Logo

काठेखोलाले बनायो ‘डिजिटल प्रोफाइल’



बलेवा, ५ साउन: काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग गर्ने जनाइएकोछ ।

गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारीदिए । “अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ”, उनले भने, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।” गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसङ्ख्यासम्मका विवरण प्रोफाइलमा भेटिने उहाँले दाबी गरे । व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट शुरुआत गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि प्रोफाइल तयार गरेको जनाएको छ ।

“हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्य सङ्ख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ”, अध्यक्ष थापाले भने, “थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि शुरु हुन्छ ।” यसका लागि गाउँपालिकाले गत आवमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको उनले बताए । आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरण सङ्कलन गरेको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्