Logo

सुजिताकी छोरीले सोधिन्ः मम्मीलाई आगोमा किन जलाएको ?



जनकपुर, २९ असार । महोत्तरीको ब्रम्हपुरामा हत्या गरी सेफ्टी ट्यांकीमुनी गाडिएको अवस्थामा फेला परेकी सुजिता ठाकुरको अन्तिम संस्कार सोमबार साँझ गरिएको छ । उनलाई पति मुकेश ठाकुरले दागवत्ती दिएका थिए । प्रहरी नियन्त्रणमा रहेका मुकेशले दावगत्ती दिइरहँदा उनकी छोरी आँचल ठाकुर नजिकै थिइन् ।

९ वर्षीया आँचलले शव जलाइरहँदा सोधिन्, ‘अंकल, मम्मीलाई आगोमा किन जलाएको ?’ उनले यस्तो प्रश्न गर्दा त्यहाँ सबै भावविव्हल भएका थिए ।

सुजिताको अन्तिम संस्कार शव गाडिएको ठाउँ ससुरा पतिराम ठाकुरकै जग्गामा गरिएको थियो । उनको शव गलिसकेको अवस्थामा भेटिएको थियो ।

सुजिताको शव ४८ दिनपछि भेटिएको थियो । उनको योजनावद्ध तरिकाले हत्या गरी गाडिएको अवस्थामा २७ असारमा फेला परेको थियो ।

गाडिएको जमिनमा काठका मुढाहरु राखिएको र गहिरो सेफ्टी ट्यांकी थियो । उक्त ट्यांकीभित्र फेरि गहिरो बनाएर शव गाडी ढलान गरिएको खुलेको थियो ।

सुजिताको हत्या गरी शव अन्यत्र गाडेकोमा फेरि झिकेर सेफ्टी ट्यांकी मुनी लगिएको खुलेको थियो । प्रहरीले काठको मुढा पन्छाएर, सेफ्टी ट्यांकी भित्रको दुईवटा ढलान फ्टाएर शव निकालेको थियो ।

२० जेठ देखि वेपत्ता सुजिताको माइतीले प्रहरीमा उजुरी दिएका थिए । उनका बाबुआमाले छोरी हराएको भनी उजुरी दिएपछि खोजी भएको थियो । यसमा अभियन्ता सरोज रायले मुख्य भूमिका खेलेका थिए ।

सुजिताको घरपक्षले उनी अर्कै पुरुषसँग भागेको दाबी गर्दै आएका थिए । तर, माइती पक्षले हत्या गरी खेतमा गाडेको हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सुरुमा हत्या गरिएको हुनसक्ने भनी आमाबाबुले दिएको जाहेरी लिन मानेको थिएन । पछि महिला सेलमा जाहेरी दिएका थिए ।

सुजिताको ९ वर्षीया छोरी आँचल र ५ वर्षीय छोरा रौनक छन् । बालक रौनकले आमाको हत्या बुबा, काका र हजुरबुवाले गरेको भन्दै सामाजिक सञ्जालमा बोलेका थिए । उनले सुजातालाई जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको खुलासा गरेका थिए ।

२७ वर्षीया सुजिता ठाकुरको १० वर्ष अघि पतिराम ठाकुरका जेठा छोरा मुकेश ठाकुरसँग विवाह भएको थियो । गत वर्ष उनलाई घरका सदस्यले कुटपिट गरेका थिए । घटना प्रहरीसम्म पुगेको थियो । तर, मिलापत्र गरेर मिलाइएको थियो । त्यसपछि पनि उनीमाथि निरन्तर हिंसा हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्