Logo

‘विजय गच्छदार १० लाखमा छुटिसक्नुभयो, अब देश कहाँ जाँदैछ?’ : विशाल भट्टराई (भिडिओसहित)



काठमाडौं, २ साउन । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अब बैठकमा नआउने नेताहरु एमालेका नेता नहुने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेका २३ जना सांसदले एकमतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने दाबी गरे ।

तर, सर्वोच्च अदालतको फैसलाले आफूहरुले आफ्नै पार्टीका सांसदहरुलाई ह्वीप लगाउन नमिल्ने उल्लेख गर्दै यसले नेपालमा गलत परम्पराको सुरुवात भएको पनि उनको भनाई छ । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामका फेहरिस्त हेर्नसमेत सुझाएका छन् ।

उनले भने,‘केपी शर्मा ओलीले, तपाईँलाई थाहा छ, अफ्ताब आलमले १९ जना मान्छेहरु लगेर ईँटाभट्टामा हालेको, किन आज १२ वर्षदेखि कसैलेपनि कारबाही गर्न सकेन ? एउटा जाहेरी पुलिसले लिएन, त्यो कुशासन हामीले बिर्सन मिल्छ ? अहिले सुन्दैछु, कारागार व्यवस्था विभागको डिजी हजुर, मन्त्रीज्यू भन्दै पुगिसक्नुभएको छ, गृहमन्त्री कांग्रेसको बन्नेबित्तिकै । बालुवाटार जग्गा प्रकरण ३०औं वर्षदेखि १ सय ३६ रोपनी जग्गा, नेपाल सरकारको प्राइम लोकेशनको महत्वपूर्ण जग्गा, व्यक्तिको नाममा हाकाहाकी जम्मा भएको थियो, केपी शर्मा ओलीको सरकारले फिर्ता ल्याएको थियो । ९ करोड दाबी गरिएको ठाउँमा विजय गच्छदार १० लाख कि ५ लाख धरौटीमा छुटिसक्नुभयो, अब देश कहाँ जाँदैछ ? कसले चलाउन सक्यो, सकेन ? नक्शा प्रकाशन गर्न कसैले रोकेको थियो ?’



प्रतिक्रिया दिनुहोस्