Logo

देउवालाई पराजित गर्नसक्ने काँग्रेस सभापतिको उम्मेदवार तयार गर्न सुजाता सक्रिय



काठमाडौं, २ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला राजनीतिक रुपमा निकै सक्रिय भएकी छिन् । उनले पार्टीको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि सक्रियता बढाएकी हुन् ।

सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने क्षमताको उम्मेदवार खडा गर्न सुजाता लागेकी छिन् । त्यसका लागि उनले भेटवार्ता तिव्र पारेकी छिन् ।

सुजाताले कोइराला परिवारका नेताहरु महामन्त्री डा. सशांक कोइराला र डा. शेखर कोइरालालाई केही महिना अघि मण्डिखाटार डाकेर एकताको सन्देश दिइन् । उनले कोइराला परिवार एक भएको सन्देश दिइन् । कोइराला परिवार एक भएर काँग्रेस नेतृत्वमा एकजना उम्मेदवार बढ्नुपर्ने प्रस्ताव गरिन् ।

उनकै पहलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गत महिना मण्डिखाटारमा एकसाथ देखिए । दुई नेता सुजाताकै पहलमा एक ठाउँमा बसेर गहन छलफल गरेका थिए । उनीहरुले देउवालाई पराजित गर्न सक्ने साझा उम्मेदवार खडा गर्नेबारे छलफल गरेका थिए । त्यसपछि देउवाइतरका नेताहरुको बैठक तिव्र भयो ।

पछिल्लो समय सुजाताले देउवाको विकल्प खोज्नुपर्ने पक्षका नेताहरुको धमाधम बैठक बस्न थालेको छ । उनले काँग्रेसका हस्ती नेताहरुसँग पनि विभिन्न चरणमा छलफल गरेकी छिन् । दोस्रो पुस्ता र तेस्रो पुस्ताका नेताहरुसँग पनि नियमित छलफल बढाएकी छिन् ।

सुजाताले आफू काँग्रेसलाई बलियो बनाउने कदममा जस्तोसुकै त्याग गर्न तयार रहेको बताइसकेकी छिन् । सभापतिमा देउवाइतरबाट साझा र सर्वमान्य नेता छानेर बढ्नुपर्ने पक्षमा छिन् । त्यसका लागि कसै न कसैले त्याग गर्नुपर्नेमा उनको जोड छ । कोइराला परिवारका शेखर र सशांकमध्ये एकजना उम्मेदवार बनाउन सुजाताको प्रयास चलिरहेको देखिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि सबैलाई चित्त बुझाउने गरी उम्मेदवार तयार गर्न सुजाताको सक्रियता बढेको छ ।

आज पनि कोइरालात्रयबीच लञ्च मिटिङ भएको छ । यसबाट सुजाता उत्साही भएकी छिन् । टोखास्थित सशांक कोइरालाको निवासमा लञ्च मिटिङ भएको हो । नियमित भेटवार्ता र नेताहरुले एकताको सन्देश दिने क्रम चलिरहेको छ । सुजाताले सहमति, सहकार्य र एकताको सुत्र सार्दै काँग्रेसभित्र नयाँ नेतृत्वको पहल गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्