Logo

सरकारको ध्यान श्वेतपत्रमा



काठमाडौं, साउन ३ । नयाँ सरकार गठन भएसँगै मुलुकको पछिल्लो आर्थिक अवस्था प्रस्तुत गर्न सरकारले श्वेतपत्र ल्याउने भएको छ ।

सर्वोच्चको आदेशले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएसँगै हालै गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्थाको यथार्थ बताउने गरी श्वेतपत्र ल्याउन ध्यान केन्द्रित गरेको हो । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रूपमै यसबारेमा जानकारी दिएका छन् ।

अर्थ मन्त्रालयमा हालै पत्रकारहरूसँगको छलफलमा मन्त्री शर्माले वर्तमान अर्थतन्त्रको यथार्थ अवस्थाको विवरण तयार पारेर सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनका अनुसार श्वेतपत्रपछि सरकारले समग्र योजना तय गर्नेछ । अघिल्ला वर्षहरूमा भएका कमीकमजोरीको बारेमा श्वेतपत्रमार्फत सरकारले समीक्षा गर्ने र वर्तमान सरकारको नीतिसमेत समेट्ने सरकारको तयारी छ ।

‘आफ्नो भिजन र समग्र योजनाका बारेमा कार्यक्रम राख्नेछौं,’ उनले भने, ‘अहिलेसम्म अर्थतन्त्रको विवरण र भविष्यमा के छ? कतातिर जाँदै छ मुलुकको अर्थतन्त्र रु त्यसको संकेत दिन श्वेतपत्र तयार गरी तपाईंसमक्ष पेश गर्नेछौं,’ मन्त्री शर्माले भने ।

उनका अनुसार अहिलेको परस्थितिलाई सहज बनाउँदै आर्थिक क्रियाकलाप चलायमान बनाउनेतर्फ सरकार केन्द्रित हुनेछ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले पनि श्वेतपत्र ल्याएका थिए ।

उनले अर्थतन्त्रको निराशाजनक दृश्य चित्रण गरेका थिए । श्वेतपत्रमा पूर्ववर्ती सरकारहरूको नकारात्मक टिप्पणी गरेका उनी आफूले अपेक्षाकृत सुधार गर्न नसकेको भन्दै आलोचित हुनुपरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot