Logo

कोटेश्वर बैठकमा गठबन्धनबीच खुशियाली, के निर्णय भयो



काठमाडौं, २८ असार । सर्वोच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बस्यो । बैठकमा सर्वोच्चको निर्णयपछिको समिक्षा गर्दै भावी कदमबारे छलफल भएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र ध्वस्त पारेको र देशमा धेरै बेथिती ल्याएको आरोप लगाउँदै व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने चुनौतीबारे छलफल भएको बताए । उनले आफूहरु मिलेर अगाडि बढ्ने समेत बताए ।

कोटेश्वर बैठकमा ओलीविरोधी गठबन्धनले खुशियाली मनाएको बुझिएको छ । नेताहरु निकै दंग रहेर छलफलमा भाग लिएको बुझिएको छ ।

बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी थिए ।

नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य रघुजी पन्त, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङ र जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेताहरु महेन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट सांसद दुर्गा पौडेल सहभागी थिए ।

तस्बिर स्रोतः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्