Logo

सरकारमा जान बामदेव, प्रेम आले, किसान श्रेष्ठलगायत ठिक्क



काठमाडौं, ६ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने आन्तरिक तयारीमा छ । एमालेको औपचारिक विभाजन हुने या नहुने टुंगो लागेपछि नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

एमाले सरकारमा जाँदा कस्को नेतृत्वमा जाने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे समेत आन्तरिक छलफल चलिरहेको छ । नेपाललाई निर्णायक घडीमा साथ दिने एमाले उपाध्यक्ष बामदेव गौतम नेतृत्वमा सरकारमा जाने सम्भावना बढेको छ ।

विश्वस्त स्रोतका अनुसार गौतमले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय मागेका छन् । काँग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री भइसकेका छन् । खाँडलाई अर्को मन्त्रालय दिएर वा विकासे मन्त्रालय गौतमलाई दिएर लानेबारे समेत छलफल बढेको छ ।

मन्त्री बन्ने सम्भावितमा नेपाललाई कठिन अवस्थामा साथ दिने पूर्ववनमन्त्री प्रेम आले पनि छन् । उनी ओली सरकारमा मन्त्री बनाइएपनि देउवालाई विश्वासको मत दिने बखत गुट परिवर्तन गरेर आएका थिए । आलेकै पहलमा धनबहादुर बुढालगायत नेताहरु पनि गुट परिवर्तन गर्न पुगेका थिए ।

बामदेव निकट सांसद किसान श्रेष्ठ पनि मन्त्री बन्न ठिक्क परेका छन् । उनी ओली समूह छाडेर नेपाल समूहमा पुगेका थिए । तनहुँबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद बनेका श्रेष्ठलाई मन्त्री बनाएमा काँग्रेस वृत्तमा पनि तरंग आउन सक्छ ।

नेपाल पक्षका ललितपुरे सांसद कृष्णलाल महर्जन पनि मन्त्री बन्ने सम्भावित हुन् । उनले कोरोना भाइरसको संक्रमित भएर थलिंदा पनि उठेर देउवाको पक्षमा मतदान गरेका थिए । महर्जनले आपूर्ति या शहरी विकासमध्ये एक मन्त्रालय पाउने सम्भावना रहेको बुझिएको छ ।

यसैगरी, ओली सरकारमा मन्त्री भएका केही सांसद पनि नेपाल पक्षमा जान सक्ने बुझिएको छ । उनीहरुसँग आन्तरिक छलफल चलिरहेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्