Logo

बिपी कोइरालाको शवयात्राको दुर्लभ भिडियो



सन्ताेष खडेरी : ३९ वर्षअघि आजकै दिन वि.सं. २०३९ साउन ०६ (तदनुसार सन् १९८२ जुलाई २१) का दिन नेपालका पूर्वप्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोइरालाको ६८ वर्षकाे उमेरमा निधन भएको थियो।

बिपी कोइरालाको जन्म वि.सं. १९७४ (सन् १९१४ सेप्टेम्बर ८) मा पिता कृष्णप्रसाद कोइराला एवं माता दिव्या काेइरालाकाे सन्तानका रुपमा भएको थियो। सन् १९१९ ताका पिता कृष्णप्रसाद कोइराला राणा शासनको वक्रदृष्टिमा परी भारतमा निर्वासित भएपछि बिपीको अध्ययन र राजनीतिक जीवनको प्रारम्भ भारतमा नै भयो। सन् १९३७ मा कलकत्ता विश्वविद्यालयबाट बिपी कोइरालाले प्रथम श्रेणीमा बिएल उत्तिर्ण गरेका थिए। त्यसपछि सन् १९३९ ताका उनी केही समय वकालतको अभ्यास गर्न दार्जीलिङ समेत पुगेका थिए।

दार्जीलिङबाट पटना फर्किएर त्यहीँको सोसलिस्ट राजनीतिमा लागेका बिपी कोइराला सन् १९४२ को २५ नोभेम्बरमा शान्ति सुरक्षा कानुन अन्तर्गत बिहारको बाँकेपुराबाट गिरफ्तार भए। कोइरालालाई केही समय त्यहीँको स्थानीय जेलमा राखिएपछि सन् १९४३ को १२ जुनमा हजारीबाग जेल चलान गरिएको थियो।

सन् १९४४/४५ को हजारीबाग जेलको अभिलेख अनुसार बिपी कोईराला सन् १९३४ ताका कलकत्तामा अध्ययनरत हुँदा उनलाई पहिलोपटक घाँटीको समस्या त्यतिबेलै देखिएको थियो। पछि हजारीबाग जेलमा १३ जुलाई १९४३ मा त्यही समस्या दोहरियो। उनलाई घाँटीको समस्याले भने जीवनका आखिरी वर्षहरुसम्म पनि सताइरह्यो। जेलको अभिलेख अनुसार बिपी कोइरालाले त्यतिबेला जेलमा निकै धेरै पुस्तकहरु पढ्ने गरेको भेटिन्छ।

सन् १९४५ को शुरूवात तिर जेलबाट रिहा भएका कोइरालाले अर्को वर्षको अक्टोबर महिनामा भारतबाट नै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अगाडी बढाउने संकल्प लिए। सन् १९४७ को जनवरीमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना भयो र उनी त्यसको कार्यकारी अध्यक्षमा चयन भए। त्यसको दुई महिनामा नै विराटनगर जुट मिलमा मजदुर हडताल भयो र त्यसमा सहभागी हुन उनी भारतबाट विराटनगर आए। २५ मार्चका दिनमा राणा सरकारले जुट मिलमा हड्तालको अगुवाई गर्ने गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी लगायतका अन्य आन्दोलनकारी त्यस्तै आन्दोलनमा सहभागी हुन आएका बिपी कोइराला लगायतका अन्यलाई पक्राउ गरी काठमाडाैं जेल चलान गर्यो। सन् १९४७ को मे महिनादेखि सेप्टेम्बरसम्म उनी काठमाडाैंमा पद्मशमशेरकाे जेलमा रहे। उनलाई छुटाउन गान्धी समेतको आग्रह पछि उनी सेप्टेम्बरमा रिहा भएर भारततर्फ प्रस्थान गरे। सोही नोभेम्बर ०५ मा उनले दिल्ली पुगेर महात्मा गान्धी र पण्डित जवाहरलाल नेहरुलाई भेटे।

दोस्राे पटक सन् १९४८ को अक्टोबरतिर काठमाडाैं आएका बिपी कोइराला सोही डिसेम्बरको मध्यतिर मोहन शमशेरको सरकारबाट गिरफ्तार भएर जेल चलान भए। डिसेम्बरको मध्यदेखि मे महिनाको अन्त्यसम्म जेलमा रहेका कोइराला जुनको शुरूवाततिर रिहा भइ पुनः भारत पुगे। वि.सं. २००७ सालको राणाविरुद्ध सशस्त्र क्रान्तिको नेतृत्व गरेका काेइराला त्यसपछि बनेको अन्तरिम सरकारमा करिब ९ महिना गृहमन्त्री भए।

वि.सं. २०१५ सालमा सम्पन्न मुलुकको पहिलो आमनिर्वाचनबाट दुईतिहाइ बहुमत हासिल गरी २०१६ जेठमा उनी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीमा नियुक्त भए। २०१६ जेठ देखि २०१७ पुस १ सम्म करिब १६ महिना नेपालका प्रधानमन्त्री रहे। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैन्य बलका आधारमा संसद् र सरकारसहित प्रजातान्त्रिक व्यवस्था नै खारेज गरेर जेल चलान भएका उनी ८ वर्षसम्म जेलमा रहे। वि.सं. २०२५ सालमा नेपालको जेलबाट रिहा भए पछि कोइराला भारत निर्वासनमा गए।

२०३३ पुसमा राष्ट्रिय मेलमिलापको नीति भन्दै नेपाल फर्किएका कोइरालामा विमानस्थलबाटै गिरफ्तार गरि पुनः जेल चलान गरियो। उनी र गणेशमानलाई राजद्रोहसहितका ८ मुद्दा  लगाइयो। २०३४ साल वैशाख-जेठताका उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि राजाले उनलाई रिहा गरी उपचारका लागि अमेरिका पठाए। अमेरिकाबाट फर्किए लगत्तै उनलाई पुनः गिरफ्तार गरी जेल चलान गरियो र केही महिनापछि अदालतको।आदेशबाट जमानतमा रिहा भए र पछि उनले ती सबै मुद्दामा सफाइ समेत पाए। त्यो साढे दुई वर्षको अवधिमा उनी उपचारका लागि तीनपटकसम्म अमेरिका पुगे।

वि.सं. २०३६ सालको जनमतसंग्रहमा उनले बहुदलको पक्षमा मुलुकभर प्रचार गरे। जनमतसंग्रहमा बहुदल पराजित भएपछि पनि उनले त्यसको नतिजा स्वीकार गर्ने प्रजातान्त्रिक संस्कार देखाए। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्रमा रहेर आजीवन प्रजातन्त्रका लागि संघर्ष गरे।

बिपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन!

यो भिडियो बिपी कोइरालाको शवयात्राको हो।



प्रतिक्रिया दिनुहोस्