Logo

जसपा ठाकुर पक्षलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री देउवा तयार, विश्वासको मतको सूत्रधार भण्डारी



काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको यो पक्षमा सरकारमा जानेबारे सहमति भैसकेको छ । आज विहानमात्रै अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग यसबारेमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले पनि ठाकुर पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टा अघिसम्म यो पक्षले देउवाको पक्षमा विश्वासको मत दिनेबारे कुनै निर्णय गरेको थिएन । तर, जसपाका प्रभावशाली नेता शरदसिंह भण्डारीले ठाकुर पक्षलाई देउवाको पक्षमा विश्वासको मत दिनको लागि अघिल्लो दिनदेखि नै लविङ गरेका थिए । देउवालाई विश्वासको मत दिलाउनको लागि भण्डारीसँगै अनिल झाले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । खासमा प्रधानमन्त्री देउवा र नेता भण्डारीबीच सुरुदेखि नै राम्रो सम्बन्ध छ । भण्डारीले लामो समय कांग्रेसबाटै राजनीति गरेका थिए ।

मधेश आन्दोलनपछि मात्रै उनी फोरममा लागेका थिए । भण्डारीले नै देउवालाई विश्वासको मत दिनुपर्ने प्रस्ताव राखेपछि ठाकुर पक्षले पनि विश्वासको मत दिएको खुलासा भएको छ । ठाकुर पक्षले चार मन्त्रालय मागेको छ । तर, प्रधानमन्त्री देउवाले भने सत्ता समिकरण मिलाउनुपर्ने भएकोले तीन वटा मन्त्रालयसम्म दिन सकिने विश्वास दिलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे छलफललाई तिव्रता दिएका छन् ।

उनले हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटार र खुमलटार गरी दुई पटक भेटेका थिए । तर, आफूलाई प्रधानमन्त्री बनाउनको लागि निर्णायक भूमिका खेलेको एमालेको माधव नेपाल पक्षलाई पनि सरकारमा ल्याउनको लागि देउवा प्रयासरत छन् । नेपाल पक्षले पनि सरकारमा हुँदैनौं भनेर नभनेको र सहभागी पनि नभईहालेकोले उनी रोकिएका छन् । अब एक÷दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्