Logo

राष्ट्रपतिविरुद्ध महाभियोग आउला ?



काठमाडौं, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्तापक्षले महाभियोग लगाउन खोजेको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा खुलाए । उनले चेतावनी दिदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाभियोगको सपना नदेख्न समेत भने ।

महाभियोगका लागि संसदमा अंकगणित मिलाउने तयारी भइरहँदा ओलीको भनाई आएको हो । देउवा र प्रचण्डसहित गठबन्धनका नेताहरुले राष्ट्रपति भण्डारीले पदीय आचरणविपरितको कार्य गरेको र संविधान विपरित गएको आरोप लगाएका थिए । प्रधानमन्त्री नियुक्ति गर्दा उनले संविधान विपरित गएको भन्दै सर्वोच्च अदालतले परमादेश नै जारी गरेको थियो ।

प्रतिनिधि सभा विघटनको ओलीको कदम, राष्ट्रपति भण्डारीको ओलीलाई साथ र देउवा प्रधानमन्त्री नियुक्त हुँदा उनको व्यवहारले गठबन्धन दलका नेताहरु निकै रुष्ट छन् । यसकारण पनि उनीविरुद्ध महाभियोगको तयारी भएको बुझिएको छ ।

संविधानमा के छ
संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ । सोही धाराको उपधारा २ बमोजिम महाभियोग प्रस्ताव पारित गर्न तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित हुन सक्छ । पारित भएमा राष्ट्रपति पद मुक्त हुने व्यवस्था छ ।

प्रतिनिधि सभामा २७५ सांसद संख्या रहने व्यवस्था भएकोमा यथास्थितिमा २६७ रहेका छन् । राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न १७८ सांसद संख्याको समर्थन चाहिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद संख्या एकजुट भएर महाभियोगको पक्षमा लागेमा १३ सांसद अपुग हुन्छ । देउवालाई १६५ सांसदले समर्थन गरेका थिए ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर ११ सांसदले मतदान गरेनन् । उनीहरुले पनि महाभियोगको प्रस्तावमा साथ दिएमा २ सांसद कम पर्छ । एमालेकै नेपाल पक्षमा सांसद संख्या केही बढ्न सक्ने आँकलन समेत गरिएको छ । यसबारे पनि हिसाबकिताब सुरु भएको छ ।

सिंगो जसपा सरकारको समर्थक बनेकाले गठबन्धन एक भएमा महाभियोग सफल हुन्छ । त्यसका लागि एमालेबाट अहिले रहेका २२ सहित थप ११ सांसद जोडिनुपर्ने हुन्छ । तर, एमालेको माधव नेपाल पक्षभित्रै बिग्रह सुरु भइसकेकाले महाभियोग कठिन छ । तर, असम्भव भने छैन । त्यसैले ओलीले आज केन्द्रीय कमिटी बैठकमा देउवा र प्रचण्डलाई चेतावनी दिदै बोले ।



प्रतिक्रिया दिनुहोस्