Logo

बालकोटको घरको बार्दलीबाट ओलीले भने–‘माधव नेपालजस्ता लाजशरम हराएकालाई अब एमालेमा कुनै ठाउँ छैन्’



काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरुलाई अब पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका छन् । सरकारी निवास बालुवाटार छोडेर आज निजी निवास बालकोट पुगेपछि घरको कौशीबाट नेता तथा कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले आफ्नो सरकार ढाल्न माधव नेपालले नै अगुवाईको भूमिका खेलेको आरोप लगाए । उनले माधव नेपाललगायत उनी पक्षधर सांसदहरुलाई लालगद्दारको संज्ञासमेत दिए ।

उनले भने,‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरुको घुसपैठ भयो । पार्टीका कमजोर र विकास तत्वहरु प्रतिक्रियावादीहरुको पछि पछि लागेर, पार्टी र जनताको शक्तिका विरुद्ध र लोकतन्त्रका विरुद्ध, आफ्नै सरकार ढाल्ने काम गरे । विरोधीलाई राष्ट्रपतिकहाँ अगाडि लगाएर प्रधानमन्त्री बनाउन गए, माधव नेपालजस्ता लाजशरम हराएका मान्छे, माधव नेपालको हकमा अब आत्मालोचना सुन्ने कुनै ठाउँ छैन् ।’

उनले आफूले तीन वर्षको यो अवधि सफल रुपमा पूरा गरेर बालकोट फर्किएको पनि सुनाए । उनले भने,‘आज तीन वर्ष कार्यकाल पूरा गरेर, सफल कार्यकाल पूरा गरेर म फेरि जनादेशबाट होईन, परमादेशबाट अदालतबाट अकारण, कुनै गल्ती गरेर होईन, काम गर्न नसकेर होईन, देशको विकास गरेर देशलाई अगाडि बढाएर राष्ट्रलाई एकजुट बनाएर संविधान कार्यान्वयन गराएर संविधानलाई सर्वस्विकार्य बनाएर, विकासको लहरलाई अघि बढाएर, अन्तर्राष्ट्रियस्तरमा नेपालको छविलाई माथि उठाएर, नेपालको स्वाभिमान र गौरवलाई माथि उठाएर काम गर्दागर्दै जालीझेलीहरुको जालझेल, कपट, षड्यन्त्रस्वरुप अदालतमा मुद्दा हालेर असंवैधानिक फैसलाबाट, जनादेशविपरित कुनै मूल्यांकनको आधारमा होईन, जनतामा जान नदिएर, जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर, नेपालको लोकतन्त्रमाथि, नेपाली जनतामाथि र नेपालको संविधानमािथ अतिक्रमण भएको छ ।’

उनले अदालतको फैसलाप्रति आपत्तिसमेत जनाएका छन् । उनले भने,‘यसरी नेपाली जनताको अधिकार खोसिएको छ । नेपाली जनताले आवद्यिक मूल्यांकन गर्न पाउने पार्टीहरुको, नेताहरुको सरकारको कामको मूल्यांकन गर्न पाउने, नीतिहरुको विचारको मूल्यांकन गर्न पाउने जनताको त्यो अधिकार खोसेर, अदालतबाट प्रधानमन्त्री तोक्ने, विश्वमा कहीँ नभएको जात्रा, सर्वोच्च अदालतमा भयो ।’

उनले आफूहरुले देशको लागि राम्रो काम गरेको पनि दाबी गरे । ‘हामीले विकासको गतिलाई अघि बढाएका छौं । कोभिड–१९ ले दुनियाँलाई तवाहा गर्दाखेरि हामीले धेरै राम्रो काम गर्यौं । धनी देशले निःशुल्क परीक्षण र उपचार गर्न सकेका छैनन् । तर, हाम्रोमा निःशुल्क उपचार र परीक्षणको व्यवस्था गर्यौं । सबै नेपाली जनतालाई खोप पुग्नेगरि उपलब्ध गरेका छौं ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्