Logo

प्रतिगामी तत्वहरु परास्त भए : प्रचण्ड



काठमाडौंं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) बकर इदको अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु ।’

शुभकामना

मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद ९इदुल जोहा० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।

वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।

समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु । जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु ।

अन्त्यमा, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह सहित सु–स्वास्थ्य एवं दीर्घायूको उत्तरोत्तर कामना गर्दछु ।



प्रतिक्रिया दिनुहोस्