Logo

देउवालाई विश्वासको मत दिने माधव नेपालको प्रतिवद्धता, महन्थ ठाकुरले के गर्लान् ?



असार ३०, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर विश्वासको मत लिने बेला सहयोग गर्न आग्रह गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री देउवा आफै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपाल निवासमा भएको छलफलका क्रममा देउवाले विश्वासको मतमा सहयोग गर्न आग्रह गरेको र त्यसलाई नेपालले स्वीकार गरेको नेताहरुले जानकारी दिएका छन् । देउवा र नेपालबीचको भेटवार्तामा सहमागि एमाले नेता विरोध खतिवडाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि आफूहरु प्रतिवद्ध रहेको र फैसलाअनुसार नै गठबन्धन अघि बढ्ने बताए ।

यसअघि नेता नेपालले अब गठबन्धनबाट बाहिरिएको घोषणा गरेका थिए । तर बुधबार भने विश्वासको मत दिने प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री देउवाले १ महिना भित्र संसदमा बहुमत सिद्ध गर्नुपर्नेछ । जसका लागी केपी ओलीलाई विस्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको एमालेको खनाल–नेपाल समुहको साथ आवश्यक छ ।

एमालेको खनाल–नेपाल समुहले विश्वासको मत नदिए सत्तामा टिकि रहन प्रधानमन्त्री देउवाले जसपा दुवै समूहको साथ पाउनुपर्ने छ । तर जसपाको महन्थ–राजेन्द्र समुह नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा संलग्न छैन । विगतमा यो समुहले आफ्ना माग सम्बोधन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीलाई साथ दिएको थियो । महन्थ–राजेन्द्र पक्षीय जसपा नेता लक्ष्मणलाल कर्णले आफ्नो माग सम्बोधन गरेको खण्डमा देउवालाई सघाउन सकिने बताउँछन् ।

प्रधानमन्त्री देउवाको सत्ता सुख प्रतिनीधि सभामा नेपाल खनाल पक्ष र जसपाको महन्थ राजेन्द्र पक्षको असहयोग र असहयोगमा निर्भर छ । देउवाले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधि सभाको यो कार्यकाल तेस्रो पटक विघटनमा पर्ने पक्का छ ।



प्रतिक्रिया दिनुहोस्