Logo

भियतनाम डायरी : एन्टेना छ, शौचालय छैन



सरिता शर्मा ‘शैली’ : विभिन्न देशहरूबाट आएर शिक्षण पेशा गर्न चाहने व्यक्तिका लागि तालिम दिने हाम्रो संस्था छ, साइगोनमा । तालिमपछि आवश्यकता अनुसार विभिन्न ठाउँमा पठाइन्छ उनीहरुलाई । यसै क्रममा एकपटक भियतनामी साथी तामी नयाँ आएका शिक्षकहरु लिएर जाने भइन् अनि उनका पति जन्मेको गाउँको बाटो हुँदै फर्किने गरी ।

खासमा उनका डाक्टर पति वर्षको दुईचोटि आफू जन्मेको ठाउँ कोन्तुम प्रोभिएन्स जाँदा रहेछन् डोनेशन र समाजसेवाका लागि । तामीले हामी दुई प्रशिक्षकलाई पनि गाउँ घुम्ने प्रस्ताव राखिन्। घुम्नको सोखिन मैले तुरुन्तै स्वीकार गरिहालेँ । भियतनामका शहर मात्र हैन, गाउँ घुम्ने मौका पनि सकेसम्म छुटाउदिनँ म।

रातो रङको ठूलो बसमा डोनेशनका सामग्रीसहित अन्य भियतनामीहरु पनि थिए । म झ्यालपट्टिको सिटमा बसेँ । झ्यालबाट बाहिरको दृश्य हेर्दै यात्रा गर्न मलाई औधि मज्जा लाग्छ । बसभित्रको भाषा नबुझिने गफ सुन्दै, हाँस्दै गर्दा अझै आनन्द आइरहेको थियो । खाना खाने ठाउँमा बस रोकियो । ठूलो टेबुलमा खानाका विभिन्न परिकार आयो । सबै जना बसेर खाना लिन थाले । हामी दुई साथी र दुई नयाँ शिक्षक भने मुखामुख गर्न थाल्यौँ ।

खानाका अनेकौँ परिकार छन् । भेज, नन भेज, सी फुड अनि के के हो के के ! हाम्रो मुख्य खाना ‘भात’ पनि आइपुग्यो एउटा भाँडामा । सबैले सुरु गरे । हामीले पनि कोसिस गर्यौं उनीहरुको देखासिकी । दुई वटा सिन्का (chop stick) हातमा लिएर । अब सिन्काले भात कसरी खाने ! बल्लतल्ल अलिकति झिक्यो मुखमा पुग्नुअघि भात तल झरिसक्ने । पेटमा भोक छ, अगाडि खाना छ तर खाने कसरी ….?

थाइल्यान्ड बस्दाको अनुभवबाट मैले त जसोतसो खाएँ । समस्या बुझेर होला, पछि चम्चाको व्यवस्था भयो र सबैको पेट भरियो । नयाँ शिक्षकहरुलाई उनीहरुको गन्तव्यमा छोडेर हामी डाक्टर साहेबको गाउँ पुग्यौँ । गाउँलेहरु प्रतीक्षा गर्दै रहेछन् स्वागतका लागि । विदेशी अनुहार देखेर उनीहरुको खुशी झनै चुलियो । विभिन्न गतिविधिका साथ कार्यक्रम सम्पन्न भयो । रमाइलो गरियो, फोटो खिचियो ।

अब मलाई पैदल गाउँ घुम्ने रहर लाग्यो । हामी दुई जना साथीहरू लाग्यौँ गाउँ, खेत, बारी लटरम्म फलेका कफीका बोटहरु हेर्दै । गाउँलेहरू हाम्रो विदेशी अनुहार देखेर हाँस्दै स्वागत गर्ने, जता पुगे पनि उखुको जुसका र ग्रीन टीले। भियतनामको गर्मीमा बरफ हालेको चिसो जुस पिउँदै खुब घुमियो ।

पानी र जुसको असर देखिन लाग्यो । अब शौचालय जानुपर्ने भयो । नजीकका घरमा गएर सोधेको, पहिले त कुरै बुझेनन् । मैले थाइल्यान्डमा सिकेको भाषा यहाँ काम लागेन । गुगल सर्च गरेर थाहा भयो- ‘ना भेसिन’। अनि घर पछाडि इशारा गरे । हतार परेकाले दौडिँदै गएँ । तर त्यहाँ त खुल्ला बारी पो छ त ! खोइ त शौचालय ?

फेरि अर्को घरमा पसेँ, त्यो घर अलि ठूलो थियो । सबै जना ठूलो टीभी हेरेर बसिरहेका । आफ्नो समस्या बताएँ । त्यहाँ पनि घर पछाडि देखाए । गएर हेर्दा बारी, बोट-बिरुवा । बल्लतल्ल एउटा घर पछाडि भेटियो बेरबार गरी बनाइएको । जसोतसो समस्या समाधान गरियो । हरेक जसो घरमा टीभीको एन्टेना देखिने तर ….. ‘नो ना भेसिन’। मलाई भने अक्षय कुमार अभिनीत फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ याद आइरहेको थियो । आज अनुभव भयो, आफैँले भोग्नु पर्दाको समस्या । फर्कने बेलामा पनि जुस र पानीको अफर आउँदै थियो तर धेरै पिउन डर लाग्यो ।

 

 



प्रतिक्रिया दिनुहोस्