Logo

ओलीसँग वार-पार भएपछि माधव पक्ष सरकारमा जाने



काठमाडौं, ६ साउन । नेकपा एमालेको विवाद वार कि पार नभई माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । नेपाल पक्षले एमालेभित्र पकड बलियो बनाउन समय खर्चिइरहेको र केही दिनमै वार कि पार हुने बुझिएको छ ।

एमालेमा माधव नेपाल पक्षले सकेसम्म अध्यक्ष केपी शर्मा ओलीलाई अल्पमतमा पार्न प्रयास गर्ने नसके अर्को दल बनाएर जाने रणनीति बनाएको छ । माधव नेपाल शक्तिशाली बनेकाले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयासहरु चलिरहेको छ ।

वैधानिक रुपमा मानिएको २०३ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेसम्म ८० देखि ९० सम्म संख्या पुगेको र बाँकी सदस्य तान्ने प्रयास भइरहेको बुझिएको छ । तर, नेपाल पक्षले बहुमत बनाउन फलामको च्युरा चपाउनु सरह हुने देखिएको छ ।

माधव पक्षमा बामदेव गौतम पनि पुगेकाले केही आशा गरिएको छ । तर, भीम रावल र सुरेन्द्र पाण्डेलगायतका हस्तीहरु बिच्किएपछि माधव नेपालले केन्द्रीय कमिटी र संसदीय दलमा ३० देखि ४० प्रतिशत बनाउन सक्ने आशा गरेका छन् ।

ओलीलाई एमाले अध्यक्षबाट हटाउने प्रयास विफल भएमा नेपाल पक्ष पार्टी फुटाउने तिर लाग्ने तयारीमा छ । त्यसका लागि २५ देखि ३० प्रतिशत संसदीय दलमा संख्या पुगेमा हुने गरी अध्यादेश ल्याएर बढ्ने रणनीति सम्म बनेको छ ।

अहिले नेपाल पक्षमा २२ जना सांसद छन् । माधव नेपाल र बामदेव गौतम मिलेर केही सांसद तान्ने प्रयास चलिरहेको बुझिएको छ । बामदेव गौतम पत्नी तुलसा थापा नेपाल पक्षमा आउने पक्का भइसकेको छ । उनीसँग विगत देखि नजिक रहेका केही सांसदहरुले कित्ता परिवर्तन गर्दैछन् ।

नेपालसँग असन्तुष्ट उनीपक्षीय ८ सांसदको भरोसा छैन । तर, उनीहरु समेत मिलेर आउँदा नेपालले ३५ देखि ४० सांसद पुर्याउने आँकलन छ ।

केन्द्रीय कमिटी र संसदीय दलमा गणना हेरेर अध्यादेशमा कति प्रतिशत राख्नेबारे टुंगो लाग्ने बुझिएको छ । त्यसपछि मात्र माधव नेपाल पक्ष सरकारमा जाने निश्चित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्