Logo

ओलीपथमा देउवा : कांग्रेसको बैठक किन वालुवाटारमा ?



साउन १, काठमाण्डौ । जटिल राजनीतिक अवस्थामा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा हिजोसम्म केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारलई पार्टी कार्यालय बनाएको आरोप लगाउँथे । शुक्रबारदेखि उनीमाथि पनि त्यही आरोप लगाए हुने भएको छ । ओलीको गल्तीबाट पाठ सिक्न नसकेका देउवाले बालुवाटार सरेकै दिन कांग्रेस पदाधिकारीको बैठक बोलाए ।

सत्तामा जाने बित्तिकै झनै रवाफिलो बन्नु पर्ने प्रधानमन्त्री देउवाको पुरानै रोग हो । केही दिन अघिसम्म निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई दलको कार्यालय बनाएको आरोप खेप्दै आईरहेका थिए । पार्टी बैठक, गुटको भेलादेखि भोजभतेरसम्म सरकारी निवासमा सरकारी ढुकुटीको दुरुपयोग गर्न थालेपछि उनले सुशासन कायम गर्न नसकेको भन्दै विपक्षी गठबन्धनले पटक–पटक विज्ञप्ति नै निकाल्दै आलोचना गर्ने गरेका थिए ।

तर, अहिले त्यही गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवा पनि ओलीकै पदचाप अंगाल्न थालेका छन् । प्रधानमन्त्री क्वाटर छिरेको पहिलो दिन नै उनले आफू ओलीभन्दा कम नरहेको देखाृउन पदाधिकारी बैठक नै बोलाए । बिहान १० बजे बालुवाटरस्थित सरकारी निवास छिरेका देउवाले ४ घन्टापछि नै त्यो बैठक बोलाएका थिए । केही दिनअघिसम्म एमालेको पार्टी कार्यालय चलेको प्रधानमन्त्रीको सरकारी निवासलाई कांग्रेसको पार्टी कार्यालयमा परिणत गरि दिए । योसँगै उनी नागरीक समाजदेखि चौतर्फी आलोचनाको शिकार बनेका छन् ।

देउवाको यो कार्यको विरोध गर्दै बृहत नागरीक आन्दोलनका अगुवाहरुले बिज्ञप्ती नै निकालेर बालुवाटारमा कार्यक्रम नगर्न सुझाव दिएका छन् । ओलीका पालामा सत्तारुढ दलका सबै खाले कार्यक्रम र बैठकहरू बालुवाटारबाटै सञ्चालित भए । पार्टीका कार्यक्रममा सरकारी स्रोत र साधन कति खर्च भयो भन्ने अझैसम्म हिसाब–किताब सार्वजनिक भएको छैन । एमालेले सरकारी स्रोत र साधनको दुरुपयोग गरेको भन्दै पछिल्लो समय केही वकिलले मुद्दा हाल्ने तयारी गरिरहेकै बेला ओली बालुवाटारबाट बाहिरिए ।

शुक्रबार सरकारी निवास छिरेका देउवाले पनि ओलीकै पथमा हिँडेर नेपाली काँग्रेसका हरेक बैठकहरू सरकारी निवास बालुवाटारमै राख्ने हुन् कि भन्ने सम्भावनाको सुरुवात गरेका छन् । के उनले पार्टी कार्यालय र संसदीय दलको कार्यालयसम्म राख्ने धाउने दुःख गर्लान् ? अनि के ओलीले जस्तै देउवाले पनि क्याबिनेट बैठक बालुवाटारमै डाक्लान् ? प्रधानमन्त्रीले गर्ने राष्ट्रको आर्थिक दोहनका लागि सजायँको भागीदार बन्नु पर्ला कि नपर्ला ?

प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक वा कुनै पनि खालका राजनीतिक, सार्वजनिक गतिविधिहरु गरिनुहुँदैन । अर्कोतिर सिंहदरबारको विकल्प पनि बालुवाटार बन्न सक्दैन । मन्त्रिपरिषदको बैठक पनि सिंहदरबारमा बस्नु पर्छ । पार्टीको बैठक पार्टी कार्यालय मै । यसतर्फ प्रधानमन्त्री शेर बहादुर देउवा र उनको दल नेपाली काँग्रेस बेलैमा सचेत बन्नैपर्छ ।



प्रतिक्रिया दिनुहोस्