Logo

पुष्पलालः हाँसेरै बाँचे, हाँसेरै मरे



प्रदीप गिरी : पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिवका रुपमा चिनिनुहुन्छ । तर कुरो त्यत्ति मात्रै होइन । उहाँको टक्करको अर्को कम्युनिस्ट नेता कदाचित नेपालमा जन्मिएका छैनन् । यहाँ मदन भण्डारीको सम्झना अवश्य गर्न सकिन्छ । तर धेरै कारणले यी दुई नेता अतुलनीय छन् । एक त दुवैको कालखण्ड सर्वथा पृथक छ । दोस्रो पुष्पलालका योगदान र प्रशिक्षणको जगमा नै मदन भण्डारीको व्यक्तित्व विकसित भएको हो । त्यसैले पुष्पलाललाई नेपाल कम्युनिस्ट आन्दोलनका उज्ज्वलतम् नक्षत्रका रुपमा चित्रित गर्दा कसैप्रति अन्याय हुँदैन ।

सन् १९६६–६७ तिरको कुरो हो, प्रवासमा बनारस नेपाली राजनीतिको प्रमुख थलो थियो । खासगरी, विपक्ष र प्रतिरोधको राजनीतिको । दूधविनायक र त्यसको छेउछाउमा नेपाली विद्यार्थीहरुको ठूलो जमघट रहन्थ्यो । बीपी, गणेशमानजीलगायत कांग्रेसका ठूला नेताहरु नेपालका जेलमा हुनुहुन्थ्यो । सुवर्णशमशेरको नेतृत्वमा रहेको नेपाली काङ्ग्रेसको प्रमुख कार्यालय कलकत्तामा थियो । तर, सिंगो नेपालको राजनीतिक गतिविधि भने मानौ बनारसमा केन्द्रित थियो । बनारसमा युपी बोर्डमार्फत मैट्रिक र आइएको प्राइभेट रुपमा परीक्षा दिन सकिने उदार व्यवस्था थियो । त्यसताकाको पाठ्यक्रम खास गरेर अंग्रेजीका हकमा त्यहाँ केही सजिलो पनि थियो क्यारे । नेपाली पनि एक प्रमुख ऐच्छिक विषयका रुपमा स्वीकृत थियो । त्यसैले प्रत्येक वर्ष असारदेखि वैशाखसम्म दूधविनायकका नेपाली विद्यार्थीहरुको घुइँचो रहन्थ्यो ।

संस्कृति र संस्कृत पढ्ने व्यवस्था रहेका नि:शुल्क भोजनालय समेतका विद्यालय झन् ठूलो आकर्षण थियो । त्यसताका पाठशालालाई ‘क्षेत्र’ भन्ने चलन थियो । वामपन्थी मोदनाथ प्रश्रित, मदन भण्डारीदेखि कांग्रेसका शेषनारायण अधिकारी र हरि रिजालसम्म यस्ता क्षेत्रबाट संरक्षित रहन्थे । हामी पनि त्यस क्षेत्रबाट लाभान्वित नै थियौं । सयौं वर्षदेखि ती क्षेत्र चलेको थिएजस्तो बुझिन्छ । त्यस्ता क्षेत्रमा नेपाली विद्यार्थीहरुको सहर्ष स्वागत थियो ।

काशी विश्वविद्यालयलगायतका अरु उच्चस्तरीय शिक्षा संस्थान झन् छँदै थिए । यस्ता सबैथरिका विद्यार्थीहरुका माझ राजनीतिक संवाद, विवाद र प्रतिस्पर्धा समेत चल्दथ्यो । बनारसमा बर्सेनि नेपाल छात्र संघको चुनाव हुन्थ्यो । त्यो चुनाव सबै प्रवासी नेपाली र विशेष गरी राजनीतिकर्मीको विशेष चासोको विषय थियो । स्वर्गीय शैलजा आचार्य, ढुण्डिराज शास्त्री, चक्र बास्तोलालगायत म समेत थुप्रै साथीहरु त्यस चुनावमा सहभागी र उम्मेदवारसमेत भएका हौं ।

दूधविनायकमा दुईवटा नेपाली धर्मशाला पनि थिए । तीमध्ये जगदम्बा धर्मशाला, पुस्तकालय र वाचनालयसमेत थियो । कुनै एक साँझ त्यसै वाचनालयमा नै मैले पुष्पलाल श्रेष्ठलाई पहिलो पटक देखेको हुँ । उहाँको भर्भराउँदो भव्य ओजस्वी अनुहारको त्यो पहिलो झलक म अझै सम्झन्छु । त्यस अभिजात अनुहारले यो को होला भन्ने उत्सुकता म मा तुरुन्त जागेको थियो । लगत्तै पछि परिचय भयो, त्यो पनि एक साँझ ब्रह्मघाटमा । स्मरणीय छ, स्वयम् पुष्पलालजीले नै त्यस परिचयको अभिक्रम गर्नुभयो । त्यसपछि त बनारस र बनारस बाहिर भेटघाट भएको शृङ्खलाको मार्मिक सम्झना आफ्ना ठाउँमा छँदै छ । जगदम्बा वाचनालयमा नै मैले पहिले ‘नेपाल पत्र’को पहिलो अङ्क पढेको हो । नेपाली जनान्दोलनको समीक्षाको नाममा पछि छापिएको लेखमालाको त्यो पहिलो अध्यायको पढ्दाको रोमाञ्च म कहिल्यै बिर्सन्न । किन त्यस्तो भयो ? कदाचित तिनताकको मेरो जानकारी, लेखपढ र उमेरको स्तरको पृष्ठभूमि त्यसको हेतु थियो । तर रोमाञ्च भने थियो ।

त्यत्तिञ्जेलसम्म नेपाली इतिहास मेरा निमित्त वंशावली र कथा–किंवदन्तीको पोको थियो । बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रुपरेखा नै त्यतिञ्जेल मेरो सर्वश्रेष्ठ पाठ रहेको थियो । इतिहास–दर्शनमा मेरो त्यो पहिलो प्रवेश थियो । पछि इतिहास दर्शनले अवश्य मलाई बेसरी आकृष्ट गर्‍यो । लगत्तै पछि मैले डाक्टर राममनोहर लोहियाको ‘इतिहास–चक्र’ पढेँ र अभिभूत भएँ ।

कुरो त्यहाँ पनि टुङ्गिएन, त्यो पृथक विषय छ । तर, मलाई आज पनि एउटा कुरा लाग्छ । ‘नेपाली जनआन्दोलन: एक समीक्षा’ पुष्पलालजीको सर्वश्रेष्ठ कृति हो । यसको लेखनका क्रममा नै पुष्पलालमा थप राजनीतिक स्पष्टतासमेत आएको देखिन्छ । हाराहारीजस्तो पुष्पलालजीले नेपाल कम्युनिस्ट पार्टीको महासचिवको जिम्मेवारी लिनुभयो । ‘समीक्षा’लगायतका अन्य महत्वपूर्ण लेखनलाई त्यस राजनीतिक घटनासँग छुट्याएर हेर्न सकिन्न ।

पुष्पलालजीको वैचारिक अवदानका हाराहारीमा मदन भण्डारी अर्को नेपाली कम्युनिस्ट उभिन अवश्य सक्छन् । एउटा सशक्त कम्युनिस्ट आन्दोलनको संगठन र नेतृत्व गर्नु मदनको थप विशेषता थियो । नेपालकै राष्ट्रिय परिवेशमा माक्र्सवादको सिर्जनात्मक प्रयोगको प्रयासमा पुष्पलालजी नै अनेक दृष्टिले एक नम्बरमा दरिनुहुन्छ ।

दुर्भाग्यवश, पुष्पलालजीको वैचारिक पक्षका बारे नेपाली कम्युनिस्ट आन्दोलनमा गतिलो बहस कहिल्यै भएन । बहस त काङ्ग्रेसमा पनि बीपी कोइरालाको बारे कहाँ भएको छ र ? विश्व कम्युनिस्ट आन्दोलनमा भएका ऐतिहासिक तर अस्वस्थ भनाभनको अन्धानुकरणमा पुष्पलाजीलाई ‘गद्दार भनियो । त्यस्तो उपाधि लगाउने व्यक्ति र समूहले ‘गद्दार काउत्स्की’ भन्ने लेनिनको पुस्तिकाबाट प्रेरणा लिए होला । तर, त्यो काम राम्रो भएन । स्वयम् लेनिन समेतले त्यस्तो शीर्षक दिएको काउत्स्कीको विरुद्ध विष वमन गर्नु निश्चय नै उचित थिएन ।

स्मरणीय छ, लेनिनका त्यस्तै केही उद्धरण र उदाहरण टिपेर पछि जर्मनीमा ‘सोसल डेमोक्रेट्स’ र कम्युनिस्टले काटाकाट गरे । पुष्पलालजीले आजीवन नेपालमा यस्तो प्रवृत्तिको विरोध गर्नुभयो, कांग्रेस र कम्युनिस्ट आपसमा लड्नु हुँदैन भन्नुभयो । उहाँले त्यतिभन्दा भन्दै पनि काङ्ग्रेस र कम्युनिस्ट नराम्ररी भिडे र भिडदै छन् । त्यो बेग्लै कुरा हो ।

कम्युनिस्ट आन्दोलनको इतिहास (संस्मरण ?) लेख्ने बखतमा बरु पुष्पलाल आफ्ना कम्युनिष्ट सहकर्मीप्रति आवश्यक रुपमा सहिष्णु र वस्तुनिष्ठ देखिनुहुन्न भन्ने आरोप भने बरु विचारणीय छ । तर, यस सानो टिप्पणीमा म पुष्पलालजीको विचार पक्षपट्टि जानै चाहन्न । यस समय म उहाँको सदैवको हँसिलो मुहार सम्झँदै छु । मैले उहाँलाई अनेकौ ठाउँ र परिस्थितिमा भेट्ने मौका पाएँ । उहाँले नै मलाई पहिलो पटक कलकत्तामा मार्क्सवादी पार्टीको कार्यालय लग्नुभयो । त्यहाँ कमरेड अयोध्या सिंहसँग भएको भेट मेरो स्मृत पटलमा छँदै छ । दरभङ्गामा भएका बहस म बिर्सन्न । तर ज्यादा भेट भने बनारसमा नै भयो । मैले उहाँलाई कहिले निराश र थकित भेटिनँ । उहाँको अभावको कथा कसैले भनेको भए पनि हामी तिनताक पत्याउँदैन थियौं ।

सामान्यत: प्रजातन्त्रवादी र कम्युनिस्टका माझ चरित्रहत्याको अभियान साधारण राजनीतिक संस्कार थियो । कम्युनिस्टहरु रुस, चीन र राजाबाट पैसा लिन्छन् भन्ने थियो । कांग्रेसलाई भारतको दलाल भनिन्थ्यो । अझ कलकत्तामा रहेको सुवर्णजीको उपस्थितिले हामी कांग्रेसलाई सतत् प्रतिरक्षात्मक अवस्थामा राखेको थियो । हाम्रा प्रजातान्त्रिक आन्दोलनको अन्तर्कथा र व्यथा वामपन्थी मित्रलाई के थाहा !

हामीलाई पनि पछिसम्म पुष्पलालको गरिबी थाहा भएन । पछि अवश्य थाहा हुन थाल्यो । रेलवेको थर्ड क्लासको घुइँचोमा वा प्लेटफार्मको कुल्हडको चिया पिउँदा मात्र केही थाहा भयो । त्यस थाहाले नै पनि पहिले विस्मय मात्र दियो । त्यो विस्मयदेखि आजको विश्वाससम्म आइपुग्दा पुष्पलालजी प्रतिको मेरा श्रद्धा अगणित भएर गएको छ ।

तिनताकको पुष्पलाललाई सम्झँदा विस्मय र विस्मयको एक क्षण पनि म बिर्सन सक्दिनँ । तर, आज व्यक्तित्वको सेरोफेरोमा कुरा गर्दा एउटा कुरा जोड दिएर भन्छु । पुष्पलालले आफ्ना आदर्श र विश्वासको निमित्त आजीवन अकथनीय दु:ख उठाउनुभयो । यस कसीमा उहाँ सर्वथा अकलुष र महान् क्रान्तिकारी हुनुहुन्थ्यो । क्रान्तिकारीको परिभाषा धेरैले धेरै किसिमबाट दिएका होलान् । तर, विश्वास र आस्थाका साथ जनताका हितमा काम गर्दा आफ्नो सुख दु:ख बिर्सनु त्यस परिभाषाको अनिवार्य तत्व हो । यसै तत्वबाट अभिप्रेत भएर ऊ हाँसी हाँसी ज्यान दिन्छ ।

ज्यान त जसले पनि लिन्छ । ज्यान मात्र लिने डाँका वा ज्यानमारा मात्र कहलाउँछन् । यस दृष्टिले क्रान्तिकारीको वास्तविक शक्ति मार्ने नभएर उसको मर्ने क्षमता हो । अग्रज गंगालालले यस क्षमताको स्वर्णीम उदाहरण पेस गरे । त्यसैले सहिद कहलाइए । अहिले त नेपालमा पाथी, मुरीको भाउले सरकारले सहिदको उत्पादन गरेको छ । पुष्पलालजी त्यस्तो सहिद होइन, गंगालालका सच्चा ‘भाइ सहिद’ हुनुहुन्थ्यो । हाँसेरै बाँच्नुभयो, हाँसेर नै मर्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम