Logo

‘माधव नेपाललाई एमालेमा ठाउँ छैन’ भनेका ओली किन भए लचिलो ?



काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेर बालकोटको बार्दलीबाट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भनेका थिए । उनले नेपाललाई एमालेमा कुनै स्थान नभएको समेत बोलेका थिए । तर, आक्रोशपूर्ण अभिव्यक्ति दिएको ३ दिनमै ओली यु टर्न भए । उनले नेपाललाई अझै पनि माफी दिन सकिने र मिलेर जान सकिने विषय राखेका छन् ।

आज एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले अनुशासन उल्लंघनका बाबजुद माफी दिन सकिने निष्कर्ष निकाले । उनले विगतको गल्तीलाई बिर्सेर अगाडि बढ्न सकिने विषय राखे । एमाले केन्द्रीय कमिटीले अध्यक्ष ओलीलाई पार्टी एकताका लागि निर्णय लिने जिम्मेवारी समेत दिएको छ ।

ओली आखिर किन लचिलो भए ? उनले माधवकुमार नेपालसहितका नेताहरुलाई विभिन्न माध्यमले एकताका लागि फेरि आव्हान गरेका छन् । यसमा उनको कमजोरी हो या कुनै रणनीति चासोको विषय बनेको छ ।

नेता नेपालले ओलीले अलमलाउन खोजेको प्रतिक्रिया दिएका छन् । ओलीले दोस्रो अध्यक्षको आव्हान गरेपनि नेपाल तयार भएनन् । उनले २ जेठ २०७५ को पार्टी कमिटीबाट अगाडि बढ्ने शर्त राखेका छन् । तर, ओली तयार छैनन् । उनी जतिसक्दो बढी संख्यामा नेपाल पक्षका सांसद र केन्द्रीय कमिटी तान्ने गरी बढेको देखिदैछ । आजको केन्द्रीय कमिटीको निर्णय पनि त्यस्तै प्रकारको छ ।

ओली एकाएक पार्टीभित्रका विरोधीप्रति लचिलो हुनुमा उनलाई अध्यक्षबाट हटाउनका लागि बढिरहेको सक्रियता पनि कारण हुन सक्छ । एमालको नवौं महाधिवेशनको कमिटीका हाल रहेका २०३ केन्द्रीय कमिटीमा उनलाई अल्पमतमा पार्ने प्रयास भइरहेको छ । ओली त्यसलाई रोक्न लागिपरेका छन् । उनले बढीभन्दा बढी नेपाल पक्षका केन्द्रीय सदस्य तान्न खोजिरहेका छन् । सांसद संख्या पनि बढाउन खोजिरहेका छन् ।

एमाले विभाजनसम्मको प्रयास बुझेर ओली सांसदहरुलाई रोक्न लागिपरेका छन् । अध्यादेश ल्याएर भएपनि एमाले विभाजन सहज बनाउने प्रयास भइरहेको विषय ओलीले आजको केन्द्रीय कमिटी बैठकमा पनि राखे । त्यसलाई असफल पार्न पनि ओली बढी सांसद साथमा पार्न खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्