Logo

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खम्मबहादुर खाती (भिडियोसहित)



काठमाडौं, ५ साउन । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिदै उनले आफू सधै जनताको हितमा कार्य गर्न तयार भएको बताएका हुन् ।

‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको बताए । धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनिरहेको उल्लेख गर्दै सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गरे ।

विधिको शासन, संघीय लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानुनी सल्लाह दिने बताए । समय र परिस्थिति हेरेर कानुनको पालनासम्बन्धी सल्लाह दिने स्पष्ट पारे ।

जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताए । उनले भने,‘मैंले काम गर्न सक्छु भनेर सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वास गर्नुभएको छ, म काम गरेर देखाउनेछु ।’

मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताए । उनले भने,‘मलाई यहाँहरुले सल्लाह सुझाव र निर्देशन दिदै घचघचाइरहनुहोस् ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बधाई तथा शुभकामना दिए । उनले खातीलाई सफल कार्यकालको शुभकामना दिए । नेपाल बार एशोशिएसनको महासचिव भइसकेको अनुभवले खारिएको भन्दै महान्याधिवक्ताका रुपमा सशक्त भूमिका निभाउने आशा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्