Logo

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत



खोटाङ, ७ साउन: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७-७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालू तर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

कूल विनियोजित बजेटमध्ये पुँजीगततर्फ रु ३० करोड ५४ लाख २२ हजार र चालूतर्फ रु ५० करोड सात लाख ५७ हजार गरी रु ८० करोड ६१ लाख ७९ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । विश्वभर फैलिएको कोरोना महामारीका कारण नगरपालिकाले लिएको वित्तीय लक्ष्य हासिल गर्न नसकिएको नगरप्रमुख रिजालले बताए ।

यसैबीच आर्थिक वर्ष २०७७-७८ सम्ममा नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदेबालीको खेती लगाइएको छ । ‘बाँझो जमीनमा खेतीको लागि अनुदान’ कार्यक्रम अन्तर्गत वडा नं १ दिक्तेल, ६ नेर्पा, वडा नं ११ खार्मी, वडा नं १२ जालपा र वडा नं १४ बुइँपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैँची, फलफूल तथा खाद्यान्नबाली लगाइएको हो ।

तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि नगरपालिकाको बाँझो जमीन उपयोगसम्बन्धी कार्यविधि–२०७७ बमोजिम दश किसानलाई अनुदान उपलब्ध गराइएको छ । कृषि पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा, एक कृषि पकेट कार्यक्रम’ सञ्चालन गरेर किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराइएको हो ।

चालू आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउन युवालाई कृषि व्यवसायमा लगाइएको छ । आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपक्षी फार्म निर्माण गरिएको हो ।-रासस



प्रतिक्रिया दिनुहोस्