Logo

प्रदेशहरुमा एमाले ओली पक्षको सरकार ढाल्ने तयारी



काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षलाई देशभर कमजोर बनाउने गरी थप आक्रामक कदमहरु गठबन्धनले चाल्ने भएको छ । केन्द्रमा ओली नेतृत्वको सरकार ढालेपछि प्रदेशहरुमा पनि सरकार ढाल्ने तयारीहरु बढेका छन् ।

यसअघि गठबन्धनले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढालिसकेको छ । त्यहाँ नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनेका छन् ।
प्रदेश नम्बर २ मा गठबन्धन बाहिरको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई मन्त्रीबाट हटाइएको छ । त्यहाँ गठबन्धनका दलहरुबाट मन्त्री बनाइएका छन् ।

बागमती प्रदेशमा ओलीपक्षीय डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट हटाउने तयारी भएको छ । अब चाँडै अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको बुझिएको छ । एमाले संसदीय दलबाट पौडेललाई हटाउने गरी प्रक्रिया बढाउन लागिएको बुझिएको छ । अष्टलक्ष्मी शाक्यलाई बागमतीमा मुख्यमन्त्री बनाउने गरी गठबन्धनले गृहकार्य लगभग पूरा गरिसकेका छन् ।

लुम्बिनीमा शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने तयारी बढिसकेको छ । यसको संकेत पोखरेलले पाइसकेका छन् ।

प्रदेश नम्बर १ मा शेरधन राईलाई हटाउने तयारी पनि भित्र भित्र भएको बुझिएको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने गरी गठबन्धनले रणनीति चालेको छ । यसरी देशभर ओली पक्षको सरकार ढाल्ने गरी गठबन्धन अगाडि बढेको हो ।



प्रतिक्रिया दिनुहोस्