Logo

विश्वासको मत लिएपछिमात्रै मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिने, जयशंकरको बधाई फोन आजै आउँदै



काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज तीन दिन भैसकेको छ । तर, मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका छैनन् । दिल्लीनिकट उच्च स्रोतकाअनुसार मोदीले देउवालाई बधाई नदिनुको प्रमुख कारण चाहीँ देउवाले विश्वासको मत लिन बाँकी रहनु भएको हो ।

अहिलेसम्म भारतबाट प्रधानमन्त्री देउवालाई आएको उच्चस्तरको बधाई भने रक्षामन्त्री राजनाथ सिंहबाट हो । त्यसपछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले पनि फोन गरेर देउवालाई बधाई दिईसकेका छन् । हिजोमात्रै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेरै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत क्वात्राले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध र आपसी हितलाई उचाईमा पुर्याउँदै विकासका परियोजनालाई निरन्तरता दिने विश्वास दिलाएका थिए । राजदूत क्वात्राले भारतीय प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पनि शुभकामना सुनाएका थिए ।

आजै भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री देउवालाई फोनमार्फत बधाई दिने बुझिएको छ । नेपालस्थित् दूतावासले प्रधानमन्त्री मोदीको तर्फबाट पनि बधाई दिनको लागि आवश्यक तयारी गरिसकेको छ । तर, मोदीले भने देउवाले विश्वासको मत प्राप्त नगरेकोले अहिले नै बधाई तथा शुभकामना नदिएको स्रोतको दाबी छ । मोदी देउवाले विश्वासको मत प्राप्त गर्नेबित्तिकै शुभकामना र बधाई दिने भनेर बसेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्