Logo

घुम्टो खोल्दै जनकपुर–जयनगर रेल



धरान, साउन ३ । धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेटमाथिको घुम्टो आइतबार खुल्ने भएको छ। असोजदेखि थन्क्याएर राखिएको जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट आइतबार प्रतिघन्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने भएको छ।

रेल सञ्चालन हुनुअघि आइतबार रेल्वे लिकमा गति परीक्षण यकीन गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन्। ‘रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुन लागेको छ,’ उनले भने। महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड प्रतिघण्टा १२० किमी हुने भएकोले रेल्वे ट्रयाक वरपर सुरक्षा व्यवस्था कडा पारिने उनले बताए।

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन गत वर्ष असोजमा परीक्षण सेवा सुरु गरिएको थियो। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पुर्‍याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे। त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो।

पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रुत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि गत्त वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो।नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। रेल विभागका जनकपुर साइटका अनुसार एक हजार तीन सय सिट क्षमताको यो रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै सुविधा जडान गरिएको छ।

दुईवटा इन्जिन रहेको यस रेलमा अगाडिकोलाई मुख्य अर्थात् पावर र पछाडिकोलाई टेलर कार भनिन्छ। यो रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर छ। तर जनकपुर–जयनगर ब्रोडगेज रेल्वे प्रतिघन्टा १०० किलोमिटर स्पिडको डिजाइनमा बनाइएको छ। विभागले गत्त वर्ष असोज महिनामै नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरेको छ। रेल नेपाल रेल्वेले चलाउने छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्