Logo

प्रधानमन्त्री देउवासँग महन्थले के मागे ?



काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सत्ता–सहकार्यबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको जसपाले सरकारमा सहभागी हुने चासो देखाएको छ । तर, यसअघि नै देउवाको साथमा उभिँदै आएको जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षपनि सरकारमा जाने भएकोले कसलाई कसरी समेट्ने भन्नेबारे निर्णय गरेका छैनन् ।

आजको छलफलमा उनीहरुबीच सौहार्दपूर्ण रुपमा कुराकानी भएको थियो । सुरुमा अध्यक्ष ठाकुरले आफूहरुले विश्वासको मत दिएको र सरकारमा सहकार्य गर्न चाहेको कुरा राखेका थिए । ठाकुरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘हामीले तपाईलाई विश्वासको मत दियौं । अब सरकारमा सहकार्य गर्न चाहन्छौं । हामी सरकारमा जानपनि तयार छौं । हाम्रो उपस्थिति सम्मानजनक हुनुपर्यो ।’

ठाकुरले आफ्नो कुरा राख्दै गर्दा प्रधानमन्त्री देउवाले भने ‘तपाईँले धोका दिनुभयो’ भन्ने कुरा उठाएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठाकुर नजिएको र सुरुमा आफूलाई सरकार बनाउनको लागि सहयोग नगरेकोमा देउवाको गुनासो थियो । तर, जवाफमा महन्थले मुसुक्क हाँस्दै आफूले पनि डेमोक्रेसीको लागि लडेको नेता भएको उल्लेख गरेका थिए ।

भेटवार्तामा सत्ता सहकार्यको अलावा ठाकुरले आफ्नो पार्टीले उठाउँदै आएको माग र मुद्दाको बारेमा पनि कुरा राखेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले ठाकुरले अघि सारेका कुरामा आफू सकारात्मक रहेको जवाफ दिएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ठाकुर पक्षलाई सरकारमा सहभागी गराउन सकारात्मक भएपनि गठबन्धनका नेताहरुसँग सल्लाह गरेर निर्णय लिने वचन दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot