Logo

संसदीय समितिको निर्देशन : विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर तयारी गर



साउन ७, काठमाण्डौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा तीनै तहको सरकार मिलेर आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बाढी, पहिरो, डुवानपछि उद्धार र राहतका काममा मात्र केन्द्रीत नभई प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गर्दै तीनै तहको सरकार मिलेर आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले बिपत व्यवस्थापनको कार्यलाई उच्च प्राथमिकतामा राखि बिपत तथा जोखिमका सूचनाको पूर्वअनुमान गर्न सक्ने सूचना पारदर्शी रुपमा जुनसुकै समयमा नै जनताले जानकारी पाउन सक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अवरुद्ध भएका सडकहरुलाई छिटो भन्दा छिटो खुलाउने प्रयत्न भइरहेको जानकारी दिए । नेपालको भौगोलिक बनावटका कारण हुन सक्ने प्राकृतिक प्रकोप न्युनिकरणका लागि सरकार तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

बैठकमा सांसदहरुले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्