Logo

रावल, पौडेल र नेम्वाङ मध्येबाट प्रधानमन्त्री बनाउने प्रस्ताव कस्ले अस्वीकार गर्यो



काठमाडौं, ३ साउन । नेकपा एमालेको एकताका लागि दोस्रो पुस्ताका केही नेताहरु अन्तिम समयसम्म सक्रिय रहे । दोस्रो पुस्ताका हस्तीहरुले पार्टी एकताका लागि प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबाहेक तेस्रो व्यक्तिलाई अगाडि सार्ने विषय राखे ।

ओली र नेपालसम्म यो विषय पुग्यो । तर, दुवै नेता तयार भएनन् । माधव नेपाल झन् तयार भएनन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले आफूलाई हटाउने योजनामा यस्तो प्रस्ताव आएको बुझे । नेपालले पनि आफ्नो राजनीतिक भविष्य सक्याउने गरी प्रस्ताव आएको र आफ्नो पक्षमा फुट ल्याउन खोजेको बुझे ।

प्रधानमन्त्रीका लागि उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङमध्येबाट सार्न खोजिएको थियो । रावल पनि एमाले एकताका लागि लचिलो भएका थिए । पौडेल र नेम्वाङले पनि मध्यमार्गी भूमिका खेलेका थिए । तर, उनीहरुलाई सत्ताको साँचो सुम्पने विषयमा ओली र नेपाल दुवै तयार भएनन् ।

एमाले एकता बनाउन तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा सार्न खोजिएको बुझेर देउवाले हतारमा विश्वासको मत लिन खोजेको अर्थ लगाउन थालिएको छ । हुनपनि देउवाले छापामार शैलीमा आजै विश्वासको मत लिने निर्णय लिए । यसले एमालेलाई औपचारिक रुपमा विभाजित गर्ने मार्ग प्रशस्त गरिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्