Logo

राष्ट्रपतिविरुद्ध महाभियोगको सपना नदेख्न ओलीको चेतावनी



काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन र राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने प्रयास भइरहेको बताएका छन् । उनले पार्टी केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै एमाले विभाजनको अध्यादेश र राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।

‘एमाले विभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने सपना असम्भव हुनेछन्, म त्यो सपना नदेख्न देउवा र प्रचण्डलाई सचेत गराउँछु,’ पार्टी बैठकलाई सम्बोधन गर्दै ओलीले भने । उनले पार्टी एकताका लागि आफू अन्तिम समयसम्म तयार रहेको बताए । त्यसका लागि उदारता देखाएर बढेको बताए ।

आफू आग्रह नराखी एमाले एकताका लागि बढेको बताए । तर, वर्गविरोधी र कम्युनिस्टविरोधीसँग माधव नेपालले साँठगाँठ गरेको बताए । उनले नेता नेपालमाथि गद्दारीको आरोप दोहोराए ।

एमाले विभाजनको सम्भावनातर्फ इंकित गर्दै उनले फुट्न लागेकाहरुलाई माउसुलीको पुच्छरसँग तुलना गरे । उनले भने, ‘माउसुलीले कहिलेकाहीं पुच्छर फाल्छ तर तुरुन्तै पुच्छर पलाउँछ । हामी पुच्छर फाल्न तयार हुनुपर्छ ।’-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्