Logo

‘१० दिनको पर्यटन काज’ तयारीमा ढिलाइ



काठमाडौं, असार २८ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरले अधिक थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सकारात्मक मानिएको ‘१० दिनको पर्यटन काज’ कार्यान्वयनमा ढिलाइ हुने देखिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती सेवा, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीहरूलाई १० दिनको पर्यटन काज उपलब्ध गराउने व्यवस्था बजेट वक्तव्यमा गरिए पनि त्यसको कार्यान्वयनका लागि अहिलेसम्म कार्यविधि तयार भएको छैन ।

पर्यटन काज कार्यविधि असार मसान्त नजिकिदाँसम्म तयार नभएपछि साउन अर्थात् आगामी आर्थिक वर्षको शुरुआतदेखि नै यस्तो काज लिएर कर्मचारीहरू जान नमिल्ने देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काज लागू गराउने गरी र्कायविधि तयार गर्नुपर्छ र त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा यो काज उपलब्ध गराउन मिल्छ । तर, अहिले मन्त्रालयले बनाउने पर्यटन काज कार्यविधि प्रारम्भिक चरणमै रहेको छ ।

मन्त्रालयकी सहसचिव लक्ष्मीकुमारी बस्नेतले काज कार्यान्वयन गराउन कार्यविधिको मस्यौदा बनाउने काम शुरू भएको बताइन् । कार्यविधिको मस्यौदा बनाउने क्रममै रहेको भन्दै उनले बजेट भाषणमा घोषणा गरिएको विषयलाई सम्बोधन गरेर छिटै कार्यविधि तयार गरिने बताइन् ।

‘अहिले ड्राफ्ट बनाउने चरणमा छौं,’ उनले भनिन्, ‘कार्यविधि बनाउन छलफलकै क्रममा छौं भने अबको १० दिनसम्ममा मस्यौदा बन्नसक्छ ।’ आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्