Logo

बिपीको ३९ औँ स्मृति दिवसमा वृक्षरोपण



भक्तपुर, ६ साउन । नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बिपीले अङ्गिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

उन्नचालिस बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा आज पार्टी कार्यालयमा आयोजित बिपीको तस्बिरमा माल्यार्पण तथा वृक्षरोपण कार्यक्रममा उनले बिपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक भएकाले यसलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउँदै कम्युनिष्टको घर झगडाले लथालिङ्ग अवस्थामा पुगेको नेपालको राजनीति र जबरर्जस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्र्याकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उल्लेख गरे ।

उनले भने,“यो कांग्रेसको रहर भन्दा पनि परिस्थितिजन्य उपज हो । कम्युनिष्टले जनादेश बमोजिम काम गर्न सकेन ।” उनले कोभिड–१९ को माहामारीबाट जनताको जनधनको रक्षा गर्ने प्रमुख प्राथमिकता सरकारको हुनुपर्नेमा जोड दिँदैं पहिला जनता अनि विकासको मान्यता लिएर सरकार हिँड्नुपर्छ । कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भने ।

उनले आसन्न पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा जिल्लामा सौहार्दपूर्ण र स्वच्छ प्रतिस्पर्धा गरेर अघि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रम संयोजक एवं पार्टीका उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं १ का कांग्रेस सभापति जीवन खत्रीले बिपीको समाजवादी चिन्तनलाई सबैले अङ्गिकार गर्न सके सबै नेपाली सुखी र खुशी हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र केसी, वाग्मती प्रदेशसभा सदस्यद्वय कृष्णलाल भँडेल र रजनी जोन्छें, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।रासस



प्रतिक्रिया दिनुहोस्