Logo

३१ वर्षमा २८ प्रधानमन्त्री, कसैको पनि ४ वर्ष कटेन



काठमाडौं, ५ साउन । नेपालमा २०४७ सालयता २८ पटक प्रधानमन्त्री परिवर्तन भएको छ । तर, कुनैपनि प्रधानमन्त्री प्रतिनिधि सभाको पूरा कार्यकाल अर्थात् ५ वर्ष प्रधानमन्त्री बन्न सकेनन् ।

सबैभन्दा बढी समय गिरिजाप्रसाद कोइराला २०४८ साल देखि २०५१ सालसम्म ३ वर्ष ४ महिना प्रधानमन्त्री बनेका थिए । बहुदल आएपछि प्रतिनिधि सभाको पहिलो कार्यकाल प्रधानमन्त्री बनेका उनले ५ वर्ष पूरा गर्ने अवसर आफैले खेर फाले । प्रतिनिधि सभा विघटन गरी मुलुकलाई मध्यावधि चुनावमा लगे ।

सबैभन्दा कम समय प्रधानमन्त्री केपी शर्मा ओली भए । उनी तेस्रोपटक प्रधानमन्त्री २ महिनाका लागि भए । ३ वर्षभन्दा बढी समय प्रधानमन्त्री बन्नेमा गिरिजाप्रसाद कोइराला पछि केपी शर्मा ओली नै हुन् । उनी २०७४ देखि २०७८ सम्म ३ वर्ष ३ महिना प्रधानमन्त्री भए । कोइराला जस्तै ओली पनि बहुमत हुँदा हुँदै प्रतिनिधि सभा विघटनको कदम चालेर सत्ताबाट हट्ने अवस्थामा पुगे ।

विगत ३१ वर्षमा सबैभन्दा बढी पटक प्रधानमन्त्री बन्नेमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा हुन् । दुवै ५–५ पटक प्रधानमन्त्री बनेका थिए । केपी शर्मा ओली ३ पटक प्रधानमन्त्री बने ।

बहुदल आएपछि कृष्णप्रसाद भट्टराई, सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पुष्पकमल दाहाल प्रचण्ड २–२ पटक प्रधानमन्त्री बने । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र सुशील कोइराला १–१ पटक प्रधानमन्त्री बने ।

२०६१ देखि २०६३ सम्म तत्कालीन राजा ज्ञानेन्द्र मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी २०६९ देखि २०७० सम्म चुनावी सरकारको अध्यक्ष बनेका थिए ।

विगत ३१ वर्षमा १४ जना व्यक्ति देशको प्रधानमन्त्री बनेका छन् । तर, कसैले पनि ४ वर्षसम्म एकैपटक सत्तामा रहेर स्थिर शासन दिन सकेन । बहुमत प्राप्त सरकार नै कतिपय प्रधानमन्त्रीहरुलाई भारी भयो । राजनीतिक व्यवस्थापनमा नेताहरु चुकिरहे । त्यसको मूल्य देशले चुकाइरह्यो ।



प्रतिक्रिया दिनुहोस्