Logo

इटालीको जीतमा भेट्रान खेलाडीद्वय बोनुसी र चियलीनी नायक



काठमाडौं, २८ असार । युवा जोसका र भेट्रानको समायोजन गरी रोबर्टो म्यान्सिनीले इटालीको फुटबल टिम बनाएका थिए । व्यवसायिक फुटबलमा लामो अनुभव सँगालेका म्यान्सिनीको खेल रणनीति र टिम व्यवस्थापन सही सावित भयो । इटालीले युरोकपको फाइनल जित्यो ।

इटालीको जितमा भेट्रान खेलाडी लियोनार्डो बोनुसी र जर्जिओ चियलिनी नायक भए । दुवै आक्रामक डिफेन्डर हुन् ।

खेलको दोस्रो मिनेटमै गोल खाएको इटालीका डिफेन्टरद्व बोनुसी र चियलिनी र अगाडि र पछाडि दुवैतर्फ खेल सम्हाले । निरन्तर आक्रमण गरिरहे । अन्तमा ६७औं मिनेटमा बोनुसीले बराबरी गोल गरे । युवा जोसका खेलाडीहरुले इटालीको आक्रामक खेलशैली अपनाइरहे । इंग्ल्यान्ड इटालीका सामु कमजोर नै देखियो । युवा र भेट्रान खेलाडीको संयोजनको टोली बन्दा परिणाम इटालीको पक्षमा आयो ।

जुभेन्टसबाट खेल्ने बोनुसी र चियलिनी दुवैको उमेर जोड्दा ७० वर्ष हुन्छ । बोनुसी ३५ वर्ष भए भने चियलिनी ३६ पुगे । बोनुसी युरोकपको फाइनलमा बढी उमेरमा गोल गर्ने खेलाडी बने ।

इटालीले जितसँगै फुटबलको गर्विलो इतिहासलाई पुनः प्रमाणित गरेको छ । फिफा वरियतामा इंग्ल्यान्ड चौंथो र इटाली सातौं नम्बरमा छन् । यसकारण पनि दुई टोलीको स्तरमा खासै फरक थिएन ।

इटाली ४ पटक विश्वकप विजेता राष्ट्र हो । सन् १९३४, १९३८, १९८२ र २००६ मा इटालीले विश्वकप जितेको छ । त्यसैले फुटबलमा इटालीको गर्वलायक इतिहास छ । तर, गत विश्वकपमा इटाली छनोट नै भएन । सन् २०१० र २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरियो ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेयता सिनियरतर्फ फुटबलको कुनै उपाधि जितेको छैन । युरोकपको फाइनलमा पहिलोपटक प्रवेश गरेको हो । २०१८ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्