Logo

पार्टी एकताको लागि केपी ओली हदैसम्म लचिलो हुनुहुन्छ, माधव नेपाललाई अध्यक्ष दिन तयार छौं : खगराज अधिकारी (भिडिओ)



नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकताको लागि आफूहरु हदैसम्मको लचक बन्न तयार रहेको स्पष्ट पारेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी एकता हुनेमा आफू आशावादी रहेको पनि उल्लेख गरे । कुराकानीको क्रममा उनले भनेका छन्–‘हामी आशावादी छौँ । हामीले गहिरो तरिकाले समाधान खोजिरहेका छौँ । हामीलाई विश्वास छ कि एमाले एक हुन्छ । नेपाली जनतामा जुन निराशा छाएको छ, त्यो निराशालाई आशामा बदल्नेछौं । अहिले देखिएको कालो बादल फाड्ने छ ।’ प्रस्तुत छ नेता अधिकारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँको पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु के–के हुन ? नेपाली जनतालाई प्रष्ट पारिदिनुहोस न ?

सामान्यतया हामी नियमित प्रक्रिया छौँ । केही राजनीतिक प्रस्ताव पास गरेका छौँ । हामीले सिङगो पार्टीलाई कसरी एक बनाउने र कसरी मुल प्रवाहमा ल्याउने भन्ने विषयमा कुरा गरिरहेका छौँ ।

अहिलेको अवस्थामा तपाईँहरु अदालतको विरुद्ध सडकमा जान लागेकै हो त ? भिड्न लागेकै हो त ?

अदालतको निर्णयले संविधान संशोधनजस्तै गर्यो, अदालको निर्णयले राजनीतिक रुपमा दीर्घकालिन रुपमा राजनीतिक कोर्षलाई बदल्यो । यसले निर्दलीय तन्त्रलाई प्रोत्साहित गर्यो । हामी लडेको बहुदलीय शासन व्यवस्थाको लागि हो । पार्टी स्थापनादेखि हाम्रा मूल्य र मान्यता ती हुन । अदालतले संविधान संशोधन हुने गरेर गर्यो भन्ने हाम्रो निश्कर्ष हो ।

तपाईँहरु लगातार छलफल र बैठकमा हुनुहुन्छ, तर अहिलेसम्म पनि पार्टीभित्रको विवाद समाधानका उपायहरु निकाल्न सक्नुभएको छैन्, किन ?

होईन, हामी विवाद समाधान गर्छौं ।

कसरी गर्नुहुन्छ ? उपाय बताउनुहोस त ?

हामी पार्टी एकताको लागि अधितम लचकता अपनाउँछौं । हामीभित्रका जुन अन्तरविरोधहरु जुन बाहिर गएका छन्, कतिपय क्रियाकलापहरु गैरराजनीतिक पनि छन । गैरमाक्र्सवादी पनि छन् । चारित्रिक रुपमा अत्यन्त अशोभनीय पनि छन । सिमाभन्दा बाहिर गएका छन् । जुन आफ्नो सरकारलाई ढालेर सिमाभन्दा बाहिर गएर वर्ग दुश्मनको सरकारलाई सपोर्ट गरेका छन । यी कुराहरु कहिल्यैपनि नदोहोरिने गरि जान सक्छौँ ।

तर, तपाईँको पार्टी अध्यक्ष केपी शर्मा ओलीले त वरिष्ठ नेता माधवकुमार नेपाललाई लाल गद्दार भनेर टिप्पणी गर्नुभएको थियो, फेरि हिजोको केन्द्रीय कमिटी बैठकमा उहाँले नै नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउन तयार छु भन्नुभएछ ? किन केपी ओली एकाएक लचक हुनुभयो ?

गद्दार भन्नुभएन, उहाँले यो क्रियाकलापलाई के भन्ने त पुष्पलाललाई भन्नु त मिल्दै नमिल्ने कुरा हो, बरु अहिले भईरहेको छ । अर्काको पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने अनि आफनो सरकार ढाल्ने त्यो तहको फोहोरी खेल भयो भनेर उहाँले भन्नुभयो । पार्टी एकताको लागि म हदैसम्म तयार छु भनिसक्नुभयो ।

त्यसोभए हिजो केपी शर्मा ओली यू–टर्न हुन्ुभयो ? माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने भन्नुभएको हो त ?

कमिटीले के भन्छ भने पार्टी एकताकालागि तपा्रईहरुले ल्याएका सबै उपाएकालागि म कनि लचक नहुने भनेर हिजो भनिसक्नु भएको छ । सारमा त्यही हो ।

त्यसो भए माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउनको लागि केपी शर्मा ओली तयार हुनुभयो भनेर हामीले बुझ्दा हुन्छ त?

त्यो त नयाँ कुरो भएन ।

पार्टीलाई एक बनाउनको लागि माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिने ?

दिनेभन्दा पनि व्यवस्थापन गर्ने भनौँ न, भाषा पनि कस्तो प्रयोग गर्ने भन्ने कुरा हुन्छ । नेताहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा हुन्छन् ?

त्यसोभए माधवकुमार नेपाललाई व्यवस्थापन गर्ने भन्ने कुरामा केपी शर्मा ओली लचिलो हुनुहुन्छ ?

केपी ओली गज्जबले लचिलो हुनुहुन्छ, त्यसमा कुनै शंका छैन ।

त्यसोभए अब एमालेभित्रको विवाद समाधान हुन्छ ?

हामी आशावादी छौँ । हामीले गहिरो तरिकाले समाधान खोजिरहेका छौँ । हामीलाई विश्वास छ । नेपाली जनतामा जुन निराशा छाएको छ, त्यो निराशा र अहिले मडारिएको कालो बादल फाड्ने छ । हामी त्यहीअनुरुप सहमतिको प्रयास गरिरहेका छौं ।

तपाईहरु एकता त चाहानुहुन्छ, अनि आफ्नै पार्टीका २२ जना सांसदलाई किन स्पष्टीकरण सोध्नुभयो त ? के कारणले ?

त्यो स्पष्टीकरण त कम्युनिष्ट पार्टी अनुशासित हुनुपर्छ भन्ने ढंगले सोधिएको हो । हामी समस्याको समाधान निकाल्छौँ । त्यसपछि हामी आम रुपमा स्विकार्छौं ।

केपी शर्मा ओलीको गतिविधि एकताविरोधी छ भनेर हिजो माधवकुमार नेपाल समुहको निश्कर्ष आएको छ नि ? यसबारेमा तपाईको धारणा के हो ?

त्यो गलत हो । यो उहाँहरुले नबुझेर निकालेको निश्कर्ष हो । यो गतिविधि जुन भयो, यो कम्युनिष्ट आन्दोलनविरोधी गतिविधि भएको हो । यो कम्युनिष्ट आन्दोलनविरोधी छ । जनता र राष्ट्रविरोधी छ । त्यसमा सचेत गराउनु परेन ? हाम्रा पार्टीका २२ जनाले गरेको काम अनुशासित काम हो ? जनताको हितमा छ र ? त्यसो हुँदा त्यसमा सचेत गराईन्छ । यो सबै कुरा मिलेपछि हामी एकै ठाउँमा भईनै हाल्र्छौँ । भोलि पार्टी मिलेपनि त्यस्ता क्रियाकलाप भने त यस्तै भईहाल्छ नि । २२ जनाले गरेको जनविरोधी काम हो । तर, पार्टी एकताबद्ध गरिसकेपछि आफ्नो पार्टीलाई सम्झाउने काम छ, त्यो त सम्झाई हालिन्छ ।

केपी शर्मा ओलीले त माधव नेपाललाई अब एमालेमा कुनै स्थान् छैन भन्नुभएको थियो, तर हिजो आएर उहाँले भन्नुभयो म उहाँलाई दोस्रो अध्यक्ष बनाउन तयार छु भन्नुभयो, यसको भित्री रहस्य के हो ?

होईन, अध्यक्ष कमरेडले माधव नेपाललाई पार्टीमा कुनै स्थान् छैन भनेको होईन, उहाँको कुरा त मैले नै सुनेको छु ।

माधव नेपालबिनाको एमाले बनाउँछु भन्नुभएको छ नि त उहाँले ?

माधवकुमार नेपालबिनाको एमाले पनि बन्ला, केपी ओली १५–२० वर्षपछि नहुने बेला पनि होला त्यस्ता कुरा चलिरहन्छन । त्यो कुरा उहाँको व्यक्तिगत कुुरा हो । तर, पार्टीको संस्थागत् निर्णयमा त्यस्तो केही पनि छैन ।

माधवकुमार नेपाल समूहका नेता मुकुन्द न्यौपानेले भन्नुभएको छ–अब ओलीलाई सुधारेर संगसंगै जान सकिँदैन, सँगै जान असम्भव छ भनेर ?

असम्भव भनेका कुरा धेरै सम्भव हुन्छन् । केपी ओली र प्रचण्ड पनि त हिजो संगै हुन्छन भन्ने तपाईँले सोच्नुभएको थियो ? तर, सम्भव भयो नि । असम्भव भनेको कुरा नै सम्भव गराउने हो । हामी लागेका छौँ । हिजो पञ्चायत र राजा फाल्नपनि असम्भव छ भनिएको थियो नि, तर हामीले त फालेर देखायौं नि । त्यसैले असम्भव कुरा सम्भव गराउन सकिन्छ । यो उदाहरण हेर्नुहोस न ।

पुष्पलालको आज स्मृति दिवस, तर नेपालमा कम्युनिष्ट पार्टीहरु विभाजित छन, अब एक हुन्छन त ?

सबै हुन्छ । हामीले बनाउन सक्नुपर्छ ।

तपाईँहरुले त पुष्पलाललाई गद्दार भन्नुभएको थियो हिजो, आज माधव कुमार नेपाललाई गद्दार भन्दै हुनुहुन्छ, अनि अहिले आएर फेरि पार्टी मिलाउँछौं भनेर ठूलो स्वरमा भन्दै हुनुहुन्छ ?

तपाँईले बिल्कुलै गलत बोल्नुभयो । पुष्पलाललाई भन्ने हामी होईनौँ, मोहनविक्रम हुन , प्रचण्डहरु हुन । हामीले कहिले पनि पुष्पलाललाई गद्दार भनेनौँ । पुष्पुलाल समूहबाट माले भएको मान्छे म यहाँ बोल्दैछु । पुष्पलाल समूहलाई हामीले कहिले गद्दार भनेनौँ । यो कुरा प्रष्ट छ, पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको कोसेढुंगा हो र संस्थापक हो । उहाँले कम्युनिष्ट पार्टीका आधारभुत कुराहरु तय गर्नुभयो र त्यही जगमा टेके र हामी हिँडिरहेका छौँ । र, पुष्पलालप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पुर्ण कार्यकर्तालाई उहाँको उच्च मुल्याकन गर्न अनुरोध गर्दैछु ।



प्रतिक्रिया दिनुहोस्