भ्रमण गरिसकेका छन् ।

भद्र र शालीन छविका गुप्तालाई फेरि पनि आम उद्योगी-व्यवसायीको समस्याले घरिघरि पोल्छ । नेपालमा खेतीयोग्य जमिन प्रशस्त भए पनि सरकारको गलत नीति र असहयोगका कारण उद्योग-कारखानाका लागि चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता छ । एकातिर पहाडी क्षेत्रमा कृषिको यान्त्रीकरण गर्न कठिनाइ छ भने अर्कोतिर तराई-मधेसमा जमिनको खण्डीकरणले उत्पादन क्षमता घट्दै गएको छ ।

‘नेपालजस्तो राष्ट्रका लागि समृद्धि हासिल गर्न सकिने एउटा मात्रै बाटो कृषि नै हो । त्यसैले आगामी दिनमा कृषिमुखी अर्थतन्त्रका लागि जोड दिनुको विकल्प छैन,’ उनी भन्छन् – ‘तर हामीले भारत, चीन, श्रीलंका, भियतनाम, अमेरिका आदि देशले जस्तै कृषिबाट प्रतिफल लिन सकिरहेका छैनौं ।’

कृषिमा आधारित व्यवसाय भए पनि प्रत्यक्ष खेतीपातीमा भने मोहित ग्रुप संलग्न छैन । ‘कृषि क्रान्तिका लागि कृषकको काम गर्ने तौरतरिका मात्र नभएर बीउबिजन, मलखादमा समेत आमूल परिवर्तन आवश्यक छ,’ गुप्ता भन्छन् – ‘खाद्यान्नमा रहेको ४५ प्रतिशत आयात घटाएर आत्मनिर्भरता बढाउनका लागि ४-५ वर्ष नै पर्याप्त हुन्छ । निर्यातबारे त्यसपछि सोचौंला ।’

 



प्रतिक्रिया दिनुहोस्