Logo

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनुहुन्छ, गठबन्धन कायमै रहन्छ : देवेन्द्र पौडेल



काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र यो संसदले पूर्ण कार्यकाल व्यतित गर्ने दाबी गरेका छन् । उनले भने,‘हामी सांसदले सर्वोच्च अदालतमा ६ घण्टा लामो समय लाईन बसेर हस्ताक्षर सनाखत गरेर देउवाजीलाई प्रधानमन्त्री बनाउन रिट हालेका थियौं । सर्वोच्चले सोहीअनुसार फैसला गरेको हो । राष्ट्रपतिले अत्यन्तै थोरै समय दिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न समय दिनुभएको थियो । हामीले समयअगावै दाबी गरेका थियौं ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धन कायमै रहने पनि दाबी गरे । उनले भने,‘यो गठबन्धन कायमै छ । आज पनि गठबन्धनको बैठक बस्दैछ । माधव नेपालजीहरु यही गठबन्धनमा हुनुहुन्छ । उहाँले गठबन्धनप्रति म ईमानदार छु भन्नुभएको छ ।’ उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने र यो सरकार १६ महिनासम्म नै चल्ने पनि दाबी गरे । उनले अराजकता रोक्ने काम अदालतको फैसलाबाट भएको पनि सुनाए ।

उनले वर्तमान प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिका साथ अघि बढ्ने बताएकोले सोहीअनुसारनै आफूहरु अघि बढ्ने पनि विश्वास दिलाए । उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेबमोजिम उच्चस्तरीय राजनीति संयन्त्र बनाउन आवश्यक रहेको र यसको सञ्चालन प्रधानमन्त्री देउवाकै समन्वयकारी भूमिका हुने पनि बताए । उनले चुनाव भनेको भाँडाकुटी खेलाउने खेल नभएको र र मजाक नभएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्