Logo

पुष्पलालसँगको पहिलो भेट र अन्तिम क्षण



सहाना प्रधान : हामी २००० सालमा बर्माबाट काठमाडौं फर्कियौं । मेरो बाल्यकालका प्रारम्भिक दिनहरू बर्मामा नै बितेका थिए । त्यहाँ मैले ७ कक्षासम्म मात्र पढेकी थिएँ । मेरो पढ्ने उत्कट इच्छा हुँदाहुँदै पनि काठमाडौं आएपछि मेरो पढाइ रोकियो । तत्कालीन समाजमा आइमाईले पढ्न हुन्न भन्ने संस्कार भएको हुँदा बाजेले हाम्रो पढाइ रोकेर हामीलाई घरको काममा लगाउनुभएको थियो । हामी (म र मेरी दिदी) खुब पढ्न चाहन्थ्यौं । त्यसकारण हामी लुकीलुकी भाइका किताबहरू पढेर आफ्नो पढ्ने भोक मेट्थ्यौं ।

हाम्रो दिमाग हरहमेशा पढ्ने वातावरणको खोजमा हुन्थ्यो । यसैबेला हाम्रो एक प्रतिबन्धित पार्टीको मान्छेसँग भेट भयो । यो २००४ सालतिरको कुरा हो । त्यो मान्छेले हामीलाई तत्कालीन ‘राणा शासनमा जनतामाथि भइराखेको शोषण अन्यायहरूको बारेमा बताएर वैशाख १७ गते एक राणाविरोधी आन्दोलन हुँदैछ, के त्यसमा तिमीहरूले भाग लिन्छौ ?’ भनी सोध्यो । हाम्रो त्यसबेला संक्षिप्त उत्तर थियो, ‘नेपालमा सबै महिला र पुरुषहरूका निम्ति समान रूपमा पढ्ने–लेख्ने वातावरण तयार पार्न यो आन्दोलनले मद्दत गर्छ भने यसमा हामी भाग लिन तयार छौं ।’

हामीले आन्दोलनमा भाग लिने स्वीकृति त दियौं तर त्यसबेला हामी महिलाहरूलाई घरको चार दिवारीभित्र बाट एक्लै बाहिर निक्लनु पनि ठूलो कुरा थियो । अब कैयौं दिन घर फर्कन सकिने छैन र राणाको विरोधमा मैदानमा उत्रँदा ठूलो सङ्कटको सामना गर्नुपर्नेछ भन्ने कुरा मैले राम्रैगरी बुझेकी थिएँ । त्यसैले साधारण आफूलाई चाहिने दुई तीन जोडा लुगा लगाएर म र मेरो दिदी घरबाट भागेर आन्दोलनमा आफूलाई सुम्पेको जिम्मेवारी पूरा गर्न निस्क्यौं ।

आन्दोलनको कार्यक्रम काठमाडौंका सम्पूर्ण शिक्षण संस्थाहरूबाट जुलुस प्रदर्शन गर्ने थियो । यसै अनुसार मलाई त्रिचन्द्रमा गई अन्य साथीहरूसँग सम्पर्क गरी आन्दोलन गराउने जिम्मा पर्‍यो । त्रिचन्द्रमा जिम्मा पर्नेहरूमा पुष्पलाल र अमीरबहादुरजीहरू हुनुहुन्थ्यो । मलाई यी व्यक्तिहरूसँग सम्पर्क गर्न एक सङ्केत दिइएको थियो ।

त्यसैअनुरूप मलाई भनिएको थियो कि तीनधारा पाठशालाभित्र एकजना मान्छे हुनेछ । त्यसले सङ्केत दिनेछ, त्यसैअनुसार सम्पर्क राखी काम गर्नु । त्यो मानिस सहिद गङ्गालालको भाइ हो । त्यस आन्दोलनमा हामी दुईलाई ढोकामा बसेर पर्चा छरी भाषण गरी आन्दोलन गराउने जिम्मा दिइएको थियो ।

सरस्वती सदनको गेटमा पुष्पलाल र त्रिचन्द्रको मेन गेटमा म परेँ । कार्यक्रम अनुसार पर्चा छरेर भाषण गरी हामीले जुलुसको नेतृत्व गर्‍यौं । यो जुलुसले नेपालमा पहिलोपटक सडकमा ‘राणाशाही– मुर्दावाद !’ ‘नागरिक अधिकार पाउनैपर्छ !’ आदि नारा लगाएर शहर परिक्रमा गर्‍यो । जुलुस नक्साल भगवतीमा के पुगेको थियो भीषण लाठी चार्ज भयो । त्यसबेला लाठीले हान्दै नरशमशेर कस्ताको छोरा, कस्ताको भाइ चिनेको छु भन्दै गर्जेको थियो । यसको प्रतिवादमा माइलदाइले भक्तलालको छोरा, गङ्गालालको भाइ बुझिस्, भनेर जवाफ दिंदा हामी सबैमा हौसला बढेर गयो । आन्दोलनकारीहरूमा एउटा उत्साहको वातावरण छायो ।

त्यसैबेला पुलिसको लरीमा हामी सबैलाई राखेर महाराजगञ्ज ब्यारेकमा लगियो । त्यहाँ अन्य शिक्षण संस्थाबाट जुलुस निकाल्ने हाम्रा साथीहरूलाई पनि ल्याइयो । हामी त्यहाँ जम्माजम्मी ७५ जना थियौं । हामी सबैलाई त्यहाँ १२ दिनसम्म थुनियो । त्यहाँ न बस्नको सुविधा थियो न खानको । यो कठोर यातनाको विरुद्ध हामीले तेस्रो दिनदेखि अनसन सुरु गर्‍यौं ।

त्यहाँ महिलाहरूमा दिदी साधना, स्नेहलता, कनकलता र म थियौं । बाह्रौं दिनको दिन हामीलाई सिंहदरबार ढोकामा पद्मशमशेरकहाँ ल्याएर हाम्रा मागहरू पूरा गर्ने आश्वासनका साथ छाडिदियो ।

कमरेड पुष्पलालसँग मेरो परिचय यसै प्रथम नागरिक अधिकार आन्दोलनमा पहिलो पटक भयो । हुन त बर्मामा नै मैले सहिद गङ्गालालको बारेमा सुनेकी थिएँ । गङ्गालालको बलिदानले कमरेड पुष्पलालप्रति मेरो श्रद्धा बढेर गएको थियो । आन्दोलनमा उहाँको बहादुरी र सबैसँग मिल्ने व्यवहारले हाम्राबीच सम्बन्ध बढाएर लग्यो ।

त्यस आन्दोलनपछि पुष्पलाल बनारस जानुभयो । यसैसाल (२००४) हामीले एसएलसी जाँच दिन पायौं । यसैसालको अन्तमा माइलदाइ बनारसबाट फर्कनुभयो । उहाँ फर्कंदा हामीलाई रुसी क्रान्तिकारी महिलाहरूको बारेमा लेखिएको दुई पुस्तकहरू ल्याइदिनुभएको थियो । यसपछि म लखनउ पढ्न गएँ । लखनउमा पनि माइलदाइ आफ्नो काममा आउँदा मलाई भेट्न आउनुभएको रहेछ तर भेट हुन सकेन । त्यसबेला म शैक्षिक भ्रमणमा गएकी थिएँ ।

२००७ सालको क्रान्तिमा हामी लखनउबाट फर्कियौं । राणाशाहीविरोधी क्रान्ति जोडतोडले चलिरहेको थियो । उहाँ पूर्ण रूपले नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन र क्रान्तिलाई चर्काउने काममा समर्पित हुनुभएको थियो । यसै भूमिगत अवस्थामा मैले उहाँलाई भेटेकी थिएँ । २००९ सालमा अर्थात् १९५३ मा नेपालबाट बीए जाँच मैले दिएँ । म नेपालबाट बीए जाँच दिने पहिलो महिला थिएँ । यसै समयदेखि मैले कम्युनिस्ट पार्टीको प्रान्तीय कमिटीमा काम गर्न थालेँ र त्यसैबेला म नेपाल महिला सङ्घको जेनरल सेक्रेटरी पनि बनेँ ।

त्यसपछि २०१० सालमा हाम्रो बिहे भयो । बिहेपछि पनि ३–४ वर्षसम्म म राजनीतिमा सक्रिय रहेँ । त्यसपछि पारिवारिक समस्याले हामी दुवै समान रूपमा पार्टीमा सक्रिय हुन सकेनौं । मलाई पारिवारिक काममा संलग्न हुनुपर्‍यो । हाम्रा पारिवारिक जीवनका प्राथमिक दिनहरूको संस्मरण गर्दा मलाई हाम्रो पार्टीका प्रचार–प्रसारका निम्ति पुष्पलालजीले गर्नुभएका कडा मेहनतहरू सम्झन मन लाग्छ । त्यसबेला हाम्रो घरमा पार्टी कमरेडहरूको चहलपहल र राजधानीमा हाम्रो पार्टीको गतिविधि निकै बढेको थियो । हाम्रो पारिवारिक जीवनका सुरुका सालहरू नै यसरी व्यस्ततामा बिते । ती दिनहरू मेरो मानसपटलमा आज पनि ताजै छन् । आज पनि उहाँको पार्टीप्रतिको समर्पण र व्यस्तता मेरो प्रेरणाका स्रोत बनिरहेका छन् । (श्रीनगर–पुष्पलाल विशेषाङ्क–०३६ अप्रकाशित)

२०३४ साल मंसिर २२ गते छोरीको बिहे सकेर हामी काठमाडौँ आयौँ । छोरी आफ्नै घरमा, छोरा बाहिर । म एक्लै धुम्धुम्ती रित्तो घरमा बस्न थालेँ । मलाई साह्रै रिक्तता महसुस भयो । फेरि ‘ट्युसन’ गर्न मन लागेन । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो । पुष्पलालजीले पनि चिठी लेख्दै हुनुहुन्थ्यो । अब छोरीको पनि विवाह भइसक्यो, छोरा पनि बाहिर–बाहिर गहिरहन्छ । म एक्लै घरमा बसेर के गर्नु ? पुष्पलाजजीको एक प्रकारको दबाब जस्तै थियो– म बनारसतिरै लागौँ

भन्ने । मसँग दुईवटा विकल्प मात्र थिए– पढाइ अगाडि बढाउने वा पार्टीमा सक्रिय भएर काम गर्ने । मैले सक्रिय राजनीतिक जीवन बिताउनुभन्दा पहिले पढ्ने धोका पूरा गर्ने विचार गरेँ । छोरासँग सल्लाह गरेँ उसले ‘हुन्छ,  पढ्न जानोस् ममी, म तपाईंलाई भेट्न उहीँ आउँला’ भन्यो ।

भर्खर विवाह गरेकी छोरीलाई यहाँ आमा नभएपछि उसको जाने ठाउँ हुँदैन । त्यो पनि पिर थियो । छोरीलाई माइतमा जान पाइएन भने खल्लो हुने । जेहोस्, एक–दुई महिना जाऔँ, कस्तो

किसिमको व्यवस्था हुन्छ हेरौँ भन्ने लाग्यो । विसं २०३५ साल वैशाखमा आमाको मुख हेर्ने ६/७ दिन मात्र बाँकी थियो तर त्यो आमाको मुख हेर्ने दिनलाई समेत नहेरी म बनारस गएँ । म बनारस पुगेपछि पुष्पलालजीले विभिन्न ठाउँमा डुल्न जाने योजना बनाउनुभएको रहेछ । त्यसबेलामा आसाम, गुहाटी, लखनऊ, दिल्ली आदि ठाउँमा पार्टीका कमरेडहरूलाई भेट्ने काम गरियो । पुष्पलालजीसँग विवाहपछि सँगै त्यसरी घुमेको पहिलोपटक थियो त्यो । त्यसबेला उहाँसँग बस्दा राम्रै महसुस गरेँ ।

म छोराछोरीको बोझ र बन्धनबाट मुक्त भइसकेको उन्मुक्त वातावरणमा छु जस्तो लाग्यो । अब म केही पढ्न सक्छु, पढाइमा मन लगाउन सक्छु भन्ने भावना आयो । म वैशाख र जेठ महिना कतै आर्थिक सहयोग दाता, पढाइको खर्च ब्यहोरिदिने संस्था वा व्यक्तिको खोजी गर्नतिर लागेँ । बनारस हिन्दू विश्वविद्यालय, काशी विद्यापीठबाट मैले विद्यावारिधि गर्ने तय भयो । अध्ययनका लागि महिनाबारी ३ हजार रूपैयाँ दिने भन्ने कुरा भयो । म तुरुन्तै काठमाडौँ आइनँ । त्यहीँ ढुक्कै बसेर पढ्ने छोराछोरीको सल्लाह पनि आयो । मैले पढ्ने एकैतिरको मन बनाएर बसेँ र अध्ययनको काम सुरु गरेँ ।

जेठको अन्तिमतिर पुष्पलालजी अलिक अस्वस्थ भएको जस्तो देखेँ । उहाँमा अलिक स्वाँस्वाँ बढेको जस्तो लाग्यो । मलाई कोठामा एक्लै छोडेर उहाँ बाहिर जाने काम रोकिएको थिएन । हामी दिल्लीको ‘विट्टल वाई पटेल हाउस’मा बसेका थियौँ । त्यो सांसदहरू बस्ने क्वाटर हो । त्यो क्वाटर दार्जिलिङका सांसद आनन्द पाठकको थियो । पुष्पलालजी साथी हुनुभएकाले त्यो क्वाटर हामीलाई दिइएको थियो । त्यहाँ पनि एक्लै बस्नुपर्ला जस्तो लाग्यो । पुष्पलालजी असार अन्तिमतिर दरभङ्गामा मिटिङ छ भनेर जान ठिक पर्नुभयो । उहाँ खुट्टा खोच्याएर हिँडेजस्तो लाग्दै थियो । मैले ‘यस्तो अवस्थामा नगए पनि हुन्छ, अस्वस्थ छु भनेर खबर पठाइदिऊँ’ भनेँ । उहाँ मान्नुभएन, जानु नै पर्छ भनेर कोठाबाट निस्कनुभयो । उहाँका साथमा दुईजना कमरेडहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले समाउँदै लिएर जानुभयो । त्यस्तो बिरामी अवस्थामा जानुभएकाले मलाई नरमाइलो लाग्यो । मैले त्यस्तो अस्वस्थ अवस्थामा हिँडेको देखेकी थिइनँ । उहाँ आफ्नो काम भनेर स्वास्थ्यको पनि ख्याल नगरी जानुभएकाले मेरो मनमा स्वास्थ्य ठूलो कि काम भन्ने लाग्यो ।

उहाँ जानुभएको एक हप्तासम्म केही खबर आएन । मलाई मनमा पिर लागिरहेको थियो । एक्कासी ‘स्वास्थ्य खराब भएकाले पुष्पलालजी दरभङ्गा अस्पतालमा हुनुहुन्छ’ भन्ने खबर आयो । मेरो मनमा जस्तो चिसो पसेको थियो, त्यस्तै हुन गयो । ‘तपाईंले चिन्ता नगर्नुस्, हामी ३/४ दिनमा आइपुग्छौँ’ भनेर कमरेडहरूले खबर पठाउनुभयो । मैले त्यो खबर पाएको पाँचौँ दिनमा उहाँ आइपुग्नुभयो । उहाँ आउँदा दुईतिर दुईजना मान्छेले समातेर कोठाभित्र हुल्दा त म झसङ्ग भएँ । निकै साह्रो बिरामी हुनुभएको रहेछ, मुख पनि कस्तो–कस्तो भइसकेको थियो । त्यहाँ एकदिन बसेर राममनोहर लोहिया अस्पतालमा कमरेडहरूले भर्ना

गर्नुभयो । त्यो अस्पताल मुटुको होइन रहेछ । त्यहाँ तीन दिनसम्म राखियो । बीसको उन्नाईस पनि नभएपछि मुटुसम्बन्धी गोविन्दबल्लभ पटेल अस्पतालमा लगियो । त्यहाँ लगेर उपचार गरेपछि अनुहार फेरियो । उहाँ कुराकानी गर्न सक्ने हुनुभयो । हामीसँग क्याबिनमा राख्ने औकात थिएन । पार्टीको स्थिति पनि राम्रो थिएन । त्यसले गर्दा साधारण ओछ्यानमा नै राख्ने काम गरियो ।

यो कुरा मैले सीपीएमका नेताहरूलाई पनि भनेँ तर त्यति ध्यान दिइएन । जनरल वार्डमा नै २० दिन जति बस्यौँ । म दिनहुँ बिहान सबेरै अस्पताल जान्थेँ र राति ७ बजे फर्कन्थेँ । राति महिलाहरूलाई कुरुवा बस्न दिइँदैनथ्यो । त्यसैले राती पुरुष कमरेडहरूले रुङ्नुहुन्थ्यो । बिरामीलाई अस्पताल छोडेर क्वाटरमा के खाने र ! म नखाईकन सुत्थेँ । कहिलेकाहीँ बाहिरबाट नै केही खानेकुरा किनेर ल्याउँथेँ र खान्थेँ ।

पुष्पलालजी बिरामी भएका बेला हेर्नलाई मानिसहरू आए । नेपाली काङ्ग्रेसका मानिसहरू पनि आए । भारतीय नेताहरू पनि आए । भारतीय नेता चन्द्रशेखर पनि हेर्न आए । चन्द्रशेखरले ‘उहाँ हाम्रो साथी हो’ भनेपछि पुष्पलालजीलाई क्याबिनमा राखियो । क्याबिनमा त राख्यौँ तर उहाँको अवस्था नाजुक भइसकेको थियो । कुराकानी भने राम्ररी नै गर्नुहुन्थ्यो । मैले एउटा लक्षण के देखेँ भने खानामा जे पनि खाने, कहिले नाक नखुम्च्याउने मान्छे बिरामी भएपछि खाँदै नखाने हुनुभयो । खाना देख्नेबित्तिकै हातले पन्छाउने गर्नुहुन्थ्यो ।

‘धेरै खाने वा खाना रुचाउने मान्छेले खाना पन्छायो भने त्यो राम्रो लक्षण होइन । खाना नाकनिक गर्ने मान्छेले धेरै खायो, जे पनि खायो भने पनि राम्रो लक्षण होइन’ भन्ने सुनेकी थिएँ । त्यसले उहाँको बानीमा त्यस्तो परिवर्तन पाएपछि मनमा चिसो पसेको थियो । ‘मलाई नखाने–नखाने भन्ने तर अब तपाईं आफैँ नखाने ?’ भनेँ पनि । खानामा उसिनेको लौकाको टुक्रा र जाउलो खानुहुन्थ्यो । कहिले लौकाको टुक्रा नदेख्दा आँखामा आँसु नै जमाएर खोज्ने खोज्ने गर्नुहुन्थ्यो । क्याबिनमा बसेको एक हप्तापछि ‘भोलि तिम्रो जन्मदिन होइन ?’ भनेर सोध्नुभयो । मैले ‘हो’ भनेँ । ‘तिम्रो जन्मदिन मनाऊँ है यहाँ’ भन्नुभयो । ‘अस्पतालमा बसेर के जन्मदिन मनाउने ? पर्दैन’ भनेँ मैले । भोलिपल्ट बिहानै अस्पताल आइपुगेँ । म आइपुग्नासाथ ‘सहाना ह्याप्पी बर्थडे’ भन्नुभयो । मैले ‘धन्यवाद’ भनेँ । हाम्रो त्यस्तो चल्थ्यो ।

कमरेडहरू बसिरहनुभएको थियो । उहाँहरूलाई पुष्पलालजीले ‘आज भाउजूको बर्थडे हो’ भन्नुभयो । कमरेडहरूले मुख मिठो गर्ने व्यवस्था गर्नुभयो । मेरो जन्मदिन शुक्लपक्ष तृतीया तिथिमा पर्छ । त्यस वर्ष असारको अन्त्यमा वा असार ३१ गते मङ्गलबार परेको थियो ।

त्यसको एक हप्तापछि सोमबारकै दिन उहाँलाई खुब छट्पट् भयो । बेलुकीपख ह्विल चेयरमा राखेर उहाँलाई आईसीयुमा लगियो । राति त्यहाँ बस्न नपाइने भएको हुनाले फेरि कोठामा आएँ र बिहानको प्रतीक्षामा रात बिताएँ । बिहान सबेरै अस्पताल पुगेँ । आईसीयुमा बेलाबेलामा मात्र हामीलाई पस्न दिइन्थ्यो । म उहाँलाई भेट्न गएँ । उहाँको अनुहार फुङ्ग उडेको जस्तो देखेँ ।

के हो यो ? मलाई राम्रो बताउँदा पनि बताउँदैनन् भन्दै हाम्रो एकजना कम्पाउन्डर कमरेडलाई सोधेँ । उहाँले पनि ‘ठीक छ भाउजू चिन्ता नलिनुस्’ भन्नुभयो । उहाँले खुलेर केही पनि भन्नुभएन । मलाई ठीक छैन भन्न मन नलागेर होला भनी चित्त बुझाएर बसेँ ।

आईसीयुमा लगेको भोलिपल्ट म ७ बजे अस्पताल पुगेँ । उहाँलाई भेट्न हतार–हतार उहाँ सुतेको बेडनिर पुगेँ । मैले उहाँको आँखा रसाएको देखेँ । उहाँको छाती सास फेर्दा स्वाँ–स्वाँ गरेर माथि–माथि उठिरहेको थियो । हात खुट्टाहरू चलाउनुहुन्छ भनेर खाटमा बाँधिएको थियो । त्यसरी हातखुट्टा बाँधेर सुताएको देखेर मलाई साह्रै नमीठो लाग्यो । मलाई देख्नु भएपछि बाँधेको हात फुस्काएर अक्सिजनको ‘मास्क’ झिक्नुभयो र मसँग बोल्न खोज्नुभयो । मैले के गर्नुभएको यस्तो भनेर मास्क लगाइदिएँ । फेरि फ्याँक्नुभयो । फेरि मैले लगाइदिएँ । यसरी दुईतीनपटक झिक्ने र लगाइदिने काम भयो । त्यसैबेला डाक्टर आइपुगे । डाक्टरले मलाई ‘प्लिज तपाईं एकछिन बाहिर गइदिनोस्’ भने । म नचाहँदा–नचाहँदै बाहिर निस्केँ ।

बाहिर आमाजू बसिराख्नुभएको थियो । उहाँले ‘कस्तो छ भाइलाई’ भनेर सोध्नुभयो । आमाजू पनि त्यसबेला बिरामी नै हुनुहुन्थ्यो । उहाँ भाइका बारेमा साह्रै चिन्तित भइसक्नुभएको थियो । खाना खान छोडिसक्नुभएको थियो । मैले उहाँलाई ‘ठीक छ’ भनी सामान्य उत्तर दिएँ । भित्र गएर भाइलाई हेर्ने आमाजूको साहस पनि थिएन । दिदीको स्वास्थ्य कमजोर भएकाले हामीले भित्र लाने आँट पनि गरेनौँ ।

आईसीयुमा पुष्पलालजीलाई लगेपछि थपक्क छेउमा बसिरहन त पाइएन । हामी एक–दुई घण्टापछि गएर यसो हेर्ने काम मात्र भयो । म आईसीयुमा पस्ता नर्स डक्टरहरूले गाली गर्छन् भनेर झ्यालबाट च्याउँथेँ । पुष्पलालजीलाई अक्सिजन राखेको छ, उहाँ ‘हँ–हँ’ गरिरहनुभएको छ । सास बढेको छ, अनुहार फुङ्ग उडेको छ । के हुने हो मनमा ठूलो पिर परेको थियो ।

परिवारजनहरू पुष्पलालजीलाई हेर्दै जाँदै थिए । मेरी आमाजू, आमाजुदाज्यू, छोरी र भान्जा २/३ दिनअघि आउनुभएको थियो । छोरा र ज्वाइँ काममा फर्किसकेका थिए । उहाँ सिकिस्त हुनुहुन्छ भन्ने कुरा हरेकले आ–आफ्नै ढङ्गले बुझ्यौँ । कसैले कसैसँग आफ्नो अभिव्यक्ति गर्ने आँट थिएन । पुष्पलालजीलाई पनि ‘अन्तिम अवस्थामा छु’ भन्ने लागिसकेको थियो ।

एकछिनपछि भान्जा र मैले भित्र जाने प्रयत्न गर्‍यौँ । मलाई मात्र भित्र जान दिइयो । मलाई देख्नासाथ उहाँले अक्सिजनको मास्क झिक्नुभयो । मलाई हेर्दै स्वाँ–स्वाँको आवाज साथ उहाँले भन्नुभयो, ‘सहाना ….ति….मीलाई …मैले दु:ख मात्र दिएँ, ति….म्रो… निमित्त केही गर्न….सकिनँ । अब ….अगाडिका ….कामहरू पक्कै पनि … तिमीले गर्छौ होला ।’ सास धेरै बढ्यो, मैले हतार–हतार अक्सिजन मास्क लगाइदिएँ । मलाई साह्रै नमीठो लाग्यो । रुन मन लाग्यो । रोऊँ–रोऊँ खालको वातावरण बन्यो । म कोठामा बस्नै सकिनँ र बाहिर निस्किएँ । त्यसबेला घडीले बिहानको नौ हान्यो । बाहिर आमाज्यू बस्नुभएको थियो । उहाँले सोध्नुभयो, ‘कस्तो छ सहाना ?’ मैले फेरि ‘ठीकै छ’ भनेँ ।

म बाहिर निस्कनासाथ भान्जा पस्नुभएको थियो । भान्जाले पनि अब मामा रहनुहुन्न भन्ने अनुभूति गर्नुभएको रहेछ । मलाई पनि अब उहाँ रहनुहुन्न भन्ने लागिसकेको थियो । छोरी सानो मुख लगाएर टुक्रुक्क बसेकी थिइन् । छोराको केही खबर छैन । ४–५ दिनअघि छोराले राम्रै अवस्थामा छोडेर गएको थियो ।

म १० बजे फेरि भित्र पसेँ । फेरि अक्सिजन झिक्ने कोसिस गर्नुभयो । मैले समाएर अक्सिजन झिक्न दिइनँ । कसोकसो अक्सिजन झिक्नुभयो र फेरि भन्नुभयो, ‘सहाना … अब …गर्नू ….है’ । त्यसबेला सायद पार्टी काम गर्नु भन्नुभएको होला, पूरा वाक्य भन्न पाउनुभएन । त्यसबेला नै कमरेडहरू अरबिन्द खड्का, तिलक पराजुली, रामबहादुर भण्डारी र अरू को–को आइपुग्नुभयो । उहाँहरूसँग पुष्पलालजीले ‘जनतालाई चेतनशील बनाउनुपर्छ, यो देशमा जनता चेतनशील भए क्रान्ति अवश्य हुन्छ, परिवर्तन अवश्य हुन्छ, हिम्मत नहार्नू, अगाडि बढ्नू’ भन्नुभयो । मैले मास्क खोल्न दिइनँ, त्यसैले मसँग धेरै कुरा गर्न पाउनुभएन । कमरेडहरूले अब भैहाल्यो, अन्तिम अवस्था भइसक्यो, उहाँको के भनाइ छ भनेर मास्क खोलेर बोल्न दिनुभएको रहेछ ।

मलाई उहाँले मास्क खोलेर बोल्दा सास्ती भएको देखेर मास्क राख्नुपर्छ, बोल्न दिनुहुँदैन भन्ने मात्र लाग्यो । उहाँले बडो कष्टदायी तरिकाबाट बोलेको हेर्न चाहिनँ । मेरी आमाजूलाई भाइ त्यति असक्त छ भन्ने कुरा थाहा नै भएन ।

त्यही बेला गिरिजाप्रसादसँग ४–५ जना काङ्ग्रेसका साथीहरू उहाँलाई हेर्न आएका थिए । उहाँको जाने बेला भएको रहेछ । गिरिजाप्रसादले मलाई बाहिर यसो हेरेर जानुभयो । उनीहरू जानेबित्तिकै म र भान्जा भित्र पस्यौँ । डाक्टरले ‘उहाँ बितिसक्नुभयो’ भन्यो । उहाँको मुख छोपिसकेको रहेछ । मैले मुख खोलेर हेरेँ । मैले आफूलाई थाम्नै सकिनँ । म त्यहीँ लड्न पुगेछु । भान्जाले मलाई सम्हालेछन् । अब सबै कुरा सिद्धियो । मेरो जीवनमा २०३५ साल साउन ७ गते १० बजे बिहान यो बज्रपात आइपर्‍यो । अब के गर्ने ? अनेकथरिका कुराहरू मेरो दिमागमा रन्थनिएँ । बडो मुस्किलले आफूलाई सम्हालेर बाहिर निस्किएँ ।

बाहिर दिदी र छोरी बसिराखेका थिए । दिदी बिरामी मान्छेलाई त्यो खबर तुरुन्त दिन उपयुक्त नहुने ठानेँ । उहाँलाई यो खबर सुनाउनासाथ नराम्रो असर पर्छ भन्ने मलाई लाग्यो । बाहिर निस्किएपछि दिदीले ‘कस्तो छ’ भनेर सोध्नुभयो । मैले विस्तारै ‘ठीक छ’ भनी झुटो कुरो बताएँ । भान्जा मेरो उत्तर सुनेर छक्क परे । हामी चारैजना तल आयौँ । पुष्पलालजीको पार्थिव शरीर आइसमा राख्ने तर्खर भइरहेको थियो ।

अब त्यहाँ पर्खनुपर्ने कुनै काम थिएन । मैले दिदी र छोरीलाई झुटो बताएँ । हामी सबैजना क्वाटरमा आयौँ । सधैँ बेलुका मात्र फर्कने गरेका हामी त्यो दिन दिउँसै आएकोमा उहाँहरूको मनमा पनि चिसो पसेको थियो होला । घरमा आउँदा बाटोमा छोरीलाई बताएँ । तर, दिदीलाई अझै बताएकी थिइनँ । हामीले बिहान केही खाएका थिएनौँ । दिदीलाई अलिकति तातो ख्वाएर मात्रै विस्तारै बताऊँ भन्ने लाग्यो । त्यो समाचारको चोट सहन सक्ने बनाएर मात्र उहाँलाई बताउने विचार गरेकी थिएँ ।

क्वाटरमा आएपछि दिदीलाई तातो बनाएर खान दिएँ । त्यतिञ्जेलसम्म मेरो मुटुमा भक्कानो फुटिसकेको थियो । कहाँ गएर रोऊँ, के गरूँ, कसो गरूँ जस्तो भइरहेको थियो । मैले थाम्नै सकिनँ । बाथरुममा गएर ढोका लगाएर मनको बह आँसुको धाराले पखालेँ । म खूब रोएँ । निकैबेरपछि मुख धोएर बाहिर आएँ । मेरो गतिविधि देखेर दिदीलाई पनि शङ्का लाग्यो । दिदीले ‘के भयो किन मलाई भन्दैनौ’ भन्नुभो ।

मैले साह्रै कष्टका साथ विस्तारै ‘उहाँ जानुभयो’ भनेँ । ‘यतिबेरसम्म मलाई केही नभनी तिमीहरूले यसरी खुवायौँ’ भनेर दिदी रिसाउनुभयो । अब के गर्नें र सबै कुरा त सिद्धिसकेको थियो । त्यो दिन त्यत्तिकै भयो । भोलिपल्ट कमरेडहरूसँग निगम वेदघाटमा दाहसंस्कार गर्ने र नेपालमा अस्तु पठाउने भन्ने सल्लाह भयो ।

कमरेडहरूले नेपालमा उहाँको अस्तु ल्याउन स्वीकृतिका लागि दरबारमा कुरा गर्नुभयो । मलाई पुष्पलालजीको अस्तु नेपाल ल्याउन पाऊँ भनेर राजा वीरेन्द्रलाई पत्र लेख्न लगाइयो । मेरो मनले मानेको थिएन । तर, शोकको घडीमा जसले जे भने पनि मान्न बाध्य हुनुपर्दोरहेछ । तर, पञ्चायती शासक तथा दरबारबाट कुनै हालतमा पनि अस्तु नेपाल ल्याउन नदिने भन्ने कुरा आयो ।

भोलिपल्ट २०३५ साल साउन ८ गते निगम वेदघाटमा पुष्पलालजीलाई अन्तिम श्रद्धाञ्जलि दिन मसँगै परिवारजन तथा कमरेडहरू भेला हुनुभयो । उमेश दागबत्ती दिन त्यहीँ आइपुग्यो । भारतीय पार्टीका गन्यमान्य व्यक्तित्वहरू पनि श्रद्धाञ्जलि दिन आएका थिए । नेपालबाट ज्वाइँ पनि आइपुग्नुभयो । नेपालबाट पार्टीका नेता–कार्यकर्ताहरू भने कोही पनि आइपुगेनन् । निर्मल लामा समवेदना व्यक्त गर्न आउनुभएको थियो । समवेदना दिन गएबापत उहाँलाई पार्टीले कारबाही गरेछ ।

‘गद्दार पुष्पलाल’ लेख्ने पार्टीभित्रको एक नेता हुनुहुन्थ्यो । तुलसीलाल त्यहीँ दिल्लीमा हुनुहुन्यो, उहाँ आउनुभएको थियो । मनमोहनजी आउनुभएन । हामी साउन ९ गते दिल्ली छोडेर बनारस गयौँ । काठमाडौँबाट मेरा आफन्तहरू, दाजुभाइ, नन्दहरू सबै बनारसमा आइपुगे । त्यहीँबाट नेपालमा अस्तु पठाउने भन्ने कुरा भयो । तेह्र दिनको काम बनारसमा नै गर्‍यौँ ।

कुनै पनि नाकाबाट अस्तु नेपाल ल्याउन नदिन सुरक्षालाई कडाइ गरिएको थियो । एक प्रकारको आन्दोलन नै भयो त्यसबेला । हामी अस्तु ल्याएर नै छाड्ने, सरकार ल्याउनै नदिने । रामबहादुर भण्डारी र रामप्रसाद चापागाईं दुईजना रामहरूले प्लेनबाट नै अस्तु ल्याउनुभयो । यहाँ ठूलो जुलुसका साथ २०३५ साल साउन १९ गते तेह्रौँ दिनको दिन विष्णुमती शोभाभगवतीमा अस्तु बिसर्जन गर्ने काम गरियो । तेर्‍ह दिनको काम सकेपछि अरू बनारसबाट नै नेपाल फर्किए ।

आमाजूलाई प्लेनबाट नेपाल पठाउने सल्लाहअनुरूप म प्लेन चढाउन पुन: दिल्ली आएँ । दिल्लीमा मेरी बर्मेली साथी कलावतीकहाँ दिदीसँग एक रात बसेँ । भोलिपल्ट दिदीलाई एयरपोर्ट पुर्‍याउन गएँ । त्यसपछि म बनारस फर्किइनँ ।

(सुशीला श्रेष्ठद्वारा लिखित पुस्तक ‘सहाना प्रधान: स्मृतिका आँखीझ्यालबाट’)



प्रतिक्रिया दिनुहोस्