Logo

संवैधानिक व्यवस्थाको छ वर्षमा पनि मिलेन आमाको नाममा नागरिकता



पूर्णप्रसाद मिश्र । संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटकपटक प्रयास गर्दा पनि अहिलेसम्म आमाको नामबाट नागरिकताको प्रमाणपत्र र्पाएका छैनन् ।

महिला, कानून र विकास मञ्चले आज जुम प्रविधिबाट आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । आमाको नामबाट नागरिकता नपाउने यवेश एक्ला भने होइनन् । सर्लाहीकी अञ्जली साहलाई छ महिना नपुग्दै बाबुले छोडेकाले अहिले आमाको नामबाट नागरिकता लिन पटकपटक प्रयास गर्दापनि असफल हुँदै आएको उनले बताए ।

नागरिकता नभएकै कारण साहले विदेश गएर पढ्ने अवसरसमेत गुमाए । नागरिकताकै कारण रुचि नभएको विषय पढ्नु परेको र काम गर्नसमेत नपाएको उनको गुनासो थियो । आमाको वंशजको नागरिकता भए पनि बागलुङ निवासी अञ्जलीलाई भनै नागरिकताकै लागि भौँतारिरहेका छन् ।

भरतपुर महानगरपालिका–१ निवासी विकास नेपालीले पनि आमाका नामबाट नागरिकता लिन सकेनन्। अहिले आमा बितेपछि दलालले आमाको नामको जग्गासमेत हडपेका छन् ।

“विद्यालय र क्याम्पसमा अध्ययनका क्रममा प्रथम भएको थिएँ, दोस्रो हुने साथीले बैंकमा प्रबन्धकको जागीर खाएका छन्, म नागरिकता नभएकैले अलपत्र छु, आमाले जोडेको सम्पतिमा समेत अरुले अधिकार जमाउन खोजेका छन्”–उनले भने ।

काठमाडौँ महानगरपालिका निवासी सरिता (नाम परिवर्तन) आमाको दोस्रो विवाह भएपछि नागरिकताका कारण आपूmले पहिचानसमेत गुमाउनुपरेको गुनासो गरे । विद्यालयमा बुबाको नाम भनी काकाको नाम लेखिएको थियो । शैक्षिक प्रमाणपत्रमा काकाको नाम नै बाबुको महलमा लेखिएको छ । पहिचान नै सङ्कटमा परेकाले उहाँको उच्च शिक्षासमेत पूरा हुनसकेको छैन ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानसभाबाट पारित संविधान कार्यान्वयनमा आएपनि नागरिकताको विषय भने अपूरो भएको बताए । संविधानको धारा १२ र ३८ मा उल्लेखित नागरिकतासम्बन्धी नयाँ व्यवस्थाबमोजिम नागरिकता ऐनमा संशोधन नभएकाले यो विषयलाई कार्यान्वयनमा ल्याउन कठिन भएको उनको भनाइ थियोे ।

धनुषास्थित गणेशमान सारनाथ नगरपालिका–३का इन्द्रजीत साफीले साहूसँग रु पाँच लाख ऋण लिएर इञ्जिनीयरिङ विषय अध्ययन गर्नुभयो । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही दिनमै उनको नागरिकताका प्रतिलिपि मागियो । रासस



प्रतिक्रिया दिनुहोस्