Logo

भीम रावल माधव पक्षमा नरहने, ओलीले किन देखाए सदाशयता ?



काठमाडौं, ४ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला पार्टी विवादमा तटस्थ भूमिकामा देखिएका छन् । पछिल्लो समय उनी न त एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा छन् न त माधवकुमार नेपालको पक्षमा छन् । तर, रावल कुन पक्षमा लाग्ने हुन् ? चासोको विषय बनेको छ ।

रावलले आइतबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । सभामुखलाई राजीनामा पत्र बुझाएपनि स्वीकृत भइसकेको छैन । उनलाई राजीनामा फिर्ता गर्न चौतर्फी दबाब छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आजको केन्द्रीय कमिटी बैठकमा रावलले राजीनामा दिनुपर्ने कारण नभएको भनी बोलेका छन् । उनले घुमाउरो तरिकाले रावललाई राजीनामा फिर्ताको आग्रहको सन्देश दिए ।

रावलले भने राजीनामा किन दिएको भनी लिखित पत्र तयार गरिरहेका छन् । उनले यसबारे एमाले पंक्ति र बाहिरकालाई स्पष्ट पार्न खोजेको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन रावल तयार भएनन् । उनी पक्षधर केही सांसद पनि मतदान नगरी बाहिरिएका थिए । यसले पनि रावलको भूमिका र अबको कित्ताबारे अन्यौल छ ।

रावल एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग रुष्ट छन् । उनले हिजो राजीनामा पत्र बुझाउँदा पनि नेपालतर्फ संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । साथ साथै ओलीसँग पनि रुष्ट छन् । यसकारण उनको अबको कित्ता स्पष्ट हुन सकेको छैन ।

विश्वस्त स्रोतका अनुसार भीम रावल अब माधवकुमार नेपाल पक्षमा नलाग्ने लगभग निश्चित भएको छ । अब उनी एमालेभित्रै संघर्ष गर्ने गरी रहन सक्छन् । त्यसैले एमालेको २२ सांसदमाथि कारबाही गर्ने प्रक्रिया बढाउँदा रावलको नाम छैन । मतदान नगर्नेहरु कारबाहीको सूचीमा नभएकाले पनि रावलका लागि एमालेमा सुरक्षित अवतरण विकल्प बन्न सक्छ ।

रावलको साथमा केही सांसद छन् । उनको सुदूरपश्चिम प्रदेशमा पनि पकड छ । यसले पनि फेरि शक्ति सञ्चय गर्दै एमालेभित्र ओली पछिको दोस्रो शक्तिका रुपमा उनको उदय हुने सम्भावना अझै छ ।

अन्तिम समयमा रावलले एमाले एकताका लागि भूमिका खेलेका थिए । त्यसकारण पनि उनी एकतापक्षधरका रुपमा ओलीपंक्तिमा पनि चिनिएका छन् । माधव नेपालसँग उनको ठूलै टकराव भइसकेको छ । यसले पनि रावल कि तेस्रो धार लिएर कुनै समूहमा नरहने निर्णयमा पुग्ने देखिन्छ कि त एमालेमै संघर्ष गरेर रहने अवस्था देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot