Logo

माधव नेपालले चाँडै पार्टी फुटाउने, सांसद र केन्द्रीय सदस्य तानातान



काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने रणनीति बनाएका छन् । उनले अब एमाले अध्यक्षबाट सकेसम्म ओलीलाई हटाउने नसके पार्टी फुटाउने गरी वार कि पारको लडाईं छेडेका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपाल नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीका हाल रहेको २०३ सदस्यमध्ये १०२ भन्दा बढी बनाउने प्रयासमा छन् । सर्वोच्च अदालतको आदेशले पनि एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिएको आधारमा बहुमत संख्या बनाउन नेपाल सक्रिय भएका हुन् ।

एमालेको केन्द्रीय कमिटीमा बहुमत बनाउन नेपाललाई उपाध्यक्ष बामदेव गौतमले पनि साथ दिइरहेका छन् । अर्का उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाललगायतको हस्तीहरुले साथ दिएमा बहुमत पुग्ने आँकलन नेपाल पक्षको छ । त्यसैले नेपाल रावललाई फकाउन हिजो टोखास्थित उनकै निवासमा पुगेका थिए ।

ओलीलाई अध्यक्षबाट हटाउन सकेमा एमाले नफुट्ने एकाथरीको विश्वास रहन थालेको छ । माधव नेपालले आफ्नो पक्षलाई एक राख्नुपर्ने र बामेदव गौतम पनि निकै सक्रिय भएर लागेमा मात्र सम्भव हुनसक्ने देखिएको छ । जुन सजिलो छैन ।

एमालेभित्र ओलीलाई अल्पमतमा पार्न नेपाल पक्षले प्रयास गरेपछि नयाँ घटनाक्रम विकास भएको छ । ओलीले पनि पार्टी एकताको प्रयास पुनः जारी राखेर अलमलाउन खोजेका छन् । उनले एमाले सांसदहरुलाई संशोधित भएर आउने बजेट पारित गर्न नदिएर देशलाई फेरि चुनावमा लानका लागि रणनीति चाल्ने बुझाई नेपाल पक्षमा पनि देखिएको छ । त्यसलाई सफल हुन नदिन पनि नेपालले नयाँ दल बनाएर जान ढिलो नगर्ने बुझिएको छ ।

नेपालले अबको केही दिन एमालेमा बहुमत बनाउन प्रयास गर्ने र नसकेमा पार्टी विभाजनको कदमतिर जाने निश्चितप्रायः भएको छ । त्यसका लागि अन्तिम प्रयास चलिरहेको छ ।

एमालेबाट बढीभन्दा बढी केन्द्रीय सदस्य र सांसद तान्न माधव नेपाल सक्रिय भएका छन् । उनलाई बामेदव गौतमले निकै साथ दिइरहेका छन् । ओलीले पनि नेपाल पक्षका नेताहरुलाई तान्न राजनीतिक लेनदेनको प्रस्ताव पठाइरहेका छन् । यसले एमालेभित्र सांसद र केन्द्रीय सदस्य तानातानको अवस्था देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्