Logo

उपत्यकाको फोहर व्यवस्थापन भइसक्यो : कामपा



काठमाडौँ, ७ साउन: काठमाडौँ महानगरपालिकाले विगत एक हप्तादेखि उठ्न नसकेको काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर व्यवस्थापन भइसकेको जनाएको छ । अनामनगर, बानेश्वर, कालीमाटी, रविभवन र असनलगायत स्थानमा फोहर नउठेको गुनासो बढिरहँदा बुधबार साँझसम्ममा सबै स्थानको फोहर व्यवस्थापन भइसकेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठले भने, “वर्षाको समयमा उपत्यकामा अन्य समयको भन्दा बढी फोहर उत्पादन हुने र बाटोका कारण नियमित व्यवस्थापन गर्न केही कठिन भए पनि हालका लागि समस्या समाधान भएको छ ।” छिटफुटरुपमा केही स्थानमा फोहर बाँकी रहेको देखेमा तत्काल विभागलाई जानकारी दिन पनि श्रेष्ठले नगरवासीलाई आग्रह गरेका छन्।

वर्षाको समयमा फोहर बढी उत्पादन हुने र व्यवस्थापन गर्न थप समस्या हुने भएकाले कामपाले सम्बद्ध निकायलाई सक्दो छिटो सिसडोल पार गर्ने व्यवस्था मिलाई दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको प्रबन्ध मिलाइदिन अनुरोध गरेको छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै समय समयमा विरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ । दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सामान्यतया प्रत्येक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २०० गाडी फोहर विसर्जनका लागि सिसडोल लगिने भए पनि अहिले वर्षाको समय भएकाले दैनिक १०० मात्र फोहरका गाडी विसर्जनस्थलमा पुग्ने गरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्