Logo

साउदी महिला सैनिक मक्काको सुरक्षामा पहिलो पटक खटिए



काठमाडौं, ७ साउन । इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन् । समाचार संस्था रोयटर्सले साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको जनाएको छ ।

गत अप्रिलदेखि दर्जनौं साउदी महिला सैनिकहरूलाई मक्का र मदिनाको सुरक्षामा खटाउन थालिएको हो । मक्काको सुरक्षामा खटिएकी महिला सैनिक मोनाले आफ्ना दिवंगत बुवाको यात्रा पूरा गर्न सैनिकमा भर्ना भएको बताइन् । ‘पवित्र ठाउँ, यो विशाल मक्कामा उभिएर म मेरा स्वर्गीय बुवाको यात्रा पूरा गर्न उहाँका पदचाप पछ्याइरहेकी छु। श्रद्धालुहरूलाई सेवा गर्न पाउनु सबैभन्दा ठूल सम्मानको काम हो,’ उनले भनिन् ।

साउदीका युवराज मोहम्मद बिन सलमानले परम्परागत मुस्लिम राज्य साउदी अरबलाई आधुनिकीकरण गर्न विभिन्न सामाजिक परिवर्तन गरिरहेका छन् । भिजन २०३० अनुसार केही समयअघि उनले महिलाहरूलाई सवारी चलाउन लाइसेन्स लिन अनुमति दिएका थिए भने अभिभावकको अनुमति बिना नै वयस्क महिलाले विदेश जान पाइने व्यवस्था लागु गरेका थिए । कोरोनाभाइरसका कारण साउदी अरबले लगातार दुई वर्ष आफ्ना नागरिकलाई हज यात्रामा प्रतिबन्ध लगाएको छ भने विदेशबाट सीमित मानिसलाई मात्र यात्र अनुमति दिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्