Logo

विश्वासको मतका पक्षधर खनाल दिल्ली, थापा टोकियो



काठमाडौं, ३ साउन । नेकपा एमालेबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिंदा कति जनाले पक्षमा मतदान गर्ने हुन् चासो बनेको छ । देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले विश्वासको मत दिने निश्चित भइसकेको छ ।

रातारात गुट परिवर्तनका घटना भइसकेकाले कति जनाले विश्वासको मत दिने हुन् टुंगो छैन । तर, विश्वासको मतका पक्षमा स्पष्ट उभिएका वरिष्ठ नेता झलनाथ खनाल उपस्थित हुने छैनन् । उनी उपचारका क्रममा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा छन् ।

खनालले अस्पतालबाट एमाले सांसदहरुलाई विश्वासको मतको पक्षमा मतदान गर्न अपिल गरिसकेका छन् । उनी केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बर्हिगमन गर्न खुलेर लागेका थिए ।

यसैगरी, एमाले वरिष्ठ नेता बामदेव गौतम पनि विश्वासको मतको पक्षमा उभिएका छन् । उनी पछिल्लो समय माधव नेपाल समूहका सक्रियतापूर्वक लागेका छन् । गौतम प्रतिनिधि सभाका सांसद होइनन् । उनकी पत्नी तुलसा थापा प्रतिनिधि सभामा समानुपातिकतर्फकी सांसद हुन् ।

तुलसा थापा यतिबेला जापान छिन् । नेपाल ओलम्पिक कमिटीकी सचिव रहेकी उनी टोकियो ओलम्पिकमा पदाधिकारीको हैसियतले गएकी हुन् । उनी यसकारण आज मतदानमा अनुपस्थित हुनेछिन् ।

नेकपाको माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईले पनि अनुपस्थित जनाउने या विश्वासको मतमा तटस्थ बस्ने सम्भावना बढेर गएको छ । उनीहरु माधव नेपालको पछिल्लो कार्यशैलीप्रति रुष्ट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम