Logo

२५ वर्षे पर्यटन व्यवसायी राम बञ्जाराको अपत्यारिलो यात्रा !



असार १० मा आफ्नो जन्मथलो धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ का बासिन्दा र सल्यानकोट स्वास्थ्य केन्द्रमा स्वास्थ्य र राहत सामग्री वितरण गरे, युवा पर्यटन व्यवसायी तथा समाजसेवी रामप्रसाद बञ्जारा (रिचार्ड) ले । कोभिड–१९ को महामारी नियन्त्रण हेतु बेलायतस्थित संस्था खाल्सा-एड इन्टरनेसनलसँगको सहकार्यमा कन्ट्रिब्युसन फर नेपालको अध्यक्षका हैसियतमा सहयोग बाँड्न पाउँदा उनी पुलकित देखिन्थे । फुड प्योकट, बक्स मास्क, अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर बाँडिरहँदा उनका आँखामा आफ्नै पुराना दिनको झलझली सम्झना नाचिरहेको थियो ।

१५ वर्षकै उमेरदेखि ट्रेकिङ व्यवसाय एवं पर्यटन प्रवर्धनमा लागेका राम यामप्रसाद र यमकुमारीको पहिलो सन्तानका रुपमा धादिङको त्रिपुरासुन्दरी–४ कार्कीगाउँमा २०५३ सालमा जन्मिएका थिए । साँच्चै भनुँ भने उनको बाल्यकाल अभावै अभावमा बित्यो । साथ, सहयोग र लाडप्यार पाउनुपर्ने उमेरमा बाबुसँग छुट्टिएर बस्नुपर्यो । नेपाली सेनाका कार्यरत बुबाले दोस्रो घरबार बसालेर बेवास्ता गरेपछि उनकी आमाले किताबकापीका लागि समेत अरुलाई गुहार्नुपर्यो । आमाले कैयौं दिनसम्म खाना नपाएका घटनाले उनलाई अझै पनि कोक्याइरहन्छ ।

उनले कक्षा १ सम्म कार्की गाउँकै स्कुलमा पढे । कक्षा २ देखि ५ सम्म पञ्चकन्यामा पढे भने कक्षा ६ देखि १० सम्म शंखादेवी माविमा पढे । त्यो उनको मावली गाउँ ज्यामरुङमा थियो । एसएलसीलगत्तै काठमाडौं आए राम । कक्षा ११ पढ्दापढ्दै होटलमा रिसेप्सनिस्ट भएर काम गरे । त्यस क्रममा उनले दिनको १६ घन्टासम्म ड्युटी गरे । खासमा उनी इन्जिनियरिङ पढ्छु भनेर छिरेका थिए काठमाडौं । तर आर्थिक परिस्थितिले उनलाई म्यानेजमेन्टतिर हुत्ताइदियो ।

कक्षा ११ र १२ पिपल्स कलेज पकनाजोलमा पढे भने बीबीएस प्रेसियस कलेज म्हेपीमा । होटल रिसेप्सनिस्ट बनेको एक वर्षपछि स्वतन्त्र रुपमा ट्रेकिङ गाइड गर्न थाले । हुन त उनका तीनै जना मामा पर्यटन व्यवसायमा थिए । रोचक के भने ठमेलको पर्यटन व्यवसायमा ६० प्रतिशत धादिङकै बासिन्दा छन् । तर उनी कहिल्यै मामाहरुको भर परेनन् । आफैं काम खोजेर स्थापित हुनेतिर लागे । उनी आफैं क्लाइन्ट बुक गर्थे र ट्रेकिङमा लैजान्थे ।

पढाइ र कमाइलाई समानान्तर रुपमा अघि बढाए रामले । ट्रेकिङका क्रममा उनी ६ महिनाजति काठमाडौं बाहिर नै हुन्थे । उनले कलेजभन्दा पनि ‘सेल्फ स्टडी’मै जोड दिए । उनले विदेशी इष्टमित्रको सहयोगमा सन् २०१९ मा आफ्नै कम्पनी दर्ता गरे, हिमालयन ल्यान्ड ट्रेक्स । उनी त्यसको प्रबन्ध निर्देशक भए । उनले कम्पनी दर्ता गरेको वर्षान्तमा कोभिड–१९ सुरु भइहाल्यो ।

कोभिड–१९ को लकडाउनपछि उनले सीएफएन ट्रेड सप्लायर्स नामक कम्पनी खोले । त्यसमा तीन जना साझेदार छन् । उनी त्यसका अध्यक्ष हुन् । त्यो कम्पनीमार्फत उनी मास्क, सेनिटाइजर र डिटर्जेन्ट सम्बन्धी सरसामान चीनबाट झिकाउँछन् । यसले १० जनालाई नियमित रोजगारी दिइरहेको छ ।

उनलाई सानै उमेरदेखि नै पर्यटकप्रति आकर्षण थियो । चारपाँच कक्षामा पढ्दा नै मामाहरुसँग गाउँ पुगेका विदेशी पर्यटकसँग कुरा गर्थे । अंग्रेजी आए पनि नआए पनि यसो मिलाएर बोलिहाल्थे । पछि त उनले उनले सयौं पर्यटकलाई सगरमाथा, मनास्लु, अन्नपूर्ण, मार्दी हिमालको पदयात्रा गराए, डुलाए । उनको कम्पनीले नेपाल, तिब्बतदेखि भुटानसम्म ट्रेकिङ गराउँदै आएको छ । ट्रेकिङ मात्र होइन, टुर, साइट सिन, क्लाइम्बिङ, एड्भेन्चर स्पोटर्सको आयोजनामा समेत कम्पनी चिनिएको छ । कोभिड–१९ आउनुअघिसम्म कम्पनीले १० जना गाइड र २० जना पोर्टरले नियमित काम पाएका थिए ।

पर्यटन व्यवसायसँगै समाजसेवाले पनि उनलाई सग्लो चिनाएको छ । उनी स्वयंसेवी संस्था कन्ट्रिब्युसन फर नेपालका अध्यक्ष छन् । उनले हालै कन्ट्रिब्युसन फर नेपालमार्फत रामेछाप, गोरखा, धादिङ, सलाहीमा ७० लाख बराबरको १३० अक्सिजन कन्सनट्रेटर, माक्स, अक्सिमिटर आदि स्वास्थ्य सामग्री बाँडे । यति मात्र होइन, काठमाडौं, धादिङ, नुवाकोट, गोरखा, कपिलवस्तुमा २ हजार फुड प्याकेट बाँडे । यस क्रममा उनले धादिङ, गोरखा, नुवाकोट, कपिलवस्तु, काठमाडौं र ललितपुरमा जनप्रतिनिधिहरुको सहकार्यमा स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् । यसमा बेलायती अन्तर्राष्ट्रिय संस्था खाल्सा एड्ले उनको संस्थालाई साढे ४ करोड बराबरको सहयोग दिइसकेको छ ।

अहिले उनलाई पिरोलेको छ, कोभिड–१९ का कारण थिलथिलो भएको पर्यटन व्यवसायले । अर्थतन्त्रको बलियो आधार रहेको, करोडौंको राजस्व दिलाएको र लाखौं रोजगारी सिर्जना गरेको पर्यटन क्षेत्रलाई सरकारले कुनै वास्ता नगरेकामा उनलाई अचम्म लाग्छ । दुई वर्षदेखि बेरोजगार बनेका ट्रेकिङ गाइड, पोर्टर जस्ता फ्रन्टलाइनरले राहत त परै जाओस्, खोप समेत पाएका छैनन् । पर्यटन व्यवसाय कहिले खुल्ने हो, कुनै टुंगो छैन । व्यवसायी धमाधम पलायनको बाटोमा छन् । यस्तो अवस्थामा उनले नयाँ सरकारबाट पर्यटन व्यवसायमा राहत प्याकेजको आशा गरेका छन् ।

‘बिना तयारी भ्रमण वर्ष २०२० मनाउन लागेको सरकारले नेपालको इतिहास, संस्कृति र खानाको ब्रान्डिङ गर्न सकेको छैन । क्याम्पेनिङका लागि मन्त्री र सचिव नै कुद्छन्, बरु व्यवसायीले नै आफ्नै खर्च गरेर प्रमोसन गरे,’ उनी भन्छन्, ‘पर्यटकलाई एभरेस्टको नाम त थाहा छ तर त्यो नेपालमा पर्छ भन्ने थाहा छैन । पर्यटकहरु ठूलो ढुंगालाई देखेर सोध्छन्- इज दिस हिल ? म भन्छु- होइन, त्यस्ता ठूला ढुंगा त कति छन् कति !’

पर्यटन व्यवसाय, स्वयंसेवाका अतिरिक्त राजनीतिमा पनि उत्तिकै क्रियाशील छन् राम । हाल उनी नेपाली कांग्रेस शिक्षा विभागको राष्ट्रिय शिक्षा नीति सुझाव संकलन कार्यदलका सदस्य रहेका छन् । उनी सरकार–माओवादी शान्ति सम्झौता ताका गिरिजाप्रसाद कोइरालाको भूमिकाका कारण प्रभावित भएर राजनीतिमा आएका रहेछन् । उनी सन् २०२१ को सेप्टेम्बरमा हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा महासचिवमा भिड्दै छन् ।

भ्रमणमा रुचि छ उनको । उनी भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनिसिया, मलेसिया, सिंगापुर घुमिसकेका छन् । उनमा पिक क्लाइम्बिङको सोख पनि छ । यी युवा व्यवसायी अहिलेसम्म अविवाहित छन् । एक-दुई वर्षमा बिहे गर्नेबारे सोच्दै छन् ।

उनी एक मात्र बहिनी छन् देवकी । उनी एमबीबीएसको तयारीमा छिन् । उनले बाबुको कमी ‘फिल’ हुन दिएका छैनन् । ‘अहिले पनि मलाई बुबा के गर्नुहुन्छ भनेर कसैले सोध्दा केही भन्नै सक्दिनँ । अझ सरकारी कार्यालयमा बुबाको नाम भनुपर्दा असमञ्जसमा पर्छु । बुबाको ठाउँमा आमाको नाम भर्न किन मिल्दैन ?’ उनी भन्छन् ।

काठमाडौंमा सरसफाइ अभियानबाट सुरु भएको थियो उनको समाजसेवा यात्रा । बिस्तारै डोनर थपिए । प्रोजेक्ट पनि थपिए । राजनीतिमै किन त ? ‘खासमा म समाजसेवाका लागि नै राजनीतिमा जोडिएको हुँ, मसँग योङ एन्ड डायनामिक टिम पनि छ,’ उनी भन्छन्, ‘नेपालको पर्यटन क्षेत्र हर्क गुरुङको पालाबाट अघि बढ्न सकेको छैन । नेपालको पर्यटन व्यवसायलाई अगाडि लैजानका लागि पर्यटन मन्त्रीसम्म बन्ने लक्ष्य छ ।’

रामप्रसाद बन्जारा (रिचार्ड) को उमेर जम्मा २५ वर्ष पुग्यो । उनले दुःखजिलो गरेर काठमाडौंमा ट्रेकिङ कम्पनी खोले, जग्गा जोडे, स्कोरपियो र इको भ्यान गरी दुइटा गाडी किने, अब घर बनाउने तरखरमा छन् । यो सफलता जो कसैलाई मिल्दैन । निकै अपत्यारिलो यात्रा हो ।

निश्चय नै उनको रामको प्रगति हिजोकै दुःखहरूको प्रतिफल हो । ‘त्यस्तो ठाउँमा जन्मेर कसैको सहयोगबिना सिँढी चढ्दै यो अवस्थामा आइपुगिएला भन्ने मैले सोचेको पनि थिइनँ,’ उनी भन्छन्, ‘बाल्यकालमा आफूले पाएको दुःख र अभावले नै मलाई निस्वार्थ समाजसेवामा लाग्न हौस्याइरहन्छ । थोरैतिनो भए पनि गाउँघरको झुपडीमा मलम लगाउन पुग्छु । र, म आफैंलाई धन्य सम्झन्छु ।’

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम