Logo

सर्लाही कांग्रेसका सभापति नागेन्द्र कुमारसहित नेताहरुले भने–‘आफ्नो गल्ती ढाकछोप गर्न अहिले क्षेत्रिय सभापतिसहित नेताहरु पार्टी कार्यालयमा धर्नामा बसे’ (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रिय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रिय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘सर्लाही जिल्लामा क्रियाशिल नविकरण र समायोजनको विषयमा धाँधली भएको छैन् । ममाथि लगाईएको आरोप झुठो हो । नयाँ सदस्यताको हकमा क्षेत्रिय सभापतिलाई विधानतः अधिकार दिईएको छ, वडा सभापतिमार्फत जति नयाँ फाराम पठाईयो, त्यसको भरपाई दिईयो । फाराम बुझ्ने काम गर्नुभयो, तर ईन्ट्री दिएन । ईन्ट्री नदिएको ठाउँमा उल्टै उनले १५० जना आफ्नो मान्छे राखेर ईन्ट्री गराए । क्षेत्रिय सभापति दिनेश मिश्रले गल्ती गर्नुभएको छ ।’

उनले आफूले जंगीलाल रायको रोहबरमा फाराम दिएको पनि सुनाए । उनले भने,‘अहिले केन्द्रीय कार्यालयमा जो जो साथीहरु धर्नामा बस्नुभएको छ, उहाँहरुले नै गल्ती गर्नुभएको छ । बद्मासी उनीहरुले नै गरेको हो ।’ उनकाअनुसार यो विवादको घट्ना सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को भएको सुनाए ।

उनले कागजजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले आफूले केन्द्रबाट लगेको फाराम लगेर क्षेत्रिय सभापतिलाई बुझाएको उल्लेख गर्दै क्षेत्रिय सभापति मिश्रले ११ वटा वडामा फाराम नै नदिएको र त्यही बचेको फरामलाइ गलत रुपमा प्रयोग गरेको पनि आरोप लगाए ।
उनले ब्रम्हपुरीको वडा नम्बर ७ मा ५९ जना क्रियाशिल सदस्यहरुमा ५८ जनाको नाम हटाएर क्षेत्रिय सभापति मिश्रले आफ्नो मान्छेको नाम राखेको दाबी गरे । उनले भने,‘यस्ता उदाहरण धेरै छन् । हामीले यो समस्यालाई लिएर पार्टी सभापतिलाई भेटेर कुरा राखेका छौं । अरु नेताहरु रमेश लेखक, आनन्दप्रसाद ढुंगानालाई पनि भेटेर ध्यानाकार्षण गराएका छौं ।’

कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले जिल्ला सभापति नागेन्द्रको भनाईलाई समर्थन गरे । उनले भने,‘उहाँले भनेको कुरा सही होछ ।’ उनले अहिले पार्टी मुख्यालय सानेपामा धर्नामा बस्नेहरुले नै गल्ती गरेको र उक्त गल्ती ढाकछोप गर्नको लागि यस्तो नाटक गरेको टिप्पणी गरे ।

त्यस्तै, केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले पनि जिल्ला सभापतिले भनेका कुराको समर्थन गरे । उनले भने,‘उहाँको काममा हामी सन्तुष्ट छौं । बरु, सर्लाहीमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई समायोजन गर्न हिचकिचाहट भयो ।’ उनले अरु पार्टी त्यागेर कांग्रेसमा आएकालाई स्थान नदिईएको भन्दै गुनासो पोखे ।

कांग्रेस नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले पनि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो क्षेत्रमा नजाने तर काठमाडौंमा बसेर राजनीति गरेको आरोप लगाए । सर्लाहीमा क्रियाशिल सदस्यताको विवाद सर्वसम्मतले टुँगो लगाएको पनि उनको भनाई । उनले भने,‘सर्बसम्मतीले गरेको निर्णयलाई मानेर जानुपर्छ ।’

कार्यक्रममा प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाह, जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह र महासमिति सदस्य अजित सिंहलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्