Logo

भीम रावलका कारण प्रेम आलेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए



काठमाडौं, ४ साउन । नेकपा (एमाले) का २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए । प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरे भने उनको विपक्षमा ८३ मत खसेको थियो । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमा यसअघि केपी शर्मा ओलीले मन्त्री बनाएका प्रेम आलेपनि छन् । उनी ओली पक्षधर सांसद हुन् । तर, पछिल्लो समय मन्त्रीबाट हटाईएपछि उनले कित्ता परिवर्तन गरेको चर्चा थियो ।

पछिल्लो समय एमालेको विवाद समाधानको लागि गठित कार्यदलमा माधव नेपालको तर्फबाट भीम रावलले संयोजकको भूमिका निर्वाह गरेका थिए । रावलले अध्यक्ष ओलीसँग बालुवाटारमा एक्लाएक्लै भेटवार्ता गरेपछि उनी ओलीसँग नरम बनेका थिए । धेरैले रावलले कित्ताकाट गरेर ओली क्याम्पमा गएको चर्चा पनि चलाए । तर, रावलले भने आफूले माधव नेपालकै सल्लाहबमोजिम ओलीसँग भेटवार्ता गरेको स्पष्टीकरण पत्रकार ऋषि धमलासँग प्राइभ टिभीको अन्तर्वार्तामा भनेका थिए ।

अध्यक्ष ओलीसँगको भेटवार्तापछि रावल कार्यदलमा सक्रिय भएर पार्टी विवाद समाधानको लागि लागिपरेका थिए । कतिसम्म भने उनले माधव नेपालको कुरा सुन्ने भन्दापनि आफूले भनेबमोजिम नै हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिएका थिए । रावलको अस्वभाविक युटर्न देखेर नेता नेपालले पनि गठबन्धनका नेताहरुलाई रावलले धोका दिएपनि आफूसँग ओली पक्षधर केही सांसदहरु आउने दाबी गरेका थिए । नभन्दै हिजो विश्वासको मत दिने बेला ओली पक्षधर ८ जना सांसदले माधव नेपाललाई साथ दिएका थिए ।

यी ८ जनामध्ये प्रेम आलेले देउवालाई विश्वासको मत दिएको विषयले तरंग पैदा भएको छ । आले सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । उनी डोटीका सांसद हुन् । आलेलाई सांसद बनाउनमा नेता नेपालको ठूलो हात छ । उनी नेपाल पक्षकै सांसद थिए । तर, सुदुरपश्चिममा भीम रावलको हालीमुहाली भएपछि उनले नेपाललाई छोडेर अध्यक्ष ओलीसँग लाईन मिलाएका थिए । नभन्दै उनी ओली सरकारमा वनमन्त्री पनि भए । अहिले ओलीसँग रावल नजिकिएपछि उनले ओलीको साथ छोडेको चर्चा चलेको छ । कतिसम्म भने नेपाल पक्ष पनि वर्तमान सरकारमा सहभागी भए आलेलाई पनि मन्त्री बनाईने चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्