Logo

कथा : धर्म



सआदत हसन मन्टो : पहिलो पटक मुख्तारले शारदालाई धारामा देखेको थियो । घरको छतमा चुँडिएको चङ्गा लिन उक्लेको थियो । त्यहीँबाट उसले पल्लो घरमा माथिल्लो तलाको झ्याल खुल्लै रहेको देख्यो । खुल्ला रहेको झ्यालबाट एउटी युवतीले मग हातमा समाती नुहाउँदै गरेको देखेको थियो । त्यस घरमा कुनै केटीलाई देखेर मुख्तार छक्क पर्यो । कारण, त्यस घरमा कुनै केटी थिइन । जो थिए, महिलाहरू थिए, विवाहित । रुप कौर मात्रै बस्थी त्यहाँ । सँगै उसको पोक्चे पोइ कालु मल थियो र थिए तीन भाइ छोराहरू पनि ।

मुख्तारले धागो चुँडिएको चङ्गा उठाउँदा युवतीलाई देख्यो । त्यहाँ अडिएर उसले युवतीलाई हेर्यो । सुन्दरी थिई । उसको नग्न देहमा सुनको चमक थियो । शरीरमा टाँसिएका र तप्पतप्प चुहिँदै गरेका पानीका ससाना थोपा चम्किँदै थिए । गहुँगोरो रङ्ग । ठ्याक्कै गहुँगोरो पनि होइन तामा रङ्गको देह ! मुख्तारलाई यस्तो लागेको थियो मानौं युवतीको तामादेह पग्लेर चम्किलो पानीका थोपा बनी तप्प तप्प खस्दै थिए !

मुख्तारले खुल्लै रहेको झ्यालबाट हातमा मग समातेर नुहाउँदै गरेकी त्यस युवतीलाई चासो दिएर हेर्न थाल्यो । त्यस युवतीको उमेर बढीमा सोह्र वर्ष जतिको थियो होला । ससाना आकारका दुई पोटिला छाती, जहाँबाट पानी चिप्लेर बग्दै थियो, साह्रै चित्ताकर्षक थिए । नुहाउँदै गरेकी त्यस युवतीलाई देखेर मुख्तारको दिल–ओ–दिमागमा कुनै प्रकारको वासना जागृत भएन । एउटी जवान, सुन्दर अनि सर्वाङ्ग नग्न युवती उसको आँखा सामुन्ने थिई । यस्तो दृश्य मात्रले पनि मुख्तारको कामवासना उत्कर्षमा पुग्नु पथ्र्यो । तर यसको विपरीत ऊ शान्त भावका साथ उसलाई हेरिरहेको थियो मानौं कुनै जिउँदोजाग्दी नग्न युवतीलाई नभई एउटा कलाकारले फगत तस्बिर हेर्दै थियो ।

त्यस युवतीको तल्लो ओठको ठ्याक्कै कुनामा ठूलो कोठी थियो । शान्त एवम् सन्तुलित । आफ्नै अस्तित्वबाट बेखबर भएजस्तो थियो त्यो तिलकोठी । तर अरुलाई भने उसको अस्तित्व अनुभूति थियो कि त्यो कोठी त्यहीँ हुनुपथ्र्यो जहाँ त्यो थियो ।

पाखुरामा मसिना रौंका त्यान्द्राबीच अडिएका पानीका थोपा चम्किँदै थिए । उसको कपाल सुनौलो रङ्गको थिएन । खैरो रङको थियो । सायद सुनौलो रङ्गको हुन अस्विकार गरेको थियो उसको कपालले । भरिलो ज्यान । खँदिलो शरीर । तर उसलाई देख्दा कुनै उत्तेजना पैदा हुन्नथ्यो । मुख्तारले धेरै बेर झ्यालबाट उसलाई नुहाउँदै गरेको हेरिरह्यो ।

त्यस युवतीले शरीरमा साबुन दली । साबुनको सुगन्ध मुख्तारको नाकसम्म पुग्यो । आकर्षक तामाको जस्तो रङ्ग भएको शरीरमा सेतोसेतो फिँज बडो गजबको देखिन्थ्यो । अनि जब त्यो सेतो फिँज पानीले पखालियो, मुख्तारले यस्तो महसुस ग¥यो मानौं युवतीले आफ्नो चाँदीको बर्को फुकालेर एकातिर राखिदिई ।

नुहाइसकेपछि युवतीले तौलियाले आफ्नो शरीर पुछी । साह्रै सहज र आनन्दानुभूतिका साथ बिस्तारै कपडा लगाई । झ्यालका सरियामा दुवै हात राखी अनि वारिपट्टि हेरी । उसका आँखाभरि लाज तैरियो र उसले झ्याल झ्याप्प बन्द गरी । मुख्तार अनायासै हाँस्न थाल्यो ।

अचानक युवतीले झ्यालको पल्ला खोली र रिसाएको भावका साथ पल्लो घरतिर हेरी । मुख्तारले भन्यो, ‘मेरो दोष छैन है । तपाईं आपंैmले किन झ्याल खुल्लै राखी नुहाउँदै हुनुहुन्थ्यो त ?’

युवतीले केही पनि भनिन । निर्लिप्त भावका साथ एक पटक पारितिर हेरी अनि झ्याल बन्द गरी ।

यसको चौथो दिन मुख्तारको घरमा रुप कौर आउँछे । ऊसँगै झ्याल खुल्लै राखी नुहाउने युवती पनि आएकी थिई । मुख्तारका आमा र दिदी दुवै जना सिलाइबुनाइको काममा सिपालु थिए । त्यसैले त्यस टोलकी अरु केटीहरू पनि प्रायः सिलाइबुनाइको काम सिक्न मुख्तारको घरमा आइरहन्थे । रूप कौरले पनि त्यस केटीलाई सिलाइबुनाइकै काम सिकाउनका लागि त्यहाँ लिएर आएकी थिई किनकि उसलाई क्रुसको काम सिक्ने साह्रै सोख थियो । मुख्तार आफ्नो कोठाबाट निस्केर आँगनमा आयो र रूप कौरलाई प्रणाम भन्यो । मुख्तारलाई देखेर युवतीले अप्ठेरो मानी । मुख्तार मुस्कुरायो मात्र र त्यहाँबाट गइहाल्यो ।

क्रुसको बुनाइको काम सिक्न त्यो युवती अब दिनहुँ मुख्तारको घरमा आउन थाली । मुख्तारलाई देखेपछि जहिले पनि अप्ठेरो महसुस गर्थी । बिस्तारै उसको यो असहज महसुस गर्ने बानी हराउँदै गयो । कसै गरी उसको दिमागबाट मुख्तारले आफूलाई नुहाउँदै देखेको कुरा बिलीन भएको थियो ।

उसको नाम शारदा भएको कुरा मुख्तारले थाहा पायो । रूप कौरको काकाकी छोरी, अनाथ रहिछे । मल्लियामा एकजना गरिब आफन्तकहाँ आश्रय थियो उसको । रूप कौरले उसलाई आपूmकहाँ बोलाई  । आई.ए. पास गरेकी थिई । प्रतिभावान् थिई । क्रुसको अप्ठेरोभन्दा अप्ठेरो काम उसले चाँडै सिकिसकेकी थिई ।

समय बित्दै गयो । यसबीच मुख्तारले आफू शारदाको प्रेमपासमा कैद भएको अनुभूति गरिसकेको थियो । यो सबथोक बिस्तारै बिस्तारै भएको थियो । पहिलो पटक उसलाई झ्यालबाट नुहाउँदै गर्दा हेरेको थियो । त्यो मात्र एक चित्ताकर्षक दृश्य थियो । तर अब शारदा शनैः शनैः उसको मनमा विराजमान हुन थालेकी थिई । मुख्तारले धेरै पटक यो मायाप्रेमको मामिला ठीक होइन कि भनेर पनि सोच्यो । शारदा हिन्दु थिई । एउटा मुसलमानले हिन्दु केटी मन पराउने आँट कसरी गर्न सक्छ ? मुख्तारले आफूलाई धेरै सम्झायो । तर शारदाप्रतिको मायालार्ई कसैगरी मेटाउन सकेन ।

अब त शारदा पनि ऊसँग कुरा गर्न थालेकी थिई । तर त्यति साह्रो खुलेर पनि होइन । उसको दिमागमा आफूले नाङ्गै नुहाउँदै गर्दा मुख्तारले हेरेको थियो भन्ने अनुभूति हावी हुन्थ्यो ।

एक दिन घरमा कोही थिएन । मुख्तारकी आमा र दिदी दुवै जना कुनै आफन्तको चालिसौं दिनको तिथिमा गएका थिए । सदाझैं बिहान दस बजे शारदा झोला बाकेर आँगनमा आइपुगी । आँगनमा खटियामा पल्टी मुख्तार पत्रिका पढ्दै थियो । शारदाले सोध्यो, ‘दिदी कहाँ हुनुहन्छ ?’

मुख्तारको हात काँप्न थाल्यो, ‘उनीहरू… उनीहरू त बाहिर गएका छन् ।’

शारदाले सोधी, ‘आमा नि ?’

मुख्तार उठेर बस्यो, ‘आमाछोरी नै सँगै जानुभएको हो ।’

‘ए !’

शारदाले डराएको नजरसाथ मुख्तारलाई हेरी र नमस्ते भनेर हिँड्न थाली । मुख्तारले उसलाई रोक्यो, ‘शारदा ! पर्ख त ।’

शारदालाई मानौं बिजुलीको झट्का लाग्यो । झस्केर भनी, ‘हजुर !’

मुख्तारले खाटबाट उठ्दै भन्यो, ‘एकछिन पर्खिंदा हुन्छ । आमाहरू एकछिनपछि आउनुहुन्छ होला ।’

‘हैन… म जान्छु ।’ शारदा जान्छु भने तापनि उभिइरही ।

मुख्तारले आँट गरेकै हो । शारदाको पाखुरा समात्यो र आपूmतिर तान्यो अनि उसको ओठमा चुम्बन गर्यो । यो यति चाँडो भएको थियो कि मुख्तार र शारदाले के भयो भनी बुझ्नै सकेनन् । दुवैजनाको जिउ थरथराइरहेको थियो । मुख्तारले यतिमात्र भन्न सक्यो, ‘म माफी चाहन्छु ।’

शारदा मौन रही । उसको तामाजस्तो उज्यालो रङ्ग कालोनीलो भयो । ओठ थरथराइरहेका थिए । जिस्काएकोमा रिसाएझैं देखिन्थे उसका ओठ । मुख्तारले आपूmले गरेको हर्कत अनि त्यसको परिणाम तुरुन्तै बिर्सियो । उसले एकपटक फेरि शारदालाई आपूmतिर तान्यो र छातीमा टाँस्यो । शारदाले कुनै प्रतिकार गरिन । अचम्म मानेर ऊ कुनै प्रतिमा सरी उभिएकी थिई । ऊ त एक प्रश्न पो बन्न पुगेकी थिई … यस्तो प्रश्न जुन आफैप्रति गरिएको थियो । सायद उसले आफैलाई सोध्दै थिई, यो के भयो ? के भइरहेको छ ? यस्तो हुनु जरुरी थियो ? अरु कसैले पनि यस्तो केही हर्कत गरेको होला ?

मुख्तारले उसलाई खाटमा बसाल्यो र सोध्यो, ‘तिमी किन बोल्दिनौ शारदा ?’

छाती छोपेको शारदाको पछ्यौरीभित्र उसको मुटु धड्किरहेको थियो । उसले कुनै जवाफ दिइन । मुख्तारलाई उसको मौनता चिन्ताजनक भान पर्यो, ‘शारदा ! यदि तिमीलाई मेरो यो व्यवहार मन परेको छैन भने भन्देऊ । खुदा कसम ! म माफी माग्ने छु । तिमीलाई हेर्ने पनि छैन । मैले यस्तो आँट गर्ने थिइनँ । तर खै मलाई के भयो ? खासमा … साँच्चै भनुँ भने म तिमीलाई माया गर्छु !’

शारदाका ओठ चलमलाए । मानौं ‘माया’ स्वीकार गर्ने प्रयास गरिरहेजस्ता । मुख्तारले जोसका साथ भन्न थाल्यो, ‘मलाई थाहा छैन । तिमीलाई यो मायाप्रेमबारे केही थाहा छ कि छैन ? म आपंैmलाई पनि यसबारेमा त्यति खास केही थाहा छैन । यत्ति मात्र थाहा छ कि म तिमीलाई मन पराउँछु । बस् तिमीलाई आपूmमा समाहित गराउन चाहन्छु । तिमी भन्छौ भने म आफ्नो पूरा जिन्दगी तिमीलाई सुम्पिदिन सक्छु । शारदा तिमी केही त बोल ।’

शारदाका आँखामा सपनाहरू तैरिन थाले । मुख्तार बोलिरह्यो, ‘मैले त्यस दिन तिमीलाई झ्यालबाट नुहाउँदै गरेको देखें… । होइन, तिमी आफैं देखियौ । त्यो यस्तो दृश्य थियो जसलाई म मृत्युपर्यन्त बिर्सन सक्दिनँ । किन लजाउँछौ तिमी ? मेरा आँखाहरूले तिम्रो सौन्दर्य चोरी त गरेका छैनन् नि ! तिम्रो सौन्दर्यको तस्बिर मात्र मेरो आँखामा समाहित भएको छ । त्यस तस्बिरलाई तिमीले जिउँदो जाग्दो बनाइदियौ भने म तिम्रो पाइताला चुम्ने छु !’ यस्तो भनेर मुख्तारले शारदाको एउटा पाउमा चुम्बन गर्यो ।

शारदा काँपी । खाटबाट एक्कासि उठ्दै उसले आत्तिएको बोलीमा भनी, ‘तपाईंले यो के गर्नुभयो ? हाम्रो धर्ममा …।’

मुख्तार खुसीले उफ्रियो, ‘धर्मसर्मलाई छोड… । प्रेमको धर्ममा सबथोक जायज हुन्छ ।’ यत्ति भनेर उसले शारदालाई चुम्बन गर्न चाह्यो । तर ऊ अप्ठेरो मान्दै एकातिर गई अनि लजालु तवरमा मुस्कुराउँदै त्यहाँबाट भागी । उसलाई यसरी मुस्कुराउँदै दौडेको देखेर मुख्तारको मन आकाशमा उडुँउडुँ भयो । खुसीले आँगनमा नाचुँ नाचुँ भयो उसलाई ।

मुख्तारका आमा र दिदी आएपछि शारदा पनि फर्केर आई । मुख्तारलाई देखेर उसले तुरुन्तै परेली झुकाई । अब उनीहरूबीचको यो रहस्यको पर्दाफास नहोस् भनी मुख्तार त्यहाँबाट चुपचाप कतै हरायो ।

अर्को दिन ऊ छतमा गयो । छतबाट हेर्दा शारदालाई झ्यालनेर कपाल कोर्दै गरेको देख्यो । मुख्तारले उसलाई बोलायो, ‘शारदा !’

आवाज सुनेर शारदा झस्किई । उसको हातको काइँयो फुत्केर तल गल्लीमा खस्यो । यो देखेर मुख्तार हाँस्यो । शारदाको ओठमा पनि मुस्कान तैरियो । मुख्तारले उसलाई भन्यो, ‘कति काँतर रहिछ्यौ तिमी त… सानो आवाजले पनि यतिविधि डराएर काइँयो खसाल्यो ।’

शारदाले भनी, ‘अब मलाई नयाँ काइँयो ल्याइदिनू । यो त ढलमै खस्यो ।’

मुख्तारले पनि जवाफ दियो, ‘अहिल्यै ल्याऊँ त ?’

शारदाले तुरुन्तै भनी, ‘पर्दैन पर्दैन… । मैले त ठट्टा पो गरेकी ।’

‘मैले पनि ठट्टै गरेको हो । तिमीलाई छोडेर काइँयो ल्याउन के पो जान्थें र म ? अहँ ।’

शारदा मुस्कुराई, ‘अब कपाल कसरी कोर्नु मैले ?’

मुख्तारले हातका औंला देखाउँदै भन्यो, ‘यी मेरा औंला लैजाऊ ।’

शारदा हाँसी । यो हाँसोको प्रतिच्छायामा पूरा जीवन बिताइदिऊँ झैं भयो मुख्तारलाई । ‘शारदा, खुदा कसम ! तिमी हाँस्यौ भने मेरो शरीरको रोमरोम जीवन्त भइदिन्छ । तिमी यति मायालु किन छौ ? के यो दुनियाँमा तिमीजति मायालु अर्को कुनै केटी छ होला त …। छ्या यो पर्खाल ! यो माटोको पर्दा । यिनलाई अहिल्यै भत्काउन मन हुन्छ ।’

शारदा फेरि हाँसी । मुख्तारले भन्यो, ‘यो हाँसो अरु कसैले नदेखोस्, अरु कसैले नसुनोस् । शारदा ! तिमी मसँग मात्रै हाँस्नू । अनि तिमीलाई हाँस्न मन लागेका बेला मलाई बोलाउनू ! म तिम्रो हाँसोको वरिपरि आफ्नो ओठको पर्खाल उभ्याइदिउँला ।’

शारदाले भनी, ‘कुरा त खुबै मीठा गर्नुहुन्छ तपाईं ।’

‘उसो भए त मैले पुरस्कार पाउनुपर्छ । मायाको सानो चिनो झ्यालको चेपबाट मतिर फाल न । प्रेमिल अनुभूतिको त्यस चिनोलाई म परेलीले टिपेर आँखामा लुकाउने छु ।’ शारदा नजिकै आउँदै गरेको एउटा छाया देखेर मुख्तार छतबाट हरायो । केही समयपछि फर्केर आउँदा शारदा उभिएको झ्याल खाली थियो । शारदा त्यहाँबाट गइसकेकी थिई ।

चिनीपानी मिसिएझैं बिस्तारै शारदा र मुख्तार आपसमा एकाकार हुँदै गए । एकान्त पाएका बेला धेरै बेरसम्म माया प्रेमका कुरा गर्दै बिताउँथे । एक दिन रुप कौर र उसको लोग्ने लाला कालू बाहिर कतै गएका थिए । मुख्तार गल्लीमा हिँड्दै थियो । कसैले उसलाई सानो ढुङ्गाले हिर्कायो । माथि फर्केर हे¥यो । शारदालाई उभिएको देख्यो । हातले इसारा गर्दै उसले मुख्तारलाई माथि बोलाई ।

मुख्तार शारदा भएको ठाउँमा गयो । एकान्त समयको भरपूर उपयोग गरे । दुवैजनाले खुब मायापिरतीका गफ गरे ।

मुख्तारले शारदालाई भन्यो, ‘त्यस दिन मैले गल्ती गरेको थिएँ र उत्तिखेरै माफी पनि मागेको थिएँ । आज फेरि ‘गल्ती से मिस्टेक’ गर्न मन छ तर माफी भने माग्ने छैन है ।’ अनि उसले शारदाका काँपिरहेका ओठमा आफ्ना ओठ जोडिदियो ।

लजाउँदै शारदाले जिस्क्याई, ‘अब माफी माग्नू ।’

‘अहँ… माग्दिनँ । अब यी ओठ तपाईंका रहेनन् । मेरा भइसके । मैले भूmटो बोलेको छु र ?’

शारदाले नजर झुकाउँदै भनी, ‘ओठको मात्रै के कुरा, म नै तपाईंकी हुँ अब ।’

मुख्तार एकदमै गम्भीर भयो, ‘हेर शारदा ! मानौं हामी यतिबेला अग्निपहाडमा उभिएका छौं.. म तिमीलाई विश्वास दिलाउन चाहन्छु । खुदाको कसम खाएर भन्छु कि मेरो जिन्दगीमा तिमीबाहेक अरु कुनै केटीको प्रवेश हुनेछैन । म कसम खान्छु कि जिन्दगीभर म तिम्रै रहनेछु । मेरो माया जुनीजुनीलाई तिम्रै हुनेछ । के तिमीले पनि यसलाई मान्छौं ?’

शारदाले नजर उठाउएर मुख्तारलाई हेरी, ‘मेरो माया चोखो छ ।’

मुख्तारले शारदालाई छातीमा टाँस्यो र भन्यो, ‘बाँचिरहनू… मात्र मेरा लागि, मेरो मायाको नासो हौ तिमी । खुदा कसम शारदा । तिम्रो माया नपाएको भए शारदा विश्वास गर, म सायद आत्महत्या गर्थें हुँला । तिमी मेरो अँगालोमा छौ र त मलाई यस्तो लाग्छ कि संसारको सुखजति जम्मै मेरो पोल्टामा पोखिएका छन् । साँच्चै, म साह्रै भाग्यमानी छु ।’

शारदाले आफ्नो शिर मुख्तारको काँधमा बिसाउँदै भनी, ‘तपाईंलाई कुरा गर्न खुब आउँछ । तर मलाई आफ्नै मनको कुरा भन्न आउँदैन ।’

धेरैबेरसम्म दुवैजना एकअर्कामा हराइरहे । शारदाको कोठाबाट निस्कँदा मुख्तारको आत्मा नयाँ र मीठो आनन्द अनुभूतिले भरिएको थियो । रातभरि उसले केवल शारदाका बारेमा सोचिरह्यो । अर्को दिन ऊ कलकत्ता जान भनी हिँड्यो । आठ दिनपछि फर्केर आयो । शारदा सधैंको जस्तो क्रुसको काम सिक्न तोकिएकै समयमा आइपुगी । उसको आँखाले मुख्तारसँग धेरै कुरा सोधे, ‘यत्तिका दिन कहाँ हरायौ ? मलाई केही नभनी कलकत्ता गई बेपत्ता हुने ? माया गर्छु भनी खुब धक्कु लाउँथ्यौ त ? म बोल्दिनँ जाऊ…। के हेर्छौ मलाई ? के भन्न खोजेको ?’

मुख्तारले धेरै कुरा बताउन चाहन्थ्यो तर अवसर नै पाएको थिएन । शारदासँग धेरै लामो कुराकानी गर्न चाहन्थ्यो उसले । दुई दिन बिते तर मौका नै पाएन । आँखा आँखामा मौन वार्तालाप भइरहे । अन्ततः तेस्रो दिन शारदाले उसलाई बोलाई । मुख्तार साह्रै खुसी भयो । रूप कौर र उसको श्रीमान् घरमा थिएनन् ।

शारदालाई उसले भ¥याङमा भेटायो । उसले शारदालाई त्यही अँगालोमा बाँध्न चाहन्थ्यो तर ऊ तड्पिदै माथि दौडिई । रिसाएकी थिई । मुख्तारले उसलाई भन्यो, ‘मेरी मायालु, मेरो छेउमा बस त । म तिमीलाई अति जरुरी कुरा बताउन चाहन्छु । यस्तो कुरा बताउन चाहन्छु जुन कुराको हाम्रो जिन्दगीसँग गहिरो सम्बन्ध छ ।’

पलङ्गमा शारदा मुख्तारको छेउमै बसी, ‘कुरा घुमाउने होइन के ! मलाई पहिला भन्नू… मलाई केही पनि नभनी कलकत्ता किन जानुभयो तपाईं ? साँच्चै कति धेरै रोएँ म !’

मुख्तारले शारदाको आँखामा चुम्बन ग¥यो, ‘त्यस दिन तिमीसँग छुट्टिएपछि पूरा रातभरि मैले सोचें । त्यस दिन हामीबीच जेजस्तो भएको थियो, त्यसपछि मैले गम्भीर भएर सोच्न जरुरी भइसकेको थियो । हामी श्रीमान्–श्रीमतीको जस्तो गरी यहाँ बसेका थियौं । मैले गल्ती गरें । तिमीले पनि केही सोचिनौ । हामीले छोटो समयमै लामो यात्रा तय गरिसक्यौं । तर हामीले हाम्रो गन्तव्य कतातिर हो भनेर कत्ति पनि सोचेनौं । तिमीले कुरा बुझ्दै छौ नि शारदा ?’

शारदाले आँखा झुकाउँदै भनी, ‘हजुर भन्नुहोस् ।’

‘म बाबासँग सल्लाह गर्न कलकत्ता गएको हुँ । मैले बाबालाई मनाइसकें र यो कुराले तिमीलाई पक्कै खुसी दिनेछ ।’ मुख्तारका आँखामा खुसी चम्किँदै थियो । शारदाका दुवै हात समात्दै उसले भन्यो, ‘असाध्यै भारी मन भएको थियो । अब हलुको भएको छ । म तिमीसँग अब विवाह गर्न सक्छु ।’

शारदले बिस्तारै भनी, ‘बिहे !’

‘हो बिहे !’

शारदाले सोधी, ‘हाम्रो बिहे कसरी हुन सक्छ ?’

मुख्तार मुस्कुरायो, ‘यसमा के गाह्रो छ र …तिमी मुसलमान बन्नू !’

शारदा झस्किई, ‘मुसलमान ?’

मुख्तारले सहजै भन्यो, ‘हो त । यसबाहेक अरु के नै होला र ? तिम्रो घरपरिवारले केही समय हङ्गामा मच्चाउने छन् भन्ने कुरा मलाई थाहा छ । तर मैले यसको पनि बन्दोबस्त गरिसकेको छु । हामी दुवैजना यहाँबाट भागेर सिधै कलकत्ता जानेछौं । बाँकी कुरा बाबाले सम्भाल्नु हुन्छ । कलकत्ता पुगेकै दिन मौलवी  बोलाएर तिमीलाई मुसलमान बनाउने अनि त्यसपछि त उत्तिखेरै बिहे पनि भइहाल्छ ।’

शारदाका ओठमा मानौं कसैले भोटेताल्चा लगाइदियो । मुख्तारले उसलाई हेर्दै भन्यो, ‘किन केही बोल्दिनौ शारदा ?’

शारदा बोलिन । मुख्तार असमञ्जसमा पर्यो, ‘के भयो शारदा ? केही त भन ।’

शारदाले अप्ठेरो मानेर भनी, ‘तपाईं हिन्दु बन्दा हुन्न र ?’

‘म हिन्दु बनुँ ?’ छक्क परेर मुख्तारले भन्यो । हाँस्दै उसले भन्यो, ‘म हिन्दु कसरी हुन सक्छु ?’

‘म कसरी मुुसलमान बन्न सक्छु ?’शारदाको आवाज मधुरो थियो ।

‘तिमी किन मुसलमान हुन सक्दिनौ र ? मेरो मतलब तिमीले मलाई माया गर्छौ । यसबाहेक इस्लाम सबैभन्दा राम्रो धर्म हो । हिन्दु धर्म पनि कुनै धर्म हो र ? गाईको गहुँत खान्छन् । मूर्तिपूजा गर्छन् …। मैले भन्न खोजेको ठीकै छ यो धर्म पनि आफ्नो ठाउँमा । तर इस्लामको बराबरी यसले गर्न सक्दैन ।’ मुख्तारको सोचाइ तनावग्रस्त र विचार अलमलमा थियो, ‘तिमी मुसलमान भइदियौ भने बस… मेरो मतलब सब…सब ठीक हुनेछ ।’

शारदाको तामाजस्तो उज्यालो रङ्ग कालोनीलो भयो, ‘तपाईं हिन्दु बन्नुहुन्न ?’

मुख्तार हाँस्यो, ‘पागल त भइनौ तिमी ?’

शारदा झनै कालोनीलो भई, ‘तपाईं जानुहोस् । उनीहरू आउने बेला भइसक्यो ।’ यत्ति भनेर ऊ पलङ्गबाट उठी ।

मुख्तार असमञ्जसमा प¥यो, ‘तर शारदा… ।’

‘नाइँ, नाइँ तपाईं जानुहोस्…। बरु छिटो गइहाल्नुहोस् । उनीहरू आइपुग्ने बेला भइसक्यो ।’ शारदाको बोली हिउँभन्दा चिसो थियो ।

सुकिसकेको घाँटीबाट मुख्तारले गाह्रो गरी भन्यो, ‘हामी एकअर्कालाई माया गर्छौ शारदा । तिमी यसरी किन रिसायौ ?’

‘जाऊ… छिटो जाऊ यहाँबाट । हाम्रो हिन्दु धर्म नराम्रो धर्म भयो । तिम्रो इस्लाम असल धर्म भयो ।’ शारदाको आवाजमा तिरस्कार थियो, घृणा थियो । ऊ अर्को कोठामा गई र ढोका बन्द गरी । आफ्नो छातीमा इस्लाम च्यापेर मुख्तार पनि त्यहाँबाट बाहिरियो ।



प्रतिक्रिया दिनुहोस्