Logo

प्रधानमन्त्री देउवाप्रति रामचन्द्रको आक्रोश : अब पार्टीपनि बालुवाटारमै लग्यो भने देश त चल्दैन नि ! (भिडिओसहित)



काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले कम्युनिष्ट पार्टीबाट सिक्नुपर्ने र सतर्क हुनुपर्ने बताएका छन् । उनले पार्टीको लोकतान्त्रिक परिपाटीलाई बचाएर लैजानुपर्नेमा जोड दिए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो पार्टीमा लोकतान्त्रिक आचरण हुनुपर्छ । कोही पनि व्यक्ति सत्तामा पुगेपछि सधैंको लागि होईन, त्यो कुरा सबैले बुझ्नुपर्छ ।’ उनले आफूहरु अहिले कठिन परिस्थितिमा रहेको सुनाए ।

उनले भने,‘मुलुकका समस्या विकराल रुपमा आएका छन् । कोरोनाले दुनियाँलाई अत्याएको छ । अब शेरबहादुर देउवाजी सरकारमै केन्द्रित हुनुपर्छ । अब पार्टीपनि बालुवाटारमै लग्ने, अनि सरकार पनि बालुवाटारै लग्यो भने त देश त चल्दैन नि त ।’ उनले देउवाले अब उदारता देखाउनुपर्ने सुनाए ।

गिरिजाबाबुबाट देउवाले पनि सिक्नुपर्ने उनको सुझाव छ । उनले भने,‘आफ्नो कमिकमजोरी हटाउनको लागि सबैले प्रयास गर्नुपर्छ ।’ उनले देउवालाई सभापति लड्न अधिकार रहेको भएपनि चुनाव स्वच्छ र निश्पक्ष हुनुपर्ने जिकिर गरे । केपी ओलीको विकल्पमा आफूहरुले सभापति देउवालाई प्रधानमन्त्री बनाएको पौडेलको भनाई छ ।

उनले हिजो ओलीले एक व्यक्ति, एक पद स्विकार गरेको भए नेकपा विभाजन हुने नै थिएन भन्ने पनि टिप्पणी गरे । उनले पार्टीभित्र एकता हुने विश्वास दिलाए । उनले भने,‘पार्टी गहिरो संकटतिर जाँदैछ । तर, मलाई विश्वास छ एक जनालाई सभापतिको उम्मेद्धवार बनाउन कोशिस गरिरहेका छौं । हामी विश्वस्त छौं ।’



प्रतिक्रिया दिनुहोस्