Logo

एमाले मिलाउन ओली र नेपालबाहेकको अध्यक्षको खोजी



काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सत्तासंघर्षका क्रममा इगोको लडाईं चलिरहँदा दोस्रो पुस्ताका शक्तिशाली नेताहरु नयाँ विकल्पमा अगाडि बढेका थिए । उनीहरुले दुवै नेतालाई नेतृत्वबाट हटाएर दोस्रो पुस्तालाई चयन गर्ने तयारी गरेका थिए । यो तयारी बमोजिम नेताहरुबीच छलफल पनि बनिसकेको थियो । तर, अन्तिम समयमा आएर उक्त प्रयास असफल भयो । नेताहरुले आँट गर्न सकेनन् र एकले अर्काको अस्तित्व स्वीकार्न तयार भएनन् ।

नेकपा एमालेको एकताका लागि दोस्रो पुस्ताका केही नेताहरु अन्तिम समयसम्म सक्रिय रहेका नेताहरुले तेस्रो विकल्पमा छलफल बढाइसकेका थिए । पहिलो विकल्पमा ओली र नेपाल दुवैलाई अध्यक्ष राखेर जाने थियो । दोस्रो विकल्पमा ओलीले प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छाडेर जाने विषय थियो । दुवैमा सहमति बन्न नसकेपछि तेस्रो विकल्पमा नेतृत्वमा दुवै नेताबाहेककालाई बढाउने थियो । तर, त्यो सफल हुन नसकेको हो ।

अहिले फेरि ओली र नेपाल दुवैलाई अध्यक्ष राखेर जाने विषय उठेको छ । ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छन् । तर, नेपाल त्यसका लागि तयार छैनन् । उनी २ जेठ २०७५ को पार्टी कमिटीबाट अगाडि बढ्ने पक्षमा छन् । त्योबाहेकमा सहमत हुन नसकिने बताइरहेका छन् ।

दोस्रो पुस्ताका हस्तीहरुले पार्टी एकताका लागि प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबाहेक तेस्रो व्यक्तिलाई अगाडि सार्ने विषय राखेका थिए । ओली र नेपालसम्म यो विषय पुग्यो । तर, दुवै नेता तयार भएनन् । माधव नेपाल झन् तयार भएनन् । विश्वस्त स्रोतका अनुसार ओलीले आफूलाई हटाउने योजनामा यस्तो प्रस्ताव आएको बुझे । नेपालले पनि आफ्नो राजनीतिक भविष्य सक्याउने गरी प्रस्ताव आएको र आफ्नो पक्षमा फुट ल्याउन खोजेको बुझे ।

प्रधानमन्त्रीका लागि उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङमध्येबाट सार्न खोजिएको थियो । रावल पनि एमाले एकताका लागि लचिलो भएका थिए । पौडेल र नेम्वाङले पनि मध्यमार्गी भूमिका खेलेका थिए । तर, उनीहरुलाई सत्ताको साँचो सुम्पने विषयमा ओली र नेपाल दुवै तयार भएनन् ।

एमाले एकता बनाउन तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा सार्न खोजिएको बुझेर देउवाले हतारमा विश्वासको मत लिन खोजेको अर्थ लगाउन थालिएको छ । हुनपनि देउवाले छापामार शैलीमा आजै विश्वासको मत लिने निर्णय लिए । यसले एमालेलाई औपचारिक रुपमा विभाजित गर्ने मार्ग प्रशस्त गरिदिएको छ । यसलाई रोक्न दोस्रो र तेस्रो पुस्ताका नेताहरु फेरि सक्रिय भएका छन् । उनीहरु पार्टी एकताको अर्को प्रयासमा बढेका छन् ।

दोस्रो र तेस्रो पुस्ताका नेताहरुले ओली र नेपाल यसरी नै जुधेर न जुट्ने न फुट्ने अवस्था रहेमा हस्तक्षेप गर्ने रणनीति बनाएका छन् । विशेषगरी एमालेका दोस्रो पुस्ताका नेताहरुले बलियो समूह बनाएर विकल्पमा ओली र नेपालबाहेकको नेतालाई अगाडि सार्ने तयारी समेत गरेका छन् । यसले एमालेभित्रको विवादलाई नयाँ मोडमा पुर्याउने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्