Logo

सञ्चार प्रविधिसहित १४ सचिव यसै वर्ष घर जाने



काठमाडौं, ६ साउन । सञ्चार तथा सूचना प्रविधिसहित १४ सचिव यसै वर्ष घर जाने भएका छन् । सञ्चार सचिव हरिप्रसाद बस्याल ६ गते बुधवार (आजै) उमेर हदका कारण घर जाने भएका हुन् । उनको भूमिकालाई देखेर सञ्चार मन्त्रालयका कतिपय कर्मचारीले बस्याल होइन स्याल सचिव भनेर तुच्छ टिप्पणी गर्ने गरेका छन् ।

त्यस्तै अर्थ मन्त्रालयको राजस्व सचिव रामशरण पुडासैनीले यही साउन २४ गते ५८ वर्षे उमेरहदका कारण अवकाश पाउन लागेका छन् । सोमलाल सुवेदीलाई हटाएर एसियाली विकास वैंकमा जागिर खान गएका पुडासैनी नेपाल फर्केर सचिवमा बढुवा भएसँगै अर्थ मन्त्रालयको राजस्व सचिव बनेका हुन् । पुडासैनी एमालेका क्याडर सचिवका रूपमा परिचित छन् । त्यसैले उनलाई प्रदेश नपठाई सीधै अर्थमन्त्रालय जस्तो मालदार ठाउँमा पदस्थापन गरियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले उनका भाइ हरिशरण पुडासैनीलाई चीनको ग्वान्जाओका लागि महावाणिज्यदूत बनाएको छ । उनका अर्का भाइ लेखापाल सुरेश पुडासैनी मलेसियास्थित नेपाल दूतावासमा पोष्टिङ भएका छन् । अर्का काभ्रेली सचिव मुकुन्दप्रसाद पौड्याल पनि यही साउनमा अवकास पाउन लागेका छन्। पौड्याल बागमती प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत छन् ।

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की पनि यही आर्थिक वर्षभित्र घर जानेछन् । राजपरिवारको जग्गा यती समूहलाई कौडीको भाउँमा सुम्पने नेपाल ट्रष्टको कार्यलयमा कार्यरत सचिव राजेन्द्रप्रसाद खनाल पनि यसै वर्ष घर जाने तयारीमा छन् । भोजपुर हुँदै झापा झरेका केदार न्यौपाने असोजभित्रै घर जाने तयारीमा छन् । ५ वर्षे सेवा अवधिका कारण उनी घर जान लागेका हुन् । विवादित सचिव न्यौपाने अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् ।

महालेखा परीक्षकको कार्यालयका उप–महालेखापरीक्षक (सचिव) द्वय बाबुराम गौतम र ईश्वर नेपाल पनि यसै आर्थिक वर्षभित्र घर जाने सूचीमा छन् । संखुवासभाली सचिव नेपालले लोकसेवा आयोगको सदस्य बन्न खोजे पनि उनको प्रयास सफल हुन सकेन ।

सचिव बढुवा भएदेखि अहिलेसम्म मन्त्रालयको अनुहार नदेखेका बाग्लुङ्गे सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि ५ वर्षे सेवा अवधिका कारण यसै वर्ष घर जाने सूचीमा छन् । निर्वाचन आयोगले सेटिङमा ओम्नी ग्रुपसँग सेकेन्ड ह्यान्ड प्रिन्टर खरिद गरी अनियमितता गर्दा सचिव पौड्यालले हस्ताक्षर गरेका थिए ।

त्यस्तै तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीलाई सरकारी निकायमा भएका संवेदनशील र महत्त्वपूर्ण डाटा उपलब्ध गराउन सफल शिशिरकुमार ढुंगाना पनि यसै वर्षको माघमा घर जाने तयारीमा छन् । उनले निर्वाचन आयोगका तत्कालीन् सचिव देवकुमारी गुरामाईलाई फोन गर्दै आयोगको डाटा नदिए आफ्नो जागिर जाने भन्दै ब्लाकमेलिङ गरेका थिए । सरकारी डाटा दिएबापत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनी फेरी अर्थ मन्त्रालयको सचिवमा जाने अवसर पाएका थिए ।

मुख्य सचिव शंकरदास बैरागीलाई राजदूतमा पठाएर मुख्यसचिव खाने दाउमा ढुंगाना रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरु बताउँछन् । मुख्य सचिव बैरागी एमाले क्याडर भएकाले मन्त्रिपरिषद्का गोप्य सूचना ओलीलाई चुहाउन सक्ने सम्भावना रहेको छ । उन राजदूत होइन जगेडामा राखेर अर्को ढुंगाना बाहेकको अर्को व्यक्तिलाई मुख्य सचिव बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई निकटस्थहरूले सुझाव दिएका छन् ।

दोलखाली इन्जियर देवेन्द्र कार्की पनि यसै ५ वर्ष सचिव खाएर वर्ष घर जाने भएका छन् । सचिव कार्की भौतिक पूर्वाधार मन्त्रालय, नेपाल ट्रष्ट हुँदै अहिले ऊर्जा मन्त्रालयमा पुगेका हुन् ।

राष्ट्रपति विद्या भण्डारीकी भाञ्जे बुहारी नाता पर्ने यामकुमारी खतिवडा पनि यसै आर्थिक वर्षमा ५ वर्ष कटाएर घर जाने तरखरमा छिन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाकी धर्मपत्नी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव खतिवडा कांग्रेस निकट भनेर परिचित छन् ।

तेह्रथुममा जन्मिएका लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाई पनि यसै वर्ष घर जाने सचिवको सूचीमा छन् । लोकसेवाप्रेमी सचिवका रूपमा चिनिएका गुरागाईले पनि मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएका छैनन् । लोकसेवाको भत्तामा पल्किएका यिनी मन्त्रालयमा जान खासै चासो नदेखाएको भन्ने सुनिदै आएको छ । सचिव गुरागाईको मन्त्रालय चलाउने खुवी नभएकाले लोकसेवा आयोगमै सीमित भएको आरोपसमेत लाग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्