Logo

एमालेमा धमाधम गुट अदल-बदल



काठमाडौं, ६ साउन । नेकपा एमालेमा धमाधम गुट अदलबदल हुन थालेको छ । अध्यक्ष केपी शर्मा ओली गुटबाट उनैले मन्त्री बनाएका सांसदहरुले साथ छाड्न थालेका छन् । माधव कुमार नेपाल पक्षबाट पनि लामो समय साथ रहेकाहरुले साथ छाड्न थालेका छन् । नेपाल पक्षमा बसेर पटक पटक मन्त्री बनेकाहरुले नै उनलाई छाडेर ओली गुटमा लागेका छन् ।

माधव नेपालसँग लामो समय साथ रहेका एमाले उपाध्यक्ष भीम रावलले गुट छाडेका छन् । उनी आजको माधव नेपाल पक्षीय स्थायी कमिटी बैठकमा सहभागी भएनन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पनि दिएनन् । उनी पछिल्लो समय ओलीसँग नजिकिएका छन् ।

माधव नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसाल पनि माधव नेपालबाट टाढिएका छन् । उनीहरुले पनि देउवालाई विश्वासको मत दिएनन् । पार्टी एकता पक्षधर भनिएका यी नेताहरुले पार्टी विभाजन भएको अवस्थामा नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् ।

पूर्वमन्त्री प्रेमबहादुर आले र धनबहादुर बुढाले ओलीको साथ छाडिसकेका छन् । उनीहरुलाई ओली प्रधानमन्त्री हुँदा मन्त्री बन्ने अवसर मिलेको थियो । आले त माधव नेपालको पक्षमा बढीभन्दा बढी सांसद तान्ने जिम्मा लिएर सक्रियता बढाइरहेका छन् ।

यसअघि ओली पक्षका सांसद किसान श्रेष्ठ पनि नेपाल पक्षमा गएका छन् । उनी तत्कालीन समाजवादी पार्टी विभाजनका लागि डा. सुुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउने योजनामा संलग्न थिए । यसलाई अपहरणकाण्ड भनेर चर्चामा ल्याइएको थियो । ओलीका लागि कलंकको टीका नै लगाउन तयार भएका किसान श्रेष्ठ समेत गुट बदल्ने अवस्था बनेपछि अझ थपिने सम्भावना देखिएको छ ।

अबको केही दिन एमालेमा गुट परिवर्तनले गति लिने देखिएको छ । एमालेमा कस्को कति केन्द्रीय सदस्य र सांसद हुने हो ? केही दिनभित्रै टुंगो लाग्ने देखिन्छ । गुट अदलबदलको क्रम जारी रहिरहेको र एमालेको औपचारिक विभाजनको अवस्थामा मात्र खुलस्त हुने निश्चित छ ।

माधव नेपाल सकेसम्म ओलीलाई एमाले अध्यक्षबाट हटाउन सक्रिय छन् । त्यसका लागि केन्द्रीय कमिटीमा बहुमतको प्रयास गरिरहेका छन् । बामदेव गौतम समेत मिलेर नेपाललाई साथ दिइरहेका छन् । सांसदहरु पनि बढीभन्दा बढी संख्या बनाएर नेपाल समूह अगाडि बढ्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्